Thursday, August 18, 2011

आमा

च्यातिएको दौरा मेरो सिलाउदैछिन आमा
सुतेको सिरक डस्ना मिलाउदैछिन आमा
हुर्किएको छोरो लुगा उनै धुन्छिन
मैला मेरा लुगाहरु केलाउदैछिन आमा !!

चिया पाक्छ मिलिक्कै, खाजा नास्ता त्यस्तै
तातो खान नसक्ने , सेलाउदैछीन आमा
मिठ्ठाइ लिन मेरै लागि बजार कती धाउछिन
'आइज बाबु खान' भनी बोलाँउदैछिन आमा !!
हल्का जरो आउँदा पनि,रातै भरी जाग्छिन
नयाँ फरिया च्याती च्याती पानीपट्टी लाउछिन  
तागतिला फलफुल, रस दाना बनाउँदै
डाक्टर बैध्य, पण्डित बाजे बोलाउँदैछिन आमा !!

स्कुल जाने लुगा लगाइ, तयार उनै पार्छिन
सधैं जस्तो मेरा लागि रमाउदैछिन आमा
किताब कापी सधैं नयाँ गाता उनै हाल्छिन
'डाक्टर हुने छोरो ' भनी चिनाउदैछिन आमा !!

भासिएका आँखा भित्र, गहिरो माया राख्छिन
भगवानसँग मेरै लागि कुन्नी के के माग्छिन
कसैसँग नमिल्ने, छुच्चो बाङ्गो मलाई
सबैसँग मिल्ने रामको कथा सुनाउदैछिन आमा !!

आफ्नो काखमा टाउको राखी, कपाल खेलाउदैछिन
फर्की आइज छोरो अब भन्दै बोलाँउदैछिन
मेरा कलीला पाइलाका डाम रुगेँर बस्छिन रे
आमाको माया, आमाको मन अर्थ्याउदैछिन आमा !!