तिहारको माहोल । गाउँघर तिर मादलमा खरी भरिदै होलान् या खैजडी बजाउँदै होलान्। 'नारायन, हरी हरी!'
दसैंतिहारका ति रङ्गिन क्षणहरु आज श्यामस्वेतमा सम्झदैँछु । द्रिस्यहरु झिरझिर गर्दै आए पनि मेरो मनको एन्टिना पुर्वतिरै सोझिएको छ । हिजो पकाएका सेलरोटी आज तातो कित्लीबाट बाफिदै निस्केको चियामा चोबेर खानजती मजा आँउछ मलाई ति दिनहरु सम्झिदा आज त्यस्तै रमाइलो लाग्दैछ । जिन्दगी आखिर बासी सेलरोटी नै त भो! उभ्रेको सेल।
के केटाकेटी, के तन्नेरी, केबुढाबुढी सबैजना बिहान नछिप्पिदै उठ्थे । कोही ढिकि कुट्न पुग्थे, कोही दैनिक उपक्रम बिसाएर चिया पसलमा गफिदै हुन्थे । हामी केटाकेटी फलामको बन्दुकमा रातो कागजको पत्तीवाला गोली भर्न ब्यस्त हुन्थ्यौँ । मलाई याद छ, बिम्लीका दाईले थुप्रै आलुबम, चक्लेट् बम,डबलबम, झिर्झिरे, फुल्झडी, चक्रबम, बिडीबम आदी आफ्नो पसलमा राखेका हुन्थे । एक्पल्ट म आँफै पनि जोगबनी पुगेको थिएँ । 'होमलाइट्' सलाई देखी दम दिने स्टोभ् सम्म उतै बाट आउँथ्यो । मेरो ध्याउन्न चै पटकामा हुन्थ्यो । कैलेकाहीँ बिम्लीको पसलमा जाँदा बिम्लीउस्का साथीहरु - चम्पा, इन्दु, मेनुका अनी राधिकेसँग एककुनामा बसेर सयपत्री, मख्मली अनी बत्तुका माला गाँस्दै हुन्थी । उस्को पसलमा गाँसेका माला पनि बेचिन्थ्यो । म पुग्नासाथ मलाई माला लगाउन खोज्थी । भन्थी -'ओइ गोकुले, यो माला कत्रो भएछ खै यता आ'त नापुँ।'
म आनाकानी गर्थेँ । अनी अरु केटीहरु मसिनो खित्का छाड्दै भन्थे - 'गोकुलेलाई त तेरो हातको धुपीको माला मात्र मनपर्छ होला । यो सयपत्री के लाउँथ्यो!'
'चुपलाग चेपारेहरु,' म झर्किन्थेँ। अब अहिले त ति सबै 'चेपारे' हरुले आ-आफ्नै छेपारेहरु भेटीसके । सबैको बिहे भइसक्यो। छुच्चीहरुले बोलाउँदा पनि बोलाएनन्।
पढ्न भनेर काठमाडौं गएकाहरु भट्टाभटी फर्किदै हुन्थे । नाइट बसहरु सबेरै 'घ्याँच्च-घ्याँच्च' रोक्यो भने थाहा हुन्थ्यो कि पक्कै कोही आयो । आँखा मिच्दै म बाटोतिर हेर्थें । एकदिन देबेन्द्रेको दाईले फुइँलायो - 'म त भिडियो कोच् बसमा आ'को ।' धेरै पछी म काठमाडौं जाँदा पछी बल्ल था पाएँयो भिडियो कोच भनेको के हो । तर म चढेको भिडियो कोचमा भिडियो राख्ने ठाउँमा सिरक कोचेको थियो । हिस्स बुढी हरिया दाँत!
'ला यो पैसा,' बाले हातमा रु.१०० हातमा राखिदिनु भयो लक्ष्मी पूजाको बिहानै । 'दिदीलाई भाईटिकामा दिएस् ।'
मेरो बिहान झिलिमिली भयो ।आमाले केही दिन अघी बजारबाट जे भा'का मसला लिएर आउनु भा'थ्यो । हामीले चोरेर खान्छौँ भनेर लुकाएर राख्नुभा'थो ति छोगडा, काजु, किस्मिस आदी । पत्रे, खजुरी, सेल, अर्सा,अनर्सा, ठेकुवा आदी त घरमा जती भए पनि थियो । दिदिले एक हप्ता अघी पान दिदैँ भनेकीथी-'ल भाईटिकाको निम्तो तलाईं ।' मैले पान चपाएर पिच्च थुक्दै भनेको थिएँ - 'ल ल आइदिउँला।' मैले गोद्रेजमा नयाँ रुमालहरु पनि देखेको थिएँ । मलाई थाहा थियो त्यो मैले पनि पाउनेवालाछु भाईटिकामा । तीनबाट कपुरका बास्ना मगमग आउँथे । तर मलाई टेन्सन् थियो । दिदिले तमलाई रुमाल अनी मिठोमिठो खान दिन्छे, मैले के दिने? तर जब बाले पैसा दिनुभयो मेरो मनफुरुङ्ग भयो । टेन्सन् साफ ।
बिहान गाई पूजा गरियो । गाई तिहारको दिन गाईको टाँङ मुनीबाट छिर्न सक्नेलाई भाग्यमानी मानिन्छ । हामी फुलको थुङ्गा सिम्रिकमा चोबेर गाईको जिउभरी थप्थपाउँथ्यौँ । गौ माता खुशी भएर पुच्छर हल्लाउनु हुन्थ्यो। अनी हामी सजिलै टाँङ् मुनीबाट स्वाट्ट छिर्थ्यौँ । 'म भाग्यमानी,' म चिच्याउँथे ।तर त्यसदिन दिउँसो मलाई लोध्दर लाग्यो । तासमा नराम्रो हारियो । बज्याहरुले पछी दिन्छु भन्दा पनि मानेनन् । 'काँ सोल्टी, लक्ष्मीपुजाको दिन पनि बाँकी?,'
बाले दिएको १०० रुपयाँ चेट्। हिजो अस्ती पाला, मैनबत्ती आदी किनेर उभ्रेको पैसा मैले आँफैसँग राखेको थिएँ । त्यो पनि स्वाहा.. अब फेरी टेन्सन् । घरमा भन्यो भने भेटिएला चाँदे भनेर चुप बसें । मलाई जसरी हुन्छ पैसा खोज्नु थियो । मनमनै लक्ष्मी मातालाई गुहारेँ । अब मसँग एउटै उपाय थियो। देउसी खेल्ने अनी पैसा उठाउने । रघु, गिरीधर, गोबिन्दे र म । चारजानाको एउटा टोलीबन्यो । दरो भट्याइयो । रातभर । हामीलाई फुच्चे देखेर होला कोही चारआना, आठआना बार्दलीबाट हुर्याइदिन्थे त कोही जती भट्याए पनि मर्दा उठ्ने हैन । गोबिन्दे बिडीबम बालेर हुर्याइदिन्थ्यो त्यस्ताकामा । दुईदिन, दुई रात पुरै देउसी खेलियो । हातलाग्यो जम्मा २० रुपयाँ भागमा। त्यो पनि रघुले कैलेको तासमा लागेको भनेर लग्यो। 'साले तिहारमा दिन्छु भनेको थिस्हैन?,' थर्कायो । अब भो त! म पनि के कम । घम्साघम्सी नै पर्यो । साले गोबिन्दे र गिरिधरेले पनि उस्कै साइड लिए । म भागेँ।
भाईटिकाको दिन आयो । हामी चारैजना जम्मा भयौँ । दिदिले एकै पल्टमा सिलौटोले ओखर फोरी । दुबो तेलमा चोबेर हामीबसेको वरिपरी घेरा हाली । अङ्खराबाट पानी चुहाउँदै वरीपरी परीक्रमा गरी । सप्तरङ्गीटिका निधारमा लगाइदिइ । अनी खानाखजाना हातहातमा थमाइदिइ । बा-आमा यो सब निकै मख्ख परेरहेर्दै हुनुन्थ्यो । हामी दाजुभाइले पनि दिदीलाई टिका लाइदियौँ । अब पालो आयो दिदीलाईकेही दिने । मैले गोजीबाट बिस्तारै खाम निकालेर खुट्टा ढोगेँ । त्यस्पछी सबै खान थाल्यौँ। आमाले मामाहरुलाई टिका लगाइदिन थाल्नुभयो । यही मौका छोपेर मैले दिदीलाई सुटुक्क भनेँ - 'कसैलाई नभन है, मेरो खाम भोली पर्सीतिर मात्र खोल्नु ।' दिदीले केही नबुझेको तालमा मलाई हेरी अनी टाउको हलाउँदै 'हुन्छ' भनी । मेरो शरीर हलम भो ।
---
लड्दैपड्दै आएका हामी, भनेझैँ जिन्दगीको रातो माटो चिप्लोबाटोमा बल्ड्याङ्ग्रिदै बल्ड्याङ्ग्रिदै धेरै पर पुगिएछ। घर भन्दा पर, देश भन्दा परको देश, परदेश । घरपरिवारसँग मनाउन नसकेपनी, मिलेसम्म साथीभाइ भेला भएर पकाइन्छ, खाइन्छ, तास खेलिन्छ, दसैं जस्तै दसैं मनाइन्छ, तिहार जस्तै तिहार। मलाई विश्वाश छ एकदिन अवस्य आउनेछ, जब फेरी म भट्याउँदै हुनेछु अनी रघु, गिरीधर,गोबिन्दे चिच्याउँदै हुनेछन् - 'देउसिरे!'
हिजो कामबाट फर्केर घरपुग्दाएउटा चिठ्ठी मेरो नाममा आएको देखेँ । खोलेर हेरेँ । त्यही खाम, त्यही कागज, अनी त्यही मेरा अक्षर । लेखियो थियो –
'दिदी मैले सबै पैसा हारेँतासमा । अब ठुलो भए पछी म पनि काठमाडौं जान्छु अनी फर्केर आउँदा तलाईँ म के के ल्याइदिन्छु है । बालाई नभन नि फेरी ।'
खाम भित्र एउटा रुमाल पनि थियो। कपुर बासना मेरो नाकमा ठोक्किए । त्यो चिठ्ठी पछाडी पनि केही लेखिएको रहेछ -
'भाइ, तँ ठुलो भइनस्?'
इतिश्री!
- सुरेश 'समान'
(यो कथा काल्पनिक हो । कसैको वास्तविक जीवनसँग मेल खान गएमा जाओस् :) शुभ दिपावली!