Saturday, July 21, 2012

|| चेरी फुल्दा परदेशमा ||


मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन होला
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन होला
उस्तै छ कि परीबेश, बद्लिसक्यो मित्र ?
ट्युसन, क्याम्पस, स्कुलतिर ठिटाठिटी धाउँछन होला ।।

यादै होला तिमीलाई पनि नहरमा पौडिएको
२-४ रुपँया भेलापारी फिलिम हेर्न दौडिएको
चल्दैछ कि हाम्रो साइकल, थोत्री सक्यो मित्र ?
भुराभुरी दसैंतिहार नयाँ नाना लाउँछन होला ।।
मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन होला .....
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन होला ……

चिचिला ति आँप चोरी सानो छदाँ खान्थे म नि
हिलोमैलो पोखरिमा माछा मार्न जान्थे म नि
अझै छन कि ढालीसके बुढो पिपल मित्र ?
युगल जोडी पिपलफेद प्रेमभाका गाउँछन होला ।।
मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन होला .....
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन होला ……..

लगाइ टिका, कुर्तासुरुवाल बार्दलिमा आउनेगर्थिन
आँखा जुध्थे, मुस्कुराँउथे - गीत मिठो गाउनेगर्थिन
याद छ कि बिर्सिनअरे ति दिन उन्ले मित्र ?
पहिले जस्तै दाइने हुँदै चन्द्र-सुर्य छाँउछन होला
मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन होला .....
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन होला ……..

कोशी तर्दा मेरो नाममा २-४ सिक्का चढाइदिनु
बाराहीको मन्दिरैमा दुई हात ढोग बढाइदिनु
पुरानै छन ति मन्दिर कि रङ्ग्याइसके मित्र ?
किर्तन, भजन भक्तजनले सुन्न- भज्न पाउँछ्न होला ।।
मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन होला .....
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन होला ……..

आमा-बा भेट्न गए सञ्चै छ रे, सुनाइदिनु
आँखा भरी आँसु पार्लान सम्झाइदिनु बुझाइदिनु
दिदी आस गर्दैछिन कि छोडिसकिन मित्र ?
'कैले आउँछ प्यारो भाई' प्रश्न मनमा छाउँछन होला ।।
मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन होला .....
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन होला ……..

चेरी फुल्दा परदेशमा, आफ्नो गाउँ सम्झिदै छु
नासपाती र आरु फुल्ने आफ्नो ठाउँ सम्झिदै छु   
कस्तो छ त खेतीबाली, असारपन्द्र मित्र ?
धान, गहुँ, मकै, आलु किसानले लाउँछ्न होला ।।
मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन होला .....
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन होला ……..

एस. एन.