बसन्त मलाई धेरै फोन गर्नु परेकोमा रिसले मुर्मुरिएको थियो। म बसन्तले धेरै फोन गरेकोले झोँकमा थिएँ। काठमाडौंको ब्यस्तता, भिँड, जाम आदीलाई चिर्दै म धुलिखेल पुग्दा साँझले बिदा मागीसकेको थियो।
बसन्त मेरो मिल्ने साथी, लङ्गौटिया। उ बालख देखी नै पढाईमा तगडा। सरहरुको भाषामा भन्नुपर्दा 'दिमाग भा'को' छात्र थियो। तर त्यो बेला उस्को घरको आर्थिक स्तिथी अली कम्जोर थियो। मेरो ठ्याक्कै उल्टो, पढाईमा लद्दु। फेरी पनि सरहरुकै भाषामा भन्नुपर्दा 'दिमागमा गोबर भा'को' छात्र थिएँ। मेरो घरमा आएर मलाई पढाउने, मेरो होम्वर्क आदी उसैले गरिदिन्थ्यो। ड्याड-ममीले बसन्त र म मा कुनै फरक देख्नुभएन। एकदिन बसन्तको बाबालाई मेरो ड्याडीले घरमा बोलाएर भन्नुभयो - 'आजबाट यो बसन्तेलाई पढाउने जिम्मा मैले लिएँ।' त्यस्पछी त मेरो सत्र पल्टियो। म भिडियो गेम, फोन, च्याट मा ब्यस्त। बसन्ते होमवर्कमा। बसन्तेको सँगतले म मा पनि पढ्ने बानी बस्छ भनेर होला सायद ड्याडले बसन्तेको जिम्मा लिनु भा'को तर त्यसो भएन। मेरो र बसन्तेको रिजल्ट जस्ताको त्यस्तै नै रह्यो। म जहिल्यै जस्ट पास। उ जहिल्यै स्कुल टपर।
'घिउ जस्तो कमलो छ बसन्ते,' एकदिन मेरी ममीले उस्को कपाल सुम्सुम्याउँदै भन्नुभा'थ्यो। अनी म चैँ दाउरा जस्तो अररो छु रे। त्यो दिन देखी बसन्तेले मेरो नयाँ नामको न्वारान गर्यो - दाउरे। मैले पनि उस्लाई 'डाल्डा' भनेर बोलाउन थालेँ। 'ओ डाल्डा घिउ,' म छिन्छीन्मा जिस्क्याइदिन्थेँ। अनी उ उम्लिन्थ्यो र भन्थ्यो 'दाउरे'। घरमा मेरो भन्दा बढी विश्वाश उसैको गर्थे। 'उ बसन्तेलाई हेर......' उदाहरण उस्कै दिन्थे। उही काम बसन्तेले गर्यो भने ठीक, मैले गरेँ भने बेठिक। उस्लाई केटीहरुले फोन गरे भने हिसाब सिक्न गरेका। मलाई गरे भने छिल्लिन गरेका हुन्थ्यो। हुन पनि बसन्ते मोरो हिसाब नै सिकाउँथ्यो फोनमा। 'बाउको उमेर मानौँ x अनी छोराको उमेर मानौँ y छ....,' भन्दै फोनबाटै बाउछोराको उमेर पत्ता लाईदिन्थ्यो बसन्ते। पछीपछी त मैले नि फोन गर्दा हिसाब कापी पल्टाउँदै कुरो गर्न सिकेँ। म चै छोरीको उमेर पत्ता लाउने दाउमा हुन्थेँ।