"अनी के छ त भ्यालेन्टाइन्स डे को प्लान केसु?"
"प्लान? नो प्लान!" मैले खाटभरी असरल्ल छरिएका कागजपत्र,
पुर्जी, बिल समेट्दै भने।
"उस उस! तपाईंको प्लान नहुने! लु पत्याएँ!" आस्माले पत्याइनन्।
"छैन त के भन्ने?" मैले भने। मेरो ध्यान एउटा पुर्जीमा थियो।
"उस उस उस," आस्माले फेरी पत्याइनन्।
"हो भन्या, सत्ते," मैले उ तिर फर्केर किल्किले समाउँदै प्रमाण जुटाउन खोजे।
"उस, उस, उस,"
"छ प्लान ल, दरो प्लान छ। खुशी?," अल्ली कड्केर हेर्दै मैले भने।
"के प्लान छ, हामी पनि सुनम न त," लेग्रो तानेर सोध्छे आस्मा।
"डेटिङ जाने प्लान छ नि एउटी च्वाँकसँग," मैले आँखा सन्काउदै भने।
"उस उस उस"
"छैन भन्दा नि तिम्रो उस उस.... छ भन्दा नि उस उस? अरु केही भन्न आउँदैन?" म चर्किएँ। उस्को सेतो अनुहार पहिला कालो
भयो अनी निलो भयो। आस्मा उठेर
हिँडीन। मैले वास्ता गरिन।
एकछिन
पछी आस्मा चिया लिएर भित्र पसीन । यो उस्को पहिले देखीको बानी हो। मसँग रिसाइ भने उ
चिया बनाउथी दुवैलाई। भन्थी - "रिसाएर केही हुँदैँन, यो गुलियो चिया खाएर दुवैको
मनको तितोपन पखाल्नु पर्छ।" मेरो रिस चियाको प्रतेक चुस्कीसङै क्रमस धमिलिदै जान्थ्यो
अनी मन मिठिदै। उस्को अनुहारमा पनि मिठास छाँउथ्यो, मिठ्ठो चिया जस्तै। हुन त म नै
उस्तो हुँ। आमाले त उहिलेदेखी नै भन्नुहुन्थ्यो 'नाकका टुप्पामा छन तेरा रिस।' फेरी
एकैछिनमा आस्मासँगको रिस आफुतिर सर्छ। आफु फोकटमा रिसाएकोमा आँफैसँग रिस उठ्छ अनी बिस्तारै
सेलाउँदै जान्छ - आस्माको चिया जस्तै। उस्लाई फकाउन म प्राय पुराना कलेजका दिनहरु कोट्याउने
गर्छु अनी आँफै पनि टोलाउन थाल्छु। उ ध्यानमग्न भएर सुनिराख्छे। छिट्टै फकिन्छे मेरी
बुढी। लाग्छ उ स्वस्थानीको अगस्थ मुनी हो र म महादेव र सतीदेवीको प्रेमगाथा बाचन गर्दैछु
स्कन्द कुमारजी भएर। उ नै मेरो पहिलो माया हो। पहिले माया हार्ने आँट कसको हुन्छ र!
उ बेला आस्माको मामालाई नमस्कार ठोकियो, उसका साथीको ट्याम्फु भाँडा तिरियो। कलेजका
बाटा फेरिए। दौंतरीका - 'क्या दोस्त! लड्की मिल गै, दोस्त भुल गै'- गुनासा खेपिए। अनेक
तान बुनियो। म माया जित्ने दौडमा थिए, जिते। त्यो बेला ऐलेजस्तो फेसबुक, ट्वीटर, स्काइप
केही थिएन। ऐले जस्तो इन्टर्नेटमा प्रेम कम, बिज्ञापन बढी देखिने ढर्रा फोटाहरु राखिन्नथे।
फोटो राख्नै परे'नी पर्सको कुनोतिर राख्थे- मैले जस्तो! जे होस् गर्व लाग्छ-अरुका जस्तै मेरी बुढी
आजसम्म रिसाएर माइत गएकी छैन। वास्तबमै उ पानी हो, मैले जस्तोसुकै आकार लिए पनि उ त्यतै
प्रकार लिन सक्छे। हुन त उस्ले मुखै फोरेर त भनेकी थीइन तर आस्माका नजानिदा इसाराहरुले
मलाई हौस्याएका थिए उबेला। सधैं 'केसब' भन्नेले एकदिन 'केसु' भनिन पहिलोपल्ट। उनले
लजाएर स्विकारीन। म पास भएँ। त्यो दिन भ्यालेन्टाइन्स डे थियो।
आस्माले
स्विकारे पछी हाम्रो दैनिकी बद्लियो। अनी मायाका नियमित भेट, कलेजका हिडाइ, छड्के हेराइ,
मायालु घुरक्याइ, लबस्तरो हाँसो.... वाह! पछी परीवार र परम्परासँग जुधेर आस्मा मसँग
आइन। उन्का परिवारलाई - मेरो जात उन्को जत्रो भएन रे! आज सम्म, ५ बर्ष भो - हाम्रो
माया बिसको उन्नाइस भा'छैन। सानोतिनो भनाभन त कस्कामा पो हुँदैन र? एकै ठाउँ राखेका
थाल-बटुका कैलेकाहीँ ठोक्किन्छन, आवाज निस्कन्छ अनी छिन मै शान्त हुन्छन!
"रिसाउनु
हुन्न भने एउटा कुरा सोधुँ?" पलङको एक कुनामा टुसुक्क बस्दै आस्माले सोधिन।
"भनन,
किन रिसाउने... मलाई तिमीले आफुलाई लागेको कुरा भन्ने अनी मैले तिमीलाई भन्ने, त्यही
हैन लोग्ने-श्वासनी भन्या?" म रोमान्टिक हुन खोजेँ। आस्मा मुस्कुराइन। हुन त म
लठ्ठु नै छु-माया देखाउने/जताउने मामलामा। मुटु भित्र औधी लाग्छ तर लोलोपोतो, भन्छननी
चिल्लो घस्न, फुलबुट्टा भर्न जान्दिन। साथीहरु सायरी, गजल, कबिता के के जाती लेख्छन।
आफ्नी प्रियालाई जुनतारासँग तुलना गर्छन्। तर अहँ मैले त्यो सब कैले जानिन। खैर जे
होस्, आस्माले मलाई चिनेकीछीन। मेरो माया बुझेकीछिन। जुन, तारा त टाढाका कुरा भए-मैले
त उस्लाई नजिकै, मुटुमै राखेकोछु नि। जुन तारासँग दाजेर किन टाढा पार्नु?
"छ नि, हामी दिल्ली नजाम
ल," गह भरी आँसु राखेर आस्माले भक्कानिदै भनिन। छताछुल्ल आँसुहरु मनपरी उस्का
गालामा पोखिन पो थाले। उ अली वर सरेर मेरो छातीमा आएर घोप्टी। मेरो छातीमा खसेका उस्का
आँसुले मलाई बिजायो। पोल्यो। मेरो पनि आँखा रसाए तर आफुलाई दरो बनाउने प्रयत्न गरेँ-लामो
सास ताने। मेरो गला अवरुद्द भयो। यस्तो बेला त मैले उस्लाई सम्झाउनु पर्ने, नरोउ भन्नु
पर्ने, भरोसा दिनु पर्ने... तर अघी नै भनीहालेँ नि म लठ्ठु छु-जान्दिन देखाउन। आफ्नो
हातले उस्को कपाल सुम्सुम्याए, उ घुँक्कघुँक्क गर्दैथी मेरो छातीमा। बिस्तारै उस्को
टाउको उठाएँ, कपाल छरिपस्ट थिए-सम्हालिदिँए। छेउको रुमाल तानेर उस्का आँसु पुछीदिए।
उ एकटक मलाई हेरिरहीथी। दुई थोपा आँसु फेरी खसे उस्को गालामा। तीनलाई पनि मैले मिल्काइदिएँ।
उस्का गालामा आँसुका दागहरु देखिनथाले। उस्ले पनि मेरो आँखा पुछीदी। मैले आस्माको चिउडो
हल्का उचालेर भने - "ह्यापी भ्यालेन्टाइन्स डे!"
उस्ले आँखा चिम्ली अनी मेरो
छातीमा हल्का मुक्का हान्दै भनिन -"तपाइँलाई नि!"
क्रमस...
2.
आस्मालाई मनाउन यो पाली भने
अल्ली बढी नै कसरत गर्नुपर्यो। मैले धेरै तर्क राखेँ तर जम्मै फोस्रा भै'दिए। उ भन्थी
- "भो पर्दैन अब यो किमो सिमो म केही गर्दिन। दिल्ली जा-आइज, खर्चको भार। मलाई
अब बाँकी जीवन आनन्दले बाँच्न दिनोस, बिन्ती! जती समय छ त्यो म तपाईंसँग बिताउन चाहन्छु। हस्पिटलमा
हैन। मेरो खप्परमा तपाईंलाई दु:खदिन लेख्यारे'छ, मलाई माफ गरिदिनोस...," उ भक्कानिएर बोल्न सकिन।
सल ले आँसु पुछिन। म उस्लाई एकनासले
हेरिरहेँ। काँक्राका चिराजस्ती रस भरिएकी मेरी आस्मा, आज दुब्लाएर हाड र छालामात्र
बाँकी थियो उस्को शरीरमा। किमोथेरापी अनी रेडिएसन ट्रिट्मेन्टले होला उस्को सलसल परेको कपाल, पातलइदैँ
जादैथे। हातगोडा तोरीको डाँठजस्ता कम्जोर देखिनथालेका थिए। लुगाका बिचमा राखेको कपुर दानाजस्तो उनी प्रतीदिन बिलाउँदै जादैँथी।
उ भन्दैथी -"पक्कै पनि
उ जन्ममा मैले केही पुण्य गरेको हुनुपर्छ, तपाईंजस्तो लोग्ने पाएँ। तपाईंले त छोराछोरीको
नाम पनि जुराइसक्नुभा'थ्यो। छोरी भइ भने 'अदिती', छोरा भए 'अनुराग'। याद छ? म कत्ती छोराको जिद गर्थे
अनी तपाईं छोरीको रट लाउनुहुन्थ्यो। हामी कती हाँस्थ्यौ, कती खुशी थियौँ । खै कुन दैव लागेर हुन मैले
तपाईंलाई सन्तानखुस दिन सकिन। मेरो
बाँजोपनमा पनि सहस्र साथ दिनुभयो। मेरो चित्त दुख्ला भनेर आफुभित्रै आफ्ना दु:ख दबाउनुभयो।
आफ्नो पिडाको एक झन्कोसम्म पनि मेरो नजिक आउनदिनु भएन। म त तपाईंसँग भागेर आ'की। अरु
आफ्ना भन्नेहरु मेरो गर्भ खस्दा हेर्नसम्म पनि आएनन। बरु उल्टै 'ठीक्क पर्यो' र 'खुच्चिङ'
को व्यबहार देखाए।
तपाईंले केवल
मेरो वास्ता गर्नुभयो, दुनियाँको बार्हसत्ताइस कुरोमा कुनै चाख दिनुभएन.....।" अरु पनि के के भन्न खोज्दैथिन
तर उनको गला अवरुद्ध भयो र बोल्न सकिनन।
उ अनेक तर्क निकलेर मलाई महान
बनाउन खोज्दैथी तर मलाई महान बन्नुथिएन। म त्यो बेला पनि उस्को श्रीमान थिएँ, यो बेला
पनि श्रीमान हुँ अनी आउने अनेकौँ साल पनि उसैको श्रीमान बन्नुछ। लाटी भन्नु कि बाठी-
मलाई सन्तान दिन सकिन भनेर आफुलाई कोस्छे, आफ्नो भाग्यलाइ सराप्छे! मलाई दिने भनेको
सन्तान उस्को पनि त हुन्थ्यो नि। अनी उस्लाई झन कती पिडा भयो होला? रोएको बच्चा फकाउदै
काखमा राखेर आँत सेक्ने घाममा टाउकोमा तोरीको तेल लगाइदिने उस्को इच्छा धमिलिदा कस्तो
भयो होला? के उस्को पनि इच्छा थिएन होला र 'थिगीरी नानी थिगिरी' भन्दै बालखका कलीला
पाइलाका डाम पछयाउने? ति सब इच्छामा चिसो स्याँठ चल्दा कस्तो भयो होला मेरी
आस्मालाई?
भिर जोत्नुभन्दा नि कठिन भयो
आस्मालाई दिल्लीको लागि मनाउन। मैले
'हुन्छ' भन्न सकिन। उस्को प्रस्ताव 'मर्ने तयारी' गर्छु भन्नेतिर थियो। त्यो मलाई कदापी
स्विकार्य थिएन। उस्को प्रस्ताव र मेरो ढिटमा जीवन र मृत्यु अडिएको थियो। मैले मानिन, मान्दै
मानिन। अन्त्यमा मेरो जिदले जित्यो। हामी दिल्ली जाने भयौँ, यो एकपल्टको लागि भनेर मैले
उस्लाई मनाएँ!
दिल्ली पुग्यौँ।
दिल्ली त नामको मात्र दिल्ली
रहेछ। दिल भा'का थोरै मात्र भेटिन्थे। बसको खलाँसी देखी नामुद हस्पिटलको नामी डाक्टरसम्म-जम्मैको
ध्यान सिर्फ एकचिजमा, पैसा! नेपाल धेरै 'मिस' हुन्थ्यो। दिल्लीको खलाँसीले 'हस्पिटल
रोड, हस्पिटल रोड' भनेको भन्दा त हाम्रो नेपालको 'लगनखेल, लगनखेल' भन्ने आलोकाँचो भुन्टे
नै प्यारो! तर मलाई जे खप्नुपरे नि खप्ने आँट थियो, आस्माको लागि। उ झनझन सिथिल देखिन
थाली। हामीले लागेका एक्स्रे, औसदीका पुर्जी केही काम लागेन। फेरी जम्मै सुरुबाट जाँच
भयो। डाक्टरले एक दिन मलाई सुटुक्क बोलाएर भन्यो -"ज्यादा से ज्यादा छे महिने
हे आपके पत्नीके पास।" मेरो खुट्टा मुनीको जमिन धसियो।
हामी नेपाल फर्कियौँ। नेपाल
फर्केको दिन देखी आस्माको स्वाथ्य झनै उँधो लाग्दै गयो। आफुलाई प्यारो लाग्ने चिज पाउन
मान्छेले अनेक गर्छ। मैले पनि गरेँ। डाक्टरी दवाइका साथसाथ झारफुक पनि गराएँ। 'गुगल'
गरेँ - केही भेटिन्छ कि भन्ने आसमा तर उस्को क्यान्सर दुवै म्रिगौलाहुँदै शरीरभरी फैलीसकेको
हुँदा, मैले कुनै उत्तर पाइन। साथीभाइको सल्लाह अनुरुप अब मैले आस्मालाई घर मै राख्ने
निधोमा पुगेँ। आस्मा पनि खुशी भइन। महिनादिन जस्तो पछी उस्को कम्मर मुन्तिरको भाग चल्न
छाड्यो। बिस्तारै हात। बोल्न पनि निक्कै सकस हुनथाल्यो। उ टुलुटुलु मलाई हेर्थी, मेरो
लाचारीपनलाई। एकदिन बल गरेर मेरो कानमा बिस्तारै भनिन - "मेरो आत्माले सान्ती
पाओस भन्ने चाहनुहुन्छ भने, बिन्ती घरजम गर्नोस है! लोग्नेभन्दा पहिला जान पाएँ, मलाई
दुखेसो छैन!"
भोलीपल्ट बिहानै एक्कासी ढप्क्याएका
झ्याल ह्वाँङग खुले। एक मुस्ट तातो हावा बाहिर निस्के। आस्मामा अब सास रहेन....
मात्र उस्को सुवास थियो...
बिलाएका कपुरका अवसेस!
सान्त्वना र सहानुभुती दिनेहरुका
ओहीरो लाग्यो। लोग्ने-श्वासनी रथका दुई पाङ्रा भन्छन। म एक पैयामा झरेँ-स्थिर! हामीले
रचेको सुन्दर संसारमा जरा त गाड्यौँ तर उम्रिन पाएनौँ, हाँगाबिगाँ हुँदै फैलिन नपाउँदै
अल्पायुमा मेरी आस्माले सधाको लागि आँखा चिम्लीसकेकीथिन। म सोच्थेँ - क्यान्सर, हस्पिटल,
डाक्टरको ओहोरदोहोर, आफन्तका जिज्ञासा, बिरामीको ब्यथा आदी कुराहरु त अरुलाई मात्र
हुन्छ, अझ आस्माले हेर्ने गरेका हिन्दी धारावाहिकमा मात्र हुन्छ। तर मैले आस्मासँग
बसेर हेरेका अनेकन 'मेलो ड्रामा' का सिनहरु म आँफै भोग्दैथेँ। आस गर्छु कसैले 'कट'
भन्नेछ अनी आस्मा फेरी बिउँझिनेछिन। तर उ बगेको खोला भइन, फर्किनन। साथीभाइहरुले सम्झाउदै
गर्दा मेरो शरीरको कोस कोस टनटन हुन्थ्यो। म बाट मेरो मुटु चुडिएकोथियो। अन्तिम दिनहरुमा
आस्मा ले भनेकीथीइन-"धेरै
चिन्ता नलिनु, प्रेसर बड्छ।" आज उनी भइदिएकी भए भन्नेथिएँ -"मेरो मुटु कसैले
चुडेर लगी सक्यो आस्मा। मुटु नै नभए के को प्रेसर?"
क्रमस...
3.
आस्माले मलाई छाडेर अर्कै लोकमा
गइन। आज दुई बर्ष भयो। उ गएको अलीदिन पछी सान्त्वना र सहानुभुती दिनेहरुको भिड पातलिदै
गयो। लग्भग जिरो मै पुग्यो। आस्माको चिताको आगो त सेलाइसकेको थियो तर मेरो मनमा लागेको
डँढेलो -
दन्किरह्यो। रातबेरात
एत्तीकै टोलाउँथे, शहरका गल्लीगल्लीमा। काममा फिट्टो मन हुँदैनथ्यो। घर गयो - सिङै
घर खर्लप्प उल्टिएर मलाई निल्न आउथ्यो। आस्मा थीइन, घर उज्यालो थियो। घरजाने बाहना
थियो। चाहना हुन्थ्यो। कसैले ढोकामा आँखा ओछ्याएर मेरो बाटो कुरिराहुन्थ्यो। कहिलेकाहीँ
ढिला हुँदा 'किन ढिला?' प्रश्न सोध्थ्यो। 'आज छिट्टै आउनोस है, फिलिम जानुपर्छ' मायालु
आग्रह गर्थियो। चुरा बज्थ्यो। पाउजु छन्किन्थ्यो। खानामा स्वाद हुन्थ्यो। रिस हुन्थ्यो। रस हुन्थ्यो.......।
मेरो जीवनमा उनको आगमन सँगै
म बद्लिएको मात्र थिइन, म मा बल पनि थपिएकोथियो। मेरो मनको भाव - सुख,
दु:ख आदी बुझ्ने एक अनौठो लिट्मस मैले गुमाए। मेरो हृदय लाग्छ सुकिसकेको खहरो बन्यो।
त्यो खहरोलाई रक्सीले धेरै भिजाएँ। धुँवामा धेरै उडाए। कत्तीले 'देबदास' भने, कतीले 'पागल'। अझै पनि मेरा
लुगाहरुमा, सिरक-डस्ना, सिराने हरुमा उस्का आभाहरु म महसुस गर्छु। कतीपल्ट त अस्माका
काला लामा केसहरु मेरा शरीरमा टासिएको भेटेकोछु, भेट्छु। आस्माले साडीमा लाउने गरेको
हुप्सियो, मेरो सर्टका खुस्किएका टाँकहरु, फुटेका चुराका अवसेशहरु, ड्रेसिङ टेबलमा
लडिरहेको थाक्रो, नङपालिसका खाली बट्टा..... सुन्नेहरु हाँस्दा हुन, तर यि यावत स-साना
चिजहरुले मलाई चिमोटिरन्छन। घोच्छन। अनी पुन: आस्मा बल्झिन्छिन। त्यस्तो बेला आस्मा भा'को लोक
जाने कोशीस नगेको हैन!
आस्मा सपनामा
आएर अनेक सम्झाउथिन। बाँच्नको लागि हौस्याउथिन। एउटै कुरो दोहोर्याउछिन - 'घरजम गर्नोस!' म रिसाउँदै ब्युझन्थे।.......मलाई आस्माको रिस पखाल्ने चियाले
ठुङ्थ्यो!
....x....
.....
"हेर भाई, अब यसरी जीवन
चल्दैन! बिचार गरे," दिदीले धेरै सम्झाउथिन। "भगवान शिवले त दोस्रो विवाह
गरे!"
"म भगवान हैन!" म
झर्किन्थे। म एकान्तमै रम्न थालीसकेको थिएँ। कसैको सल्लाह, सुझाब वाइहात लाग्थे।
"तपाईंका कुरामा मेरो कुनै रुची छैन! मेरो सुर्य अस्ताइसक्यो, कहिल्यै नउदाउने
गरी। आइन्दा एस्तो कुरो नगरे जाती!"
यसरी सम्झाउनेहरुमा मेरी दिदी
मात्र लागेकी थिइनन, मेरा साथीभाइहरुले पनि अनेक प्रस्ताब ल्याएकाथिए। उनिहरु भन्थे -"कती बिदुर
भएर बाँच्छस? तेरो अगाडि एउटा लामो जीवन पर्खिरहेकोछ।"
कती त फोटो बोकेरै पनि आए।
मैले वास्ता गरिन। भनीहालेँ नि मेरो हृदय सुकीसकेको थियो। उनीहरु मरभुमीमा मलजल गर्ने
प्रयास गर्दैथिए!
दुईचार दिन दिदी चुपलाग्थिन अनी फेरी कोट्याउन
थाल्थिन - "हेर बाबु, हामी तेरो भलो नै चाहन्छौ। बुहारीले मलाई मर्नेबेलामा यही
एउटा इच्छा रहेको बताएकीथिन। उस्को इच्छा पुरा गर्नु तेरो कर्तब्य हो।"
एकदिन आमाले पनि यस्तै-यस्तै
कुरा गर्नथाल्नुभयो। आमाको सपनामा आएर बुहारीले मेरो घरग्रीहस्तीको लागि रोइकराइ बिन्ती
गरिन रे! अनी उँहा म काँ सिफारिस गर्न आउनुभयो। मैले उँहालाई सम्झाउदै भने -
"हेर्नोस आमा, मैले दिदिलाई अनी मेरा साथीभाइहरुलाई जे भन्ने गरेकोछु तपाईंलाई
नि त्यही भन्ने छु। मलाई कठोर भइस भन्नुहोला तर मैले यस बिषयमा केही सोचेको छैन। म
मेरो एक्लोपनमै रत्तिन थालिसकेँ। ल मैले 'हुन्छ' भने रे, तपाईं आँफै सोच्नोस त मसँग
बिहे गरेर आउनेको के दसा होला? म
आस्मालाई बिर्सिएर अरु कसैलाई माया दिन सकुँला र? मैले त आँसु निलेर जिउन सिकीसकेँ
तर के उस्को आँसुले उस्लाई जिउन देला र? के म असल लोग्ने बन्न सकुँला र? एउटा अर्को
जिन्दगीको बलिदान दिन म कसरी तत्पर हुनसक्छु? आस्माको आफ्नै स्थान छ मेरो जीवनमा। जम्मैजना
अस्मालाई बिर्सी भन्छन तर म बिर्सिन चाहन्न - उस्को 'साटो' अरु ल्याएर! त्यसैले यो फोटो, प्रस्ताब
लिएर नआउनोस। यदी गर्नै परे म आँफै भनुलाँ। मेरोलागी अब कसैले झन्झट नलिनुहोला।"
आमाले मेरो कुरा एकाग्र भएर
सुन्नुभयो तर उहाको अनुहारले प्रस्ट बताउदैथियो कि उँहा सहमत हुनुहुन्न भनेर। आमालाई
पनि के दोस दिनु? आफ्ना छोराछोरी खुशी हुन, घरजम गरेर टुङगोमा पुगुन भन्ने चाह होला
नै! आमाबाले खाने भनेको छोराछोरीको खुशी न हो।
"कैले सम्म एतिकै बस्छेस
त?" आमा अली रुखो हुनुभयो। तर वहाँको रुखोपन पछाडिको माया मैले प्रस्ट देख्नसक्थेँ।
वास्तवमै आँखाले कहिल्यै झुट बोल्दैनन! भिजेका आँखाका चेपहरु सारीको सेप्कोले थप्थपाउँदै बिस्तारै
भन्दैहुनुन्थ्यो - "हेर बाबु, तँ मेरो एक्लो छोरा होस्। तेरा बा बित्नु भयो। मेरो पनि एउटा खुट्टा घाटमा
छन एउटा घरमा। कैले दैवले उठाउनेहुन पत्तो छैन। मर्नु अघी तेरो राम्रो भएको हेर्ने
मेरो इच्छा पुरा गरिदेउ मेरो बाबु।"
"के नचाहिदो कुरा गर्नुहुन्छ?
मर्ने कुरा नगर्नोस मेरो अगाडि!" म झन्किन्छु। "के मेरो इच्छा चै इच्छै हैन?
मैले चै आफुले लागेको गर्न नपाउने?"
"रिस हेरन रिस,"
आमाले भन्नुभयो। "नाकका टुपामा छन।"
"अनी के त?" मैले
भने। "कोही भेटेँ भने आँफै भनुलाँ, अब धेरै किचकिच नगरनोस," मैले प्रसँग टाल्न खोजेँ।
"मैले त बोल्यो कि तलाई
किचकिच हुन्छ है?" आमाले बाउठिदै भन्नुभयो। "छोराछोरी साना छँदा मर्लान भन्ने
पिर, ठुला भए मार्लान भन्ने पिर।"
त्यो दिन आमा चुपलाग्नु भएन।
थुप्रै उदाहरणहरु थिए उँहासँग, पुन: विवाह गरेर बसेकाहरुको। एक एक गर्दै जम्मै सुनाउनुभयो।
टेलिभिजनमा आउने हरीवंस आचार्य देखी हाम्रो गाउँको रिक्सावाला हरिबोल चौधरी सम्मका
कुरा सुनाउन भ्याउनुभयो। वहाँले सुनाए मध्येका प्राय मैले दिदीको अनी अरु साथीहरुको
मुखबाट सुनीसकेको थिएँ। जानेबेला मा भन्नुभयो - " एकपल्ट धैर्य गरेर बिचारेस
बाबु मेरा कुरा। आफुलाई हेर-गतीगरास हराइसक्यो! कोठाभरी डुङ्डुङ्ती रक्सी चुरोटको टर्रो
गन्ध फैलिएको छ। छोरीमान्छे न'भा घर, घर हुँदैन-नपत्याए आफ्नै वरीपरी हेर! अरु केही
नगरे पनि यसो बाहिर निस्की, घुम्न जा, साथीभाइसँग घुलमिल गर, हावा खा! कती दिन यसरी
जोगीताल गरेर बस्छस?"
क्रमस...
4.
आमाले भनेजस्तै मेरो 'जोगीताल'
नै भएकोथियो क्यार!
आमा जानुभएपछी
ऐना अगाडि उभिएर निकैबेर आफुलाई निहाले- को को नचिनेको मान्छेलाई मैले हेरेजस्तो लाग्यो।
लाग्छ मेरो अगाडि एउटा कङ्काल उभीरहेछ - लुगा
लगाएको कङ्काल! याद छैन अन्तिम पटक कैले दार्हीजुँगा खोरेथेँ। आँखा ओरिपरी काला दागले
घेरा हालेका थिए। आँखा स्वयम चै भित्र कता गाडीएकाथिए, मेरा कङ्काल आँखा! टाउकोमा जिङ्रिङ्ग कपाल - तिनमा
काइयो नजोतिएको जुग बितीसेकेको थियो। लुगा दस ठाँउ उध्रिएको, मैलो। हातगोडाका नङ कुनै
बड्दैथे, कुनै आँफै भाचीदैथे। नसाहरुमा रगत संचार नपुगेर घाममा सुकेका गडेउला जस्ता देखिन्थे। भोल्टेज कम जिरो वाट बत्तीजस्तै थियो मेरो
अनुहारको तेज
- मधुरो पहेलोँ।
मलाई दिन, महिना, गतेको कुनै
हेक्का थिएन। कतीपल्ट त म शनिबार, चाडपर्वका बिदाका दिनमा पनि अफिस पुग्थेँ। बैँकमा
झुण्डिएको
भोटेताल्चा देखेर
घर फर्नक्थे। खल्तीबाट फोन निकालेर हेँरे - Saturday, December 15, 2012. डिसेम्बर २१ मा प्रलय हुन्छ
रे!- हल्ला उड्दै गरेको मैले सुनेकोथिएँ। 'प्रिथ्वी ध्वस्त हुन्छ', 'जम्मै मान्छे मर्छन,'
जस्ता बातहरु बतासिएका थिए देशभरी। मैले सोँचे 'अब ६ दिन।' मन हलुङ्गो भयो। बाहिर बार्दलीमा
निस्केँ - केटाकेटीहरु गल्लीमा दौडीरा'थे, चोरपुलीस खेल्दैथे क्यार! 'एssss त्रिसुलिको कान्छी बदाम, माम्फुली,
माम्फुली' गर्दै एउटा ठिटो मेरो घरको बाटो आयो। केटाकेटी उस्का वरीपरी झुम्मिए। मैले
माथिबाट बोलाएँ - "ए भाई, एक मानो मलाई हाल्दै गर त, म तल आएँ।" न्यानो पारीलो
घाम लागेकाथिए त्यसदिन।
२१ डिसेम्बर आयो, गयो। २२ को
बिहान घाम उदायो। मन खिन्न भयो मेरो।
क्रिस्मस मुखैमा थियो। हरेक
बर्ष बैँकमा, अफिसका कर्मचारीहरु मिलेर पार्टी प्यालेसमा 'क्रिस्मस इभ डिनर' को आयोजना
गर्थे। आ-आफ्ना परिवार, छोरा-छोरी जम्मै लिएर रमाइलो गर्थे। मैले जान छाडीसकेकोथिए।
यो पाली मेरो अफिस डेस्कमै आएर जम्मैले आग्रह गरे। मैले पैलेपैले जस्तो रेडिमेड उत्तर दिएँ
- "मिल्यो भने आउँछु।" उनीहरुले
मानेनन। निकै ढिप्पी गरे। मेरो घरमा आएर उठाएर भा'नी ल्याउने धम्की नि आयो। मैले 'हुन्छ,
हुन्छ' भन्नैपर्यो। सोचेँ - एकछिन मुख देखाउनमात्र भा'नी गइदिन्छु। भोलीपल्ट साँझ
दिदी घर आइन, मेरो हालखबर बुझ्न। कैलेकाहीँ आएर म न'भा बेलामा मेरो कोठा मिलाइदिने,
लुगामा स्त्री गर्दिने, बराड-कुँराड, थान्कोमुन्को आदी गर्नथालेकीथीइन। मैले पर्दैन
भन्थे तर माने पो! सामान्य कुराकानी भए। मैले उस्लाई 'क्रिस्मस डिनर' जाने कुरो बताएँ।
निक्कै खुशी भइन। मैले बुझिन, डिनर खान जाने म खुशी थि उ। अर्को दिन घर फर्किदा ढोकामा
हजाम उभ्भीरा'थ्यो। मलाई देखेर भन्यो -"तपाईंको आमाले पठाइलिनु भा'को, बाल कट्वाउन!"
.
.
डिनर पार्टीमा पुग्दा, कामका
प्राय सबै पुगीसकेका थिए। प्राय सबैजना मलाई देखेर छक्क पर्थे। "अरे केसबजी, तपाईं?"
भन्थे। धेरैजसोले मेरो नयाँ हुलिया मनपरेको बताए। "चिटिक्क" देखिएको छु भन्थे!
वेटरहरु वाइन, भुटन आदी बोकेर एताउता दौडिरा'थे। केटाकेटीहरु कोही रुदैथे, कोही दौडिदैथे,
कोही खाँदैथे - प्राय दौडिरा'थे। म वाइनको गिलास लिएर एउटा कुनामा बसीरहेँ। चुरोट सल्काउन
लागेकोथिएँ एउटा सानो प्लास्टिकको बल मेरो खुट्टामा आएर ठोकियो। एउटी फुच्ची दौडेर
आइ।
"अंकल बल," उस्ले
मेरो कुर्सीमुनी बसेको बल देखाउँदै भनी। मलाई केटाकेटी दौडेको खासै मन परिराको थिएन।
मैले कुर्सीमुनीको बल ताने र भने - "अब देखी एता नखेल्ने भए मात्र दिन्छु, हुन्छ?"
उस्ले मेरो हातबाट बल लिदै भनी - "हुन्छ अंकल।" बल लिएर अल्ली उता पुगेपछी
पछाडि फर्केर भनी - "अंकल, चुरोट खायो भने क्यान्सर हुन्छ!" मैले केही भन्न
नपाउदै उ दौडी। मन चियो भयो। चुरोट गोजीमा हालेँ। एकछिन पछी फेरी बल मेरो कुर्सीमुनी
आयो। फेरी त्यो फुच्ची आइ र भनी - "अंकल बल"
मैले बल हातमा लिए र भने
-"अघी मैले के भनेको थिएँ? अब यो बल म नै राख्छु।"
"सरी अंकल, यो लास्ट।
अब एता खेल्दिन," घोसे मुन्टो लाएर उस्ले भने। मलाई नरमाइलो लाग्यो।
"ठिक छ," मैले अली
नरम हुँदै भने। "तिमिलाई कस्ले सिकायो चुरोट खायो भने क्यान्सर हुन्छ भनेर पैला
भन अनी दिन्छु," मैले जिस्क्याएँ।
"ड्याडीले" उस्ले
भनी। "ए हैन, हैन ममीले"
"ड्याडीले कि ममिले?"
मैले नबुझेर सोधेँ।
"ड्याडिले ममीलाई भन्नु
भयो रे, अनी ममिले मलाई," उस्ले मतिर हेर्दै भनी।
"अनी खोइ त तिम्रो ड्याडी
ममी?" मैले जान्न खोजेँ।
उस्ले आकाश तिर देखाउदै भनी
- "ड्याडी त उ त्याँ तारामा हुनुन्छ रे। पर भन्दा पनि धेरै पर।" उस्ले एताउता
मान्छेको भिडतिर हेर्दै फेरी के भन्न लागेकीथी, "छोरी, अब घर जानुपर्छ हिडँ"
भन्दै एकजना आइन। ति एकजना अली नजिक आएपछी फुच्चीले भनी - "मेरो ममी"
"सर नमस्कार!," ति
एकजनाले भनिन। "खाना भो सरको?"
म वाल्ल परेँ। चिनिन। अहँ चिन्दैचिनिन।
"म पार्वती," उस्ले
मेरो अनुहार पढि। "एक बर्ष भो बैँकमा। एकाउन्टिङ हेर्छु। सरको अफिस माथ्लो तल्लामा
छ, म तल्लो तल्लामा छु। चिन्नुभएन होला त्यही भएर।" उस्ले मलाई असहज नहुनेगरी
बताइ। फुच्चीले मेरो हातको बल अघी नै निकालेर दौडीसकिछ। मैले चाल पाइन।
"ए सरी," मलाई अफ्टेरो
भो। "म केसब," मैले उस्को अघी नै को नमस्कार फर्काउँदै भने। सायद परिचय दिनु
जरुरी थिएन होला मैले तै पनि मुखबाट निस्किहाल्यो।
"सर कोटेश्वरमा 'नेपाल
यातायात' चड्नु हुन्छ होला हैन?" उस्ले सोधी। मैले हो भन्न नपाउदै उस्ले भनी
-"म तिन्कुनेमा चड्छु। तपाईंलाई देखीरा'हुन्छु अफिस आउने टाएममा।"
म फिस्स हाँसे। फुच्ची दौडेर
आइ र उस्की ममीलाई च्याप्प समाती।
"ल त सर म ऐले लागेँ,
अबेर भो," उस्ले फेरी नमस्कार गर्दै भनी। "अंकललाई 'बाइ' भन नानु,"
छोरीको कपाल हल्का मुसार्दै उस्ले भनी।
"बाइ बाइ अंकल,"
उस्ले कलीला हात हलाउँदै भनी।
मैले पनि हात हल्लाउदै भने
- "बाइ बाइ"
क्रमस...
5.
पार्टीबाट निस्किएँ। निक्कै
राती भैसकेको थियो। तैपनी हिड्दै जाने बिचार गरेर लखरलखर घरको बाटो हिंड्नथालेँ। मलाई
कुनै हतारो थिएन घर पुग्नुको। दिनभरीको कोकोहोलो, चहलपहल, भागदौडलाई बिर्सिएर काठमाडौंका
ब्यस्त गल्लीहरु उँघ्न-उँघ्न लागेका थिए। फाट्टफुट्ट सडकपेटीमा थापिएका चियापसलहरुमा
ड्राइभर, खलासीहरु झुम्मीएका देखिन्थे। कोही घुर बालेर आगो तापिरा' थिए। गोजीबाट चुरोट निकालेँ।
'अंकल, चुरोट खायो भने क्यान्सर हुन्छ,' फुच्चीले भनेको याद आयो। आस्माको याद आयो।
बिहे गरीसकेपछी मेरो चुरोट पिउनु निक्कै कम भा'थ्यो। कैलेकाहीँ आस्माले देखि भने मेरो सात्तो लिन्थिन। ठीक
त्यसैगरी 'क्यान्सर हुन्छ अनी ठीक्क पर्छ,' भन्थिन। मैले अझै बुझ्नसकेको छैन, मलाई
हुनुपर्ने क्यान्सर उस्लाई किन भयो? मैले पाउनुपर्ने सजाय, उस्ले किन पाइ? हुन त मेरोलागी
यो भन्दा ठुलो सजाय के हुन्थ्यो होला र? उ अब थीइनन्! तै फुच्चीकि ड्याडी जस्तै मेरी
आस्मा पनि 'पर भन्दा पनि निक्कै पर,' गइसकेकीथिइन!
.
.
भोलीपल्ट बसमा फुच्चीकी आमा,
पार्वतीलाई देखेँ। उस्ले पार्टीमा भनेजस्तै तीनकुनेबाट उ बस चढि। मलाई देखेर हाँस्दै
'नमस्कार' गरी। मैले उस्को नमस्कार फर्काएँ। म बसको अन्तिम-अन्तिम तिरको सिटमा थिएँ।
उ ढोकानेर उभीरा'थी। बस बानेस्सोरमा रोकियो। मान्छेको हुल छिचोल्दै बसबाट ओर्लिन मलाई
अली समय लाग्यो। तल ओर्लीदा पार्वती कुरिरा'रैछे। उस्ले मलाई देखेर फेरी नमस्कार गरी।
मैले पनि फर्काएँ।
"सन्चै सर?," उस्ले
सोधी।
"ठिकै छु," मैले
भने। "तपाईंलाई कस्तो छ नि?"
"आराम छ," उस्ले
भनी। म अघी अघी हिंडे, उ मेरो अल्ली पछीपछी थि। अफिस पुगेर म सरासर माथ्लो तल्लामा
गएँ। अर्को दिन पनि पार्वतीलाई देखेँ। उस्ले नमस्कार गरी, मैले फर्काएँ। बसबाट ओर्लेर
'सञ्चै सर?,' सोधी। मैले 'ठिकै छु,' भने। अनी मैले 'तपाईंलाई कस्तो छ नि?' सोधेँ। उस्ले
'आराम छ' भनी। म अघी अघी हिंडे, उ मेरो अल्ली पछीपछी थि। अफिस पुगेर म सरासर माथ्लो
तल्लामा गएँ।
अर्को दिन त्यसतै।
फेरी त्यस्तै। हरेक दिन म 'सञ्चै' हुन्थे, उ 'आराम' हुन्थी। म अघी अघी हिँड्थे,
उ मेरो अल्ली पछीपछी। अनी
अफिस पुगेर म
सरासर माथ्लो तल्लामा जान्थे।
एकदिन उपत्यका बन्द भो। सरकारले
खाना पकाउने LPG
ग्याँसको मुल्यब्रिद्दी
गरेको बिरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गरे। आपतकालिन र अत्यावस्यक बाहेक कुनै
सवारी-साधन चल्न दिएनन। कोटेस्वर देखी बानेस्वर पैला निकै हिँढीसकेको थिएँ - २५-३०
मिनेटको बाटो, मलाई बन्दले खासै छोएन। प्राय कोटेश्वरको भित्रीबाटो बाट तिन्कुने हुँदै
सान्तीनगरतिर लम्किन्थेँ अनी त बानेश्वर आइहाल्यो। आठै बजेजस्तो निस्किएँ १० बजेको कामका लागि। घर बसेर पनि के नै गर्नुथियो
र! बाटोमा एउटा किराना पसलमा चुरोट
किन्दैथिएँ, 'अंकल' कसैले बोलायो। त्यो आवाज मैले पैला सुनीसकेको आवाज थियो। पछाडि
फर्केर हेरेँ। एउटा घरको बार्दलीमा त्यही बल माग्ने फुच्चीलाई देखेँ, पार्वतीकी छोरी।
हतार-हतार चुरोट गोजीमा हालेर उ भएतिर हाँस्दै हात हल्लाएँ। छेउमै उभिएकी पार्वतीले
नमस्कार गरीन। मैले नमस्कार फर्काएँ।
"सन्चै सर?," उस्ले
सोधी।
"ठिकै छु," मैले
भने। "तपाईंलाई कस्तो छ नि?"
"आराम छ," उस्ले
भनी।
"अफिस त
जान लाग्नु भा हैन होला एती चाडै?"
"अफिसै हो," मैले
भने। "आज छिट्टै निस्केको, गाडीहरु ठप्प छन।"
"तै त आज बन्द गेरेछन,"
उस्ले भनी। अनी छोरीतिर हेर्दै भनी -"इ एस्को पनि स्कुल बन्द रे आज। एक्लै हुन्छे
घरमा। मैले त बिदा लिएँ सर आज कामबाट।"
"ठिकै गर्नुभयो," मैले भने।
"सरलाई हतार छैन भने एक कप चिया खाएर जानुभए नि भो नि," पार्वतीले भनिन। "म एक्कैछिन मा बनाइहाल्छु।"
म के भन्ने, के बाहना बनाउने
भनेर सोच्दै थे, उस्की छोरी तल आएर मेरो हात समाउँदै - "जाम अंकल" भनेर मलाई
तान्न थाली। म फुच्चीलाई पछ्याउँदै माथि कोठामा पुगेँ।
"तपाईं बस्दै गर्नोस म
चिया ले'र आइहाँले," भन्दै पार्वती भन्सातिर लागिन। सायद म बैठक कोठामा थिएँ होला
- कोठा चिटिक्क देखिन्थ्यो। एताउता आँखा डुँलाए - कोठामा भएका टिभी, दराज, सोफा, टेबल,
कुर्सी जम्मै ब्यबस्तित थिए। भित्तामा एउटा फोटो झुण्डीरा'थ्यो, माला लाएको फोटो।
'पक्कै पनि उस्को लोग्नेको होला,' मैले अड्कल काँटे। फुच्ची दौडेर आइ र मेरो छेउमा
बसी।
"मेरो त आज छुट्टी, मकै
भुट्टी," उस्ले कम्मर हल्लाउँदै भनी। "अंकलको स्कुल छुट्टी छैन?"
मलाई हाँस उठ्यो। मैले
"छैन त मेरो स्कुलमा त आज पनि पढाई हुन्छ," मैले भने।
"तिमी कती क्लास पुग्यौ?"
मैले सोधेँ।
"म यु के जि," उस्ले
गर्वसाथ भनी। "अनी अंकल कती क्लासमा पढीसिन्छ?"
"म त एल के जि,"
मैले हाँस्दै भने।
"उस उस उस," उस्ले
मुख बङ्याउदै भनी। म झसँग हुन्छु! ठीक त्यसैगरी आस्माले मेरो कुरा पत्याइनन भने भन्थिन
'उस उस उस।' म बोलिन।
"अनी अंकल ठुलो भएर के
बन्ने?" उस्ले सोधी।
"म?" एकछिन सोचेँ
- म अझै ठुलो हुन बाँकी छ त? अनी उस्लाई जिस्क्याँउदै भने - "म त फिलिमको हिरो
बन्ने।"
अघी जस्तै मुख बङ्याउदै उस्ले
भनी - "उस उस उस।" म फेरी झस्किन्छु। उ भन्दैहुन्छे - "हजुर त हिरोको
ड्याडी बन्नमात्र सुहाउँछ होला," उ हाँस्न थाल्छे। फेरी एक्कासी के सम्झेजस्तो
गरी भन्छे - "बरुभन्दा म चै भोलीपर्सी ठुलि भएर हिरोनी बन्छु अनी अंकल हिरोनीको
ड्याडी बनिस्यो!"
म बोल्न सकिन। "तिम्रो
नाम चै के हो नानु? What is your name?" मैले प्रसँग बद्ले।
उ सोफाबाट जुरुक्क उठी र ठिङग,
सतर्क मुद्रामा उभिएर भनी -" My name is Aditi Sharma. I read in UKG. My
mother's name is Parbati Sharma...."
अदिती? त्यो नाम त..... पार्वती
चिया लिएर भित्र पसिन। मेरो अगाडिको टेबलमा चिया राख्दै भनिन - "सरलाई" मैले
'Thank you' भने। उ हलुका हाँसी र भनी 'वेल्कम।'
चियाको बाफ फेरो नाकमा आएर
ठोक्कियो। त्यो बास्ना मैले चिनेको बास्ना थियो। कप उठाएर सुरुप्प पारेँ। त्यो स्वाद
मेरो जिब्रोले चाल पायो। मेरो जिब्रो सायद कोमामा थियो, आज ब्युझियो। म टोलाउन थालेँ।
"सरलाई चिनी पुग्यो पुगेन?"
म टोलाएको देखेर होला सायद पार्वतीले सोधिन।
"हैन हैन, ठीक्क छ,"
मैले भने। "मिठ्ठो छ।" फेरी एकछिन सुन्य भयो। अदितीको चियाको 'सुरुप' 'सुरुप'
कोठामा छरियो।
"अनी वहाँ चै...."
मैले भित्ताको फोटोतिर इसारा गर्दै सोधेँ। पार्वती अली मलिन भइन। एकछिन केही बोल्न
सकिनन। अनी एकछिनमा छोरीतिर हेर्दै भनिन - "छोरी, जाउ त तिम्रो भोलीको होमवर्क
गर। होमवर्क सकाएर हामी घुम्न जाने।"
अदितीका आँखा तेजिला भए। उ
जुरुक्क उठी र ममीतिर हेर्दै भनी - "काँ ममी? 'जु' जाम है!"
"हुन्छ, हुन्छ,"
पार्वतीले हाँस्दै भनिन। अदिती दौडेर अर्को कोठामा पसी। मैले सायद अदितीको अगाडि सोध्न
नहुने थियो। पैला नै भनीसके नि - म एस्ता कुरा जान्दिन! पार्वतीले आफ्नो श्रीमान बिहे
भा'को एकहप्ता नबित्दै अमेरिका गएको कुरो बताइन। पार्वतीलाई पनि उतै लाने बन्दोबस्त
गर्दैथिए रे। तर एकदिन उस्को श्रीमान कामगर्ने ठाउँमा केही लुटेराहरु घुसेर उ माथी
गोली चलाएछन! त्यस्को दुईहप्तामा उस्को लोग्ने एउटा बाकसमा अमेरिकाबाट नेपाल फेर्किएरे!
यि सब कुरो बताइसकेपछी पार्वतीलाई
सम्हालिन निक्कै समय लाग्यो। मेरो बारेमा पनि उस्ले अफिसका कर्मचारीहरुबाट सुनीसकेकी
रहिछिन। मलाई खान खाएर जाने आग्रह गरीन तर म बस्न सकिन! अनी उस्ले स्वस्थानीको ब्रत
बस्न लागेकी हुँदा भरे कथा सुन्न अनी खाना खान आउनु भनिन। मैले 'नाइ' भन्न सकिन।
बेलुका भयो। मन सारै दोधारमा
थियो। जान्न, जान्न भन्दाभन्दै खुट्टाले त्यतै हिडाएँ। मलाई देख्नासाथ अदिती दौडेर
मेरो हात समाउन आइन। उस्ले मलाई सोफामा राखेर दिनभरीको काहानी बताइन। टाइगर, एलीफेन्ट,
मङ्की, लायन आदी जम्मै भेटेर आ'की रे उस्ले 'जु' मा। उस्को बाल चन्चलता र बालहठ देखेर
म पुलकीत भएँ।
"मैले तिम्रो लागि के
ल्याको छु, एता आउ त," मैले अदितीलाई बोलाएँ। उ दौडेर आइ अनी दुबै हात अगाडि बडाउदै
भनी - "ल म आँखा चिम्म गर्छु, अनी मेरो हातमा राखीदिस्यो।"
मैले उस्को एउटा हातमा क्याड्बरी
र अर्को हातमा प्लास्टिकको बल राखीदिएँ। उस्ले आँखा खोली। उस्का आँखा प्रज्वलित भए।
'थ्यान्क्यु अंकल' भनेर बल उफार्दै उ बार्दलीतिर लागि। पार्वतीले स्वस्थानी किताब निकालिन।
हामी (म, र अदिती) पार्वतीको अगाडि ज्ञानी छात्र-छात्रा भएर पलेटी कसेर बस्यौँ। पार्वतीले
सुरुगरिन - "कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्थ्य मुनी..." स्वस्थानीको पहिलो
अध्याय सकेर पार्वती खाना पस्किन लागिन। धेरै पछी, धेरै पछी मेरो अगाडिका थालबटुका
यसरी ब्यबस्थित थिए…।
त्यसपछीका दिनहरुमा मलाई स्वस्थानी
सुन्ने लत लाग्यो! खैर, अरु नै पनि हुन सक्छ। म नआइ पार्वतीले स्वस्थानी सुरुगर्दिनथिन।
आज पनि म बेलुका पार्वती र अदितीलाई भेटेर आएको छु। आज उन्ले तीन अध्याय पढेर सुनाइन
- ६, ७ र ८ । छैठौँ अध्यायमा सतीदेवीले अग्नीकुण्डमा हामफालेर आत्मदाह गर्छिन। सतीदेवीका
पिता दक्ष्यप्रजापतीले आयोजन गरेको अस्वमेघ यज्ञमा महादेवलाई नडाकेर अपमान गरेको सतीदेवीले
सहन नसकी अनी आफ्नो पतीको अपमान सुन्न नसकेर यज्ञकुण्डमा होमिएकी हुन्छिन। सातौँ अध्यायमा
- महादेव को आदेशमा
वीरभद्र र महाकाली अनी समस्त शिवगण मिलेर दक्ष्यप्रजापतीको यज्ञमा धावा बोल्छन। त्राही
त्राही हुन्छ! यतीसम्म कि स्वयं बिष्णु पनि हार मानेर संग्रामभुमीबाट अन्तरध्यान भइ
बैकुण्ठ पुग्छन। दक्ष्यप्रजापतीको टाउको काटीइन्छ अनी पछी उस्की पत्नीले बिलौना गरेपछी
वीरभद्रले बोकाको टाउको हालिदिन्छन। त्यसै गरी आठौँ अध्यायमा कैलाश सुन्य गरेर गएकी
सतीलाई सम्झी महादेव जोर जोरले छाती ठोकीठोकी रुन्छन। सतीदेवीको मरेको शरीर लिएर चार
भुवन डुल्न थाल्छन - भौतारिदै! स्वस्थानी त पहिला-पहिला पनि पढेको हुँ, सुनेको हुँ
तर यो पाली बल्ल बुझेँ, बुझ्दैथिएँ। आज पनि अदिती र मैले ध्यान दिएर सुन्यौँ। पार्वती
पढ्दा-पढ्दै बिचबिचमा धेरै अड्किन तर फेरी कथालाई निरन्तरता दिइरहिन। कथा टुङिएन....
कथा सुनी सकेर म घर हिड्न भनेर
निस्केँ। भर्र्याङ्बाट ओर्लेर बाटोमा पुगेँ।
"केसु अंकल," माथिबाट
अदितीले बोलाइन। मैले फर्केर हेरेँ। पार्वतीले छोरीलाई कम्मरमा बोकेर मलाई नै हेर्दैथिइन।
त्यो हेराइले पुन: मलाई बिगतको याद दिलायो। मैले टोलाएर माथि हेरीरहेँ। अदिती ले आफ्ना
हत्केलामा चुप्पा गरिन र मतिर 'फु' गर्दै भनिन - "ह्यापी भ्यालेन्टाइन्स डे, केसु
अंकल!"
मेरा आँखा रसाए। एकनास बार्दलीमा
हेरीरहेँ र तेसै गरी 'फु' गर्दै भने - "तिमिलाई पनि, तिमीलाई पनि!"
इतीश्री!
सुरेश 'समान'
Happy Valentines Day Everyone. Here's one of my favorite song: Mero Saathi haruko maajh.