Friday, February 27, 2015

कथा: सर्वे भवन्तु सुखिनः


भाग १ - बसन्त: ‘सुटुक्क छुट्याएर राखेको अलिकती जेरी!’
'थाह छ आज मैले के बनाएँ ?... जेरी । तिमिलाई मनपर्छ भनेर अलिकती सुटुक्क छुट्याएर राखेकी छु । पहिलो पल्ट try गरेको बनाउन खै कस्तो भयो कुन्नी ! नेपालमा पाइने जस्तो perfect त भा छैन, बाङ्गोटिङ्गो भयो । तिमी चाख अनी भन है । मनपर्‍यो भने अझै बनाउनेछु । अँ साची, स्वारी पनि बनाउनु पर्ला है? के भन्छौ? हो, ल जेरी-स्वारी हाम्रो भोलीको ब्रेकफास्ट् । के भन्छौ ? बरु चिया चै तिमीले बनाउछौ कि ? अँsss... ल मलाई उता किचेनमा साथीहरुले बोलाए, म गएँ है... काममा होलाउ, मेसेज् पाए पछी कलब्याक् गर न है... ए अनी मैले जेरीको फोटो पठाएको थिएँ नि, पायौ? मिठो होला जस्तो देखिदैन त? के भन्छौ? anyways, ल राखेँ है, कल गर, बाइ!'

कामबाट निस्केर सम्झनाको भोइस् मेसेज् सुने । फोटो हेरेँ । जेरीको फोटो देखेर मुख रसायो । मेसेज् टाइप् गरेर पठाएँ - 'yum! ghar aaudai chu' / मलाई थाहा छ अब घर गएर मैले जेरी चाख्नु छ अनी उस्का अनेकन प्रश्नको उत्तर दिनु छ । पहिले त उस्ले यो जेरी बनाउने काइदाको बिचार कसरी दिमागमा आयो त्यो बताउनेछे । अनी त्यस्पछी मैले जेरी समिक्षक बन्नुपर्नेछ - 'के भन्छौ?', 'चिनी पुग्या छ?', 'अली बाक्लो त भएन?', 'तेल नि?', 'छी: नै त भा'छैन नि?', 'पाकेको छ नि है पाक्न त?', 'मिठो लागो?', 'अझ थप्छु है?' , 'के भन्छौ?' आदी इत्यादी । उस्को यो 'के भन्छौ?' भन्ने बानीले गर्दा म धेरै बोल्नु नपर्ने मान्छे पनि आजकल के भन्छु के । उस्को स्वरमा उम्रेका खुशीमय भावभङ्गीका उतारचडाव सुन्दा यस्तो लाग्छ कि उ एक ४-५ बर्षे केटाकेटी हो अनी उ मलाई आफ्नो नयाँ गूडिया देखाउन आतुर छे र तोते लयमा लाडिदै भन्दैछे - 'तिमीलाई मेलो गूदिया कत्तो लागो बतन्त? हामी भालाकुती खेलौँ ल बतन्त, तिमी ल म मात्ल ।'