"अनी के छ त भ्यालेन्टाइन्स डे को प्लान केसु?"
"प्लान? नो प्लान!" मैले खाटभरी असरल्ल छरिएका कागजपत्र,
पुर्जी, बिल समेट्दै भने।
"उस उस! तपाईंको प्लान नहुने! लु पत्याएँ!" आस्माले पत्याइनन्।
"छैन त के भन्ने?" मैले भने। मेरो ध्यान एउटा पुर्जीमा थियो।
"उस उस उस," आस्माले फेरी पत्याइनन्।
"हो भन्या, सत्ते," मैले उ तिर फर्केर किल्किले समाउँदै प्रमाण जुटाउन खोजे।
"उस, उस, उस,"
"छ प्लान ल, दरो प्लान छ। खुशी?," अल्ली कड्केर हेर्दै मैले भने।
"के प्लान छ, हामी पनि सुनम न त," लेग्रो तानेर सोध्छे आस्मा।
"डेटिङ जाने प्लान छ नि एउटी च्वाँकसँग," मैले आँखा सन्काउदै भने।
"उस उस उस"
"छैन भन्दा नि तिम्रो उस उस.... छ भन्दा नि उस उस? अरु केही भन्न आउँदैन?" म चर्किएँ। उस्को सेतो अनुहार पहिला कालो
भयो अनी निलो भयो। आस्मा उठेर
हिँडीन। मैले वास्ता गरिन।
एकछिन
पछी आस्मा चिया लिएर भित्र पसीन । यो उस्को पहिले देखीको बानी हो। मसँग रिसाइ भने उ
चिया बनाउथी दुवैलाई। भन्थी - "रिसाएर केही हुँदैँन, यो गुलियो चिया खाएर दुवैको
मनको तितोपन पखाल्नु पर्छ।" मेरो रिस चियाको प्रतेक चुस्कीसङै क्रमस धमिलिदै जान्थ्यो
अनी मन मिठिदै। उस्को अनुहारमा पनि मिठास छाँउथ्यो, मिठ्ठो चिया जस्तै। हुन त म नै
उस्तो हुँ। आमाले त उहिलेदेखी नै भन्नुहुन्थ्यो 'नाकका टुप्पामा छन तेरा रिस।' फेरी
एकैछिनमा आस्मासँगको रिस आफुतिर सर्छ। आफु फोकटमा रिसाएकोमा आँफैसँग रिस उठ्छ अनी बिस्तारै
सेलाउँदै जान्छ - आस्माको चिया जस्तै। उस्लाई फकाउन म प्राय पुराना कलेजका दिनहरु कोट्याउने
गर्छु अनी आँफै पनि टोलाउन थाल्छु। उ ध्यानमग्न भएर सुनिराख्छे। छिट्टै फकिन्छे मेरी
बुढी। लाग्छ उ स्वस्थानीको अगस्थ मुनी हो र म महादेव र सतीदेवीको प्रेमगाथा बाचन गर्दैछु
स्कन्द कुमारजी भएर। उ नै मेरो पहिलो माया हो। पहिले माया हार्ने आँट कसको हुन्छ र!
उ बेला आस्माको मामालाई नमस्कार ठोकियो, उसका साथीको ट्याम्फु भाँडा तिरियो। कलेजका
बाटा फेरिए। दौंतरीका - 'क्या दोस्त! लड्की मिल गै, दोस्त भुल गै'- गुनासा खेपिए। अनेक
तान बुनियो। म माया जित्ने दौडमा थिए, जिते। त्यो बेला ऐलेजस्तो फेसबुक, ट्वीटर, स्काइप
केही थिएन। ऐले जस्तो इन्टर्नेटमा प्रेम कम, बिज्ञापन बढी देखिने ढर्रा फोटाहरु राखिन्नथे।
फोटो राख्नै परे'नी पर्सको कुनोतिर राख्थे- मैले जस्तो! जे होस् गर्व लाग्छ-अरुका जस्तै मेरी बुढी
आजसम्म रिसाएर माइत गएकी छैन। वास्तबमै उ पानी हो, मैले जस्तोसुकै आकार लिए पनि उ त्यतै
प्रकार लिन सक्छे। हुन त उस्ले मुखै फोरेर त भनेकी थीइन तर आस्माका नजानिदा इसाराहरुले
मलाई हौस्याएका थिए उबेला। सधैं 'केसब' भन्नेले एकदिन 'केसु' भनिन पहिलोपल्ट। उनले
लजाएर स्विकारीन। म पास भएँ। त्यो दिन भ्यालेन्टाइन्स डे थियो।