मोजा भित्र अनेकन कागज, टालाटुली,
झुम्रो, पराल आदी ठुसेर बल बनाएर लुगा चुट्ने मुङ्रोले बल ठट्टाएको हिजो जस्तो लाग्छ
। गोबिन्दे 'बल्लिङ्' गर्थियो म मुङ्ग्रो समातेर बस्थेँ । मेरो पछाडि हुन्थ्यो काठको
फल्याक् । 'आउट् भइस् साले,' फल्याक् ढल्दा गोबिन्दे चिच्याउँथ्यो । बद्री, आनन्दे,
कुबेर अनी बले वरिपरी घेरेर 'फिल्डिङ्' गर्थे । हाम्रो आफ्नै नियम थियो क्रिकेट्को
। बल उडेर खोल्सीमा पस्यो भने 'आउट्'। जस्ले खोल्सिमा बल हान्छ, उसैले खोजेर ल्याउँछ
। रुखमा अड्कियो भने 'आउट्'। म बल लिएर आउँथे बद्री मुङ्ग्रो । म र बद्री रिसायौँ भने
खेल खत्तम । क्रिकेट्को नशा, नशानशामा दौडिन्थ्यो। धेरै खेलियो । धेरै हेरियो । बिस्तारै
उमेर बढ्यो । ठुलो भैयो । अनी त्यस्पछी झन ठुलो भैयो । अनी त झनै ठुलो भैयो । क्रिकेट्बाट
पर-पर हुँदैँ खेल ठप्पै भयो । गोबिन्दे अस्ट्रेलिया पुग्यो । कुबेर बेलायत । आनन्दे
कता छ कता । म अमेरिका पढ्न हुँइकिएँ । तर आजकाल धेरै पछी फेरी क्रिकेट्को नशा म मा
छिर्दैछ । धेरै पछी धेरै साथीभाइहरु सँग क्रिकेट्को मजा लिन पाएकोछु - मिनिसोट्टामा
। यस्तो लाग्छ म फेरी पुरानो दिनमा फर्किएकोछु अनी गोबिन्दे बलिङ् गर्दैछ र भन्दैछ
- 'आउट् भइस् साले ।'
![]() |
टिम 'तेज धार' vs. टिम 'ज्वालामुखी' बिचको खेल सुरु हुनु अघी (photo: Sajan Bajracharya) |
अमेरिकाको मिनिसोट्टा राज्यमा
बस्दै आएका नेपालीहरु माझ हिजोआजको चर्चाको बिषय बनेको छ, क्रिकेट् । मिनियापोलिस्
शहर आसपास बस्ने नेपालीहरु प्रतेक शनिबार-आइतबार जम्मा भएर लग्भग दिनैभरी क्रिकेटमा
ब्यस्त रहन्छन् । क्रिकेट खेल्ने मैदान नभएर के भो त? खाने मुखलाई जुङ्गाले छेक्दैन
भनेजस्तै, अमेरिकाको प्यारो खेल सफ्ट्बल खेल्ने मैदानमा यहाँका नेपाली चौका-छक्का हान्न
पछी हट्दैनन् । 'क्रिकेट् इन् मिनियापोलिस्' फेसबुक पेजबाट संयोजक सचिन पराजुलीले सुरु
गरेका यो यात्रामा, आज स्थापनाको केवल छोटो ४ महिनामै करिब ८० जना सकृय सदस्य छन् ।
छरिएर रहेका नेपालीहरुलाई एकै
ठाउँ समेट्ने काम गरेको बताउँछन् क्रिकेट् खेल्न आउने खेलाडी सदस्यहरु । नेपालले क्रिकेट्मा
गरेको प्रगतीले त झनै हौस्याएको बताउँछन् एकजना खेलाडी श्रमन शर्मा । 'पैलापैला अस्ट्रेलियाको
समर्थक भएर रातभर टिभी हेरिन्थ्यो, आजभोली नेपालको खेल हुँदा काम पनि बिदा लिएर बसिन्छ,'
शर्मा गर्व गर्छन् । हुन पनि क्रिकेटले नेपालमा मात्र नभइ विश्वमै आफ्नो छवी स्थापित
गर्दै गर्दा देशबिदेशमा बस्ने लाखौं नेपालीहरुको शिर गर्वले ठडिनेनै भयो ।
![]() |
बिभिन्न बिधाको लागि छुट्याइएका ट्रफीहरु (photo: Sachin Parajuli) |
मिनिसोट्टा राज्यमा बस्ने नेपालिहरुको
छाता संगठन Association of Nepalis in Minnesota (ANMN) को संयोजकत्वमा 'क्रिकेट् इन्
मिनियापोलिस्' समुहले क्रिकेट् प्रतिस्प्रधा आयोजना गरेको छ । जस अन्तर्गत ६० खेलाडिहरु
- 'बोल्बम', 'तेज धार', 'खेलाडी ब्वाइज्' अनी 'ज्वालामुखी' गरी चार टोलीमा बिभाजित
छन्। पन्ध्र सदस्य रहेका हरेक टोली एकअर्का बिच प्रतिस्प्रधा गर्दै फाइनलमा दुई उत्कृष्ट
टोली पुग्ने बताउँछन् ज्वालामुखी टोलीका कप्तान विश्व पौडेल । टोली 'बोल्बम' का कप्तान
दीपेन्द्र महासेठका अनुसार यो एक स्वच्छ प्रतिस्प्रधा भएकोले सम्पूर्ण नेपाली दाजुभाइ
दिदीबहिनिहरु रुचीका साथ खेल हेर्न आउने अनी आफ्नो टोली, साथी आदिलाई समर्थन गर्ने
गरेको बताए । त्यसैगरी टोली 'तेज धार' बाट खेल मैदानमा उत्रेकी महिला खेलाडी आँचल कुवँर
आफ्नो 'ब्याट्टिङ् लाइन्' सुधार गर्नु पर्नेमा जोड दिन्छिन् । हालसालै आइसिसी टि-ट्वान्टी
मान्यता प्राप्त गरेको नेपालले अब क्रिकेटमा स्थापित भारत, पाकिस्तान जस्ता देशहरु
आमने-सामने भएर खेलेको हेर्न कुवँर आतुर देखिन्छिन् । 'नेपालले जित्छ,' उनी भन्छिन्
। यसैगरी धेरै नेपालीहरु जमघट हुँदा शहरमा नयाँ आउने नेपालीहरुले पनि पुरानाहरुबाट
सर-सल्लाह, सुझाव अनी सहयोग पाउने मंच बनेको देखिन्छ खेल मैदान । खेलकुदले मान्छेलाई
एक बनाउने कुरो को एक असल उदाहरण बनेको देखिन्छ मिनियापोलिस् शहर ।
![]() |
ब्याटिङ् गर्दै आँचल कुवँर (photo: Sachin Parajuli) |
क्रिकेट् प्रतिको रुची, लगाव
अनी यो खेल को सम्मान गर्नुका साथसाथै देशमा भइरहेको घटनाहरु प्रती पनि यहाँका नेपालीहरु
सचेत छन्। यसै क्रममा नेपालमा मनसुनी वर्षाका कारण विभिन्न क्षेत्रमा भएको बाढी, पहिरो
र डुबानबाट भएको जनधनको क्षति न्युनिकरण गर्न अनी पीडितहरुलाई राहत र उद्धार गर्ने
काममा पनि यो क्रिकेट समुहले तत्परता देखाएको छ । क्रिकेट् प्रतियोगिताबाट उठेको केही
रकम अनी बिभिन्न चन्दा संकलन कार्यक्रम गरेर सहयोग स्वरुप नेपाल पठाउने काममा यो समुह
लागिपरेको संयोजक सचिन पराजुली जानकारी गराउँछन् ।
- सुरेश 'समान'
- सुरेश 'समान'