Thursday, January 24, 2013

प्रेमप्रस्ताब...

1.
"आइ लभ यु कब्ते!"
"पख मेरो ममीलाई भन्दिन्छु।" कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार "हैन हैन आइ हेट यु,आइ हेट यु... नभन्दे है" भने।
एकदिन स्कुल जाँदै गर्दा कब्तेको ममीले साफ झाटिन बाटैमा - "एत्रो फुरौलो जस्त्रो , खुब लभ गर्ने हँ? कती किलास पुगिस?"
मैले "क्लास फाएभ" भने बिस्तारै।
"खुब आफुलाईअम्ता बचन’ भन ठान्छेस तेरिमा गुइँठे। हेड्सरलाई भनेर तलाई रेस्टिकेट गरिदिउँ कि अब देखी कब्तेलाई आइ लभ यु भन्दिनस?"
"नाइ अब देखी भन्दिन अन्टी। हेड्सरलाई नभन्दिनोस।" मैले रुन्छे स्वरमा भने।
भोली देखी कब्तेको घरको बाटो छोडेर लामो बाटो स्कुल जान थालें। कब्ते पढाइमा तिखी थि। हरेक बर्ष 'प्यारेन्टस डे' मा पुरस्कार थाप्थी। सबैले उस्लाई 'फस्ट गल' भन्थे। स्कुलमा कताबाट हो हल्ला फैलिसकेछ। मलाई 'फस्ट गलको ब्वाइ' भनेर जिस्काउन थाले। म रिसाइ दिन्थे। ति के चुप लाग्थे-जिस्काइरहे।
त्यस्को पाँच बर्ष न म कब्तेसँग बोलेँ न कब्ते मसँग बोली।

Monday, January 14, 2013

अन्तिम सिन!

"के लेख्दैछस ओए?"
"स्क्रिप्ट"
"फिलिम बनाउन लागिस कि के हो?"
"सोच्दैछु"
"को हिरो?"
"हेरुँ"
"हिरोइन नि?"
"खै!"
"के को बारेमा हो?"
"प्रेमीप्रेमिका"
"फिलीममा ड्रामा, एक्सन, रोमान्स, कमेडी, हरर, सस्पेन्स, क्राइम सब छ नि?"
"सब त छैन!"
"के छ त?"
"कहिल्यै भेट नभाको केटा र केटीको प्रेम र बिछोड"
"के रे? कहिल्यै भेट नभाको केटा र केटीको प्रेम र बिछोड रे?"
"एस"
"हरे शिव! अनी त्यो कहिल्यै भेट नभाको केटा र केटीले प्रेम गर्न चैँ कैले भेटे? प्रेम गर्न त भेट्नुपर्‍यो नि एकअर्कालाई! अनी बिछोड रे? बिछोड हुन त पैला भेट्नुपर्‍यो नि, हैन?"
"हो"
"अनी के भनेको त? कि त्यो हिन्दी मुभी 'सिर्फ तुम' जस्तो चिठीपत्रबाट लभ पर्ने हो?"
"हैन... पत्र, इमेल, फोन, च्याट केहीबाट पनि हैन।"
"एक अर्काको नाम नि? था हुन्छ नाम?"
"अहँ"
"हरे शिव! त्यसो भए हिरो-हिरोनीले एकअर्कालाई फिलिमभरी भेट्दैनन, चिन्दैनन, देखेको-बोलेको पनि हुँदैनन, एकअर्काको बारेमा सुनेकोपनी हुँदैनन तर लभ चै बबाल हुन्छ ति दुई को बिच। तै हैन भन्न खोजेको?"
"एस" 
"अनी ति दुईको बिछोड हुन्छहोला लास्टमा, हैन?"
"लास्टमा हैन सुरुमै?"
"ए ए ए, भेट्दै नभेटेकाको सुरुमै बिछोड हुन्छ अनी फेरी ति अजनबीले एकअर्कालाई चिन्दै नचिनी लभ गर्छन उसो भे!"
"एस"
"वाह! राइटरनी खतरा रे'छ स्टोरी त। मलाई नि यो लभस्टोरी पढ्दै नपढी मनपर्‍यो। यो फिलिम त बन्दै नबनी हिटभयो ल! दर्सकहरुले पनि हेर्दै नहेरी यो मनपराउँछन अनी फिलिम चल्दै नचली तँ करोडपती हुन्छेस... हा हा हा!"
"हाँस हाँस। पछी टिकट माग्न आइस भने जानेकी छु!"
"ए साची, मुभीको नाम चैं के हो? 'भेट्दै नभेटी?' हो कि? हा हा!"
"नजर"
"हिन्दी?"
"हैन, नेपाली 'नजर'।"
"छ हैन र 'नजर' भन्ने मुभी त?"
"खै! भए नि होस्। नाम चेन्ज हुँदैन।"
"कती लेखीसकिस त?"
"अन्तिम सिनमा छु।"
"ए ल ल"
.
.
.
*** 

Saturday, January 12, 2013

लोग्नेमान्छे - कथा

मेरी हजुरआमा कान सुन्नुहुन्न। ठुलो स्वरले कानैमा चिच्याए पछी मात्र २-४ शब्द टिपेर कुरोको सार बुझ्नुहुन्छ। दुईबर्ष भो काकाले बेलायतबाट कान सुन्ने मेसिन पठाइदिन्छु भन्नुभएको। हजुरामाले आस मार्नु भा छैन। " कान त त्यो के जाती मेसिन आएपछी सुनुला, आँखा नि देख्न छोडे नाती" अस्ती भर्खर हजुरामाले मलाई भन्दैहुनुन्थ्यो ।
"तैले के के सुन्छस, के के देख्छस मलाई कानमा आएर बता न बाबै" सेता खरानीको एक चिम्टी चोर औँला र बुढी औंलामा च्यापेर कपासको बाती कात्दै मलाई भन्नुभयो । हजुरामाको देब्रे हातको फुसफुसे कपास, दाहिने हातले निमोठिदै लामो डोरी हुँदै तन्कन्थे। बेलाबेलामा बाटैमा चुटटिन्थे। फेरी गाँस्नु हुन्थ्यो र ति जोडीन्थे अनी पहिला जस्तै सग्ला बन्थे। तीन फन्को लाएपछी मज्जाको दरो 'बाती' बन्थ्यो। लाखबाती बाल्ने योजना बनाउनुभाछ वँहाले पित्रीको नाममा रे !   
हजुरामाको कुरा सुनेर वँहाको चाउरी परेको अनुहारका अनी हातका छाला जस्तै मुजैमुजा पर्छु म र केही बोल्दिन। बोल्न सके पो बोल्नु। मलाई डर छ - यदी हजुरआमालाई मैले देखेको, सुनेको कुरा बताँए र वँहाले मलाई -"अनी तँ के हेरेर बसिराछस?" प्रश्न गर्नु भो भने? मैले के उत्तर दिने? "म पनि 'चुप्चाप क्लब' को सकृय सदस्य हुँ" भन्नु भएन। ल ठीक छ कुनै बाहना बनाउँला - काम बढी भा'को, दाम कम भाको आदी। तर के ति अनुभवी मन, मुटु र चेतले मेरो कुरा पत्याउलान? वहाँलाई अहिले टाल्टुले उत्तर दिएर पछी - "म तपाईंकै छोरीको छोरो हुँ…तपाईंकै नाती हुँ...." कुन निधार लिएर दसैंमा टिका थाप्न जानु? वहाँले पनि टाल्टुले आसिश दिनु भो भने?
"सबै उस्तै त हो नि! सब ठीक छ हजुरामा" मैले कामचलाऊ उत्तर दिएँ।    
"जो आए पनि 'सब ठीक छ', 'राम्रो छ' भनेर यो कान नसुन्ने बुढीलाई ठीक्क पार्छन र जान्छन। तँ पनि उही ड्याङको मुला न परिस। तर बाबै… मलाई सब था हुन्छ - के ठीक छ अनी के नराम्रो छ। मेरा इन्द्रीयले सब बताउँछन। तिमेरु जम्मैको उमेर भोगेकी छु मैले।" मेरो कामचलाऊ उत्तरले हजुरआमा मान्नुहुन्छ जस्तो लागेन।
"घोर कलियुग लागेको छ हजुरामा आजकल, खै के के मात्र सुनाँउ तपाईंलाई!" मैले अली ठुलो स्वरमा चिच्याएँ। अघीको काम चलाऊ उत्तर भन्दा दुईचार शब्द लामो।
“तेरा बोली पनि धोध्रिएछन्," वहाँले भन्नुभयो । मैले अघी भनेको सुन्नुभयो जस्तो लागेन ।
"ए साची, ति थिन् नि... माथ्लाघरे काजीकी छोरी... के नाम हो तीनको... सुद्दीपनी हराइसक्यो कान र आँखा त गए गए। के रे नाती नाउँ?" प्रसँग बद्लिदै हजुरामाले सोध्नुभयो।