Saturday, January 18, 2014

सुत्रकथा (हरु)

लात..
उस्ले सुलेखालाई जोडले लात हान्यो, पेटमा । सुलेखा हलुका चल्मलाइन्, पेट सुम्सुम्याइन् । चुप लागेर बसिन्, कसैलाई भनिनन् । तर फेरी यस्तो भयो भने उस्ले भन्नै पर्छ । त्यतिकैमा फेरी अर्को लात आयो पेटमा - अझ जोडले । 'ठुलो भएर यो फुट्बल खेलाडी हुनेछ,' सुलेखाले पुक्क उठेको पेट फेरी सुम्सुम्याउँदै अनी मुस्कुराउँदै श्रीमानलाई भनिन्।

केही त गर्नै पर्‍यो..
म बसेँ । बसेर जिन्दगीको लेखाजोखा गर्न थालेँ । खाली भित्ताहरुमा आँखाहरु टोलाउँदथे । 'हैन, केही त गर्नै पर्‍यो, यसरी झोले भएर कती बाँच्नु ?,' आँफैले आँफैलाई सम्झाउँदथे । अनी निस्चय गरेँ जिन्दगीमा 'केही' गर्ने । सारा शरीर हलुको भयो । करिब २५ मिनेट बसेँ होला म । त्यस्पछी ट्वाइलेट फ्लस गरेँ अनी निस्केँ ।

डलर...
'अनी कैले आउछस् यार नेपाल?'उताबाट मित्रले सोध्यो । 'देशको लागि नि केही गर्नु पर्‍यो नि । कती डलरमात्र छाप्छस् !' आजकाल म यस्तो 'कैले आउँछस्?' प्रश्नहरुको जवाफमा मुस्कुराइ मात्र दिन्छु । आज पनि फिस्स हाँसे । 'अनी तेरो केहुँदैछ सुना,' मैले सोधेँ ।
'के हुनु यार यस्तै छ,' उस्लेअली निरास हुँदै भन्यो । 'अघिल्लो बर्ष रिजेक्ट भयो, अब टुरिस्ट् भिसा एप्लाई गर्दैछु।' 

Wednesday, January 15, 2014

मनै त हो..

झरना, खोला, कन्दराको डोबहरु पछ्याउँछ यो
मनै हो कैले खुशी कैले चोट बल्झाउँछ यो
बाहिर बादल लाग्दा पनि भित्र शितल मनै हो
हँसाइदिन्छ, रुवाइदिन्छ के के मात्र गराउँछ यो ।।

एकछिन खाली बस्दैन यो बालख हो, नानी हो यो
मनै हो कैले ढुङ्गो, कैले तरल पानी हो यो
बैगुनीलाई गुनले मार्ने फराकिलो मनै हो
माया लाउँछ, मन पराउँछ- राजा हो यो रानी हो यो ।।