भाग १ - बसन्त: ‘सुटुक्क छुट्याएर राखेको अलिकती जेरी!’
'थाह छ आज मैले के बनाएँ
?... जेरी । तिमिलाई मनपर्छ भनेर अलिकती सुटुक्क छुट्याएर राखेकी छु । पहिलो पल्ट
try गरेको बनाउन खै कस्तो भयो कुन्नी ! नेपालमा पाइने जस्तो perfect त भा छैन, बाङ्गोटिङ्गो
भयो । तिमी चाख अनी भन है । मनपर्यो भने अझै बनाउनेछु । अँ साची, स्वारी पनि बनाउनु
पर्ला है? के भन्छौ? हो, ल जेरी-स्वारी हाम्रो भोलीको ब्रेकफास्ट् । के भन्छौ ? बरु
चिया चै तिमीले बनाउछौ कि ? अँsss... ल मलाई उता किचेनमा साथीहरुले बोलाए, म गएँ है...
काममा होलाउ, मेसेज् पाए पछी कलब्याक् गर न है... ए अनी मैले जेरीको फोटो पठाएको थिएँ
नि, पायौ? मिठो होला जस्तो देखिदैन त? के भन्छौ? anyways, ल राखेँ है, कल गर, बाइ!'
कामबाट निस्केर सम्झनाको
भोइस् मेसेज् सुने । फोटो हेरेँ । जेरीको फोटो देखेर मुख रसायो । मेसेज् टाइप् गरेर
पठाएँ - 'yum! ghar aaudai chu' / मलाई थाहा छ अब घर गएर मैले जेरी चाख्नु छ अनी उस्का
अनेकन प्रश्नको उत्तर दिनु छ । पहिले त उस्ले यो जेरी बनाउने काइदाको बिचार कसरी दिमागमा
आयो त्यो बताउनेछे । अनी त्यस्पछी मैले जेरी समिक्षक बन्नुपर्नेछ - 'के भन्छौ?', 'चिनी
पुग्या छ?', 'अली बाक्लो त भएन?', 'तेल नि?', 'छी: नै त भा'छैन नि?', 'पाकेको छ नि
है पाक्न त?', 'मिठो लागो?', 'अझ थप्छु है?' , 'के भन्छौ?' आदी इत्यादी । उस्को यो
'के भन्छौ?' भन्ने बानीले गर्दा म धेरै बोल्नु नपर्ने मान्छे पनि आजकल के भन्छु के
। उस्को स्वरमा उम्रेका खुशीमय भावभङ्गीका उतारचडाव सुन्दा यस्तो लाग्छ कि उ एक ४-५
बर्षे केटाकेटी हो अनी उ मलाई आफ्नो नयाँ गूडिया देखाउन आतुर छे र तोते लयमा लाडिदै
भन्दैछे - 'तिमीलाई मेलो गूदिया कत्तो लागो बतन्त? हामी भालाकुती खेलौँ ल बतन्त, तिमी
ल म मात्ल ।'
जे परीकार बनाए पनि सम्झनाले
मलाई भनेर 'अलिकती सुटुक्क छुट्याएर राखेकी' हुन्छे । फेरी साथी बनाउन कती छिटो जानेकी
हो त्यस्ले । म यहाँ बसेको यतिका बर्ष भो र त साथीहरु गन्ने हो भने दुई हातका औंला
धेर हुन्छन् । हदै भए ३ महिना भयो होला उ आएकी, वरीपरी डेरा गरी बस्ने जम्मैसँग चिनजान
गरीसकी । ति मध्ये कोही नेपाली, कोही भारतीय, कोही अफ्रिकी त कोही अमेरिकि - अच्चम
छ! उस्को कलेज सुरुहुन अर्को ४ महिना कुर्न पर्ने भयो । त्यतिन्जेल सम्म उ आफ्ना नयाँ-नयाँ साथिहरु मिलेर कैले कुन
देशको, कैले कुन देशको परिकार बनाउँछन् । एकदिन सम्झनाले एउटा मानचित्र देखाउँदै भनेकीथी
- 'यो वोर्ल्ड म्याप हेर त बसन्त । के भन्छौ? मैले बनाएकी । फ्रेम गरेर राख्नुपर्ला
। अरु पनि बनाएकीछु । ति चै म मेरा साथीहरुलाई उपहार दिने बिचारमा छु । के भन्छौ?’
मैले हाँसेर 'हुन्छ' भनिदिएँ । त्यो हाम्रो बेडरुमको एक भित्तामा झुन्डिएकोछ ।
आज उ बिशेष खुशी छे र
म पनि मुडमा छु । बिगत केही हप्ता भयो सम्झना र मेरो राम्रोसँग भेटघाट, कुराकानी नभएको
। यो ट्याक्स् सिजनले गर्दा दिनको १२ घण्टा जती त अफिसमै बित्छ । कैले फलानो क्लाइन्ट्
भेट्न जाउ, कैले डिस्कानोको अफिसमा मिटिङ्मा बस । कैले को सँग ड्रिन्क्स् गर कैले को
सँग । वाक्-वाकी छादेर हिंड्नु जस्तो पार्छ कैलेकाहीँ त । तर आजबाट त्यो सब कामको धपेडी
कम भएको थियो । बल्लबल्ल सास् फेर्न पाएको खुशीमा म दङ्दास भएर गाडी चलाऊँदै थिएँ ।
त्यतिकैमा फोन् बज्यो । मलाई थाहा छ मलाई छुट्याएर राखेको जेरी त सेलाइ सक्यो होला
तर सम्झना तात्ने वाली छे।
क्रमस...