Thursday, May 30, 2013

साथी..

1.
बसन्त मलाई धेरै फोन गर्नु परेकोमा रिसले मुर्मुरिएको थियो। म बसन्तले धेरै फोन गरेकोले झोँकमा थिएँ। काठमाडौंको ब्यस्तता, भिँड, जाम आदीलाई चिर्दै म धुलिखेल पुग्दा साँझले बिदा मागीसकेको थियो।
बसन्त मेरो मिल्ने साथी, लङ्गौटिया। उ बालख देखी नै पढाईमा तगडा। सरहरुको भाषामा भन्नुपर्दा 'दिमाग भा'को' छात्र थियो। तर त्यो बेला उस्को घरको आर्थिक स्तिथी अली कम्जोर थियो। मेरो ठ्याक्कै उल्टो, पढाईमा लद्दु। फेरी पनि सरहरुकै भाषामा भन्नुपर्दा 'दिमागमा गोबर भा'को' छात्र थिएँ। मेरो घरमा आएर मलाई पढाउने, मेरो होम्वर्क आदी उसैले गरिदिन्थ्यो। ड्याड-ममीले बसन्त र म मा कुनै फरक देख्नुभएन। एकदिन बसन्तको बाबालाई मेरो ड्याडीले घरमा बोलाएर भन्नुभयो - 'आजबाट यो बसन्तेलाई पढाउने जिम्मा मैले लिएँ।' त्यस्पछी त मेरो सत्र पल्टियो। म भिडियो गेम, फोन, च्याट मा ब्यस्त। बसन्ते होमवर्कमा। बसन्तेको सँगतले म मा पनि पढ्ने बानी बस्छ भनेर होला सायद ड्याडले बसन्तेको जिम्मा लिनु भा'को तर त्यसो भएन। मेरो र बसन्तेको रिजल्ट जस्ताको त्यस्तै नै रह्यो। म जहिल्यै जस्ट पास। उ जहिल्यै स्कुल टपर।  
'घिउ जस्तो कमलो छ बसन्ते,' एकदिन मेरी ममीले उस्को कपाल सुम्सुम्याउँदै भन्नुभा'थ्यो। अनी म चैँ दाउरा जस्तो अररो छु रे। त्यो दिन देखी बसन्तेले मेरो नयाँ नामको न्वारान गर्‍यो - दाउरे। मैले पनि उस्लाई 'डाल्डा' भनेर बोलाउन थालेँ। 'ओ डाल्डा घिउ,' म छिन्छीन्मा जिस्क्याइदिन्थेँ। अनी उ उम्लिन्थ्यो र भन्थ्यो 'दाउरे'। घरमा मेरो भन्दा बढी विश्वाश उसैको गर्थे। 'उ बसन्तेलाई हेर......' उदाहरण उस्कै दिन्थे। उही काम बसन्तेले गर्‍यो भने ठीक, मैले गरेँ भने बेठिक। उस्लाई केटीहरुले फोन गरे भने हिसाब सिक्न गरेका। मलाई गरे भने छिल्लिन गरेका हुन्थ्यो। हुन पनि बसन्ते मोरो हिसाब नै सिकाउँथ्यो फोनमा। 'बाउको उमेर मानौँ x अनी छोराको उमेर मानौँ y छ....,' भन्दै फोनबाटै बाउछोराको उमेर पत्ता लाईदिन्थ्यो बसन्ते। पछीपछी त मैले नि फोन गर्दा हिसाब कापी पल्टाउँदै कुरो गर्न सिकेँ। म चै छोरीको उमेर पत्ता लाउने दाउमा हुन्थेँ।  

बसन्तेले मेरो लागि ड्याडसँग 'किताब किन्न,' भनेर धेरै पैसा माग्यो। त्यो पैसाले धेरै केटीहरुले चट्पटे र पानीपुरी खाए। 'अंकललाई भनिदिन्छु,' भनेर धम्की पनि दिन्थ्यो। तर 'यो लास्ट क्या, प्लिज,' भनेर अनेकौँ पटक मैले उस्को नाममा मस्ती गरी नै रहेँ। कहिलेकाहीँ राती घर आउन अबेर भयो भने 'बसन्तेसँग छु,' भनेपछी घरमा ढुक्क हुन्थे। अहिले पनि कुरैकुरामा यि कुरा निस्केभने म उस्लाई जिस्क्याउँछु 'लास्ट क्या डाल्डा, लास्ट।' अनी उ मलाई घुरेर हेर्छ, लामो सास फ्याँक्छ र भन्छ 'साले दाउरे।'  
पछी प्रोफेसर भयो। काठमाडौं युनिभर्सिटीमा पढाउन थाल्यो। ड्याडको बिज्नेस हेर्नथालेँ। बिज्नेसको सिलसिलामा बेङ्कक्, सिङ्गापुर, इण्डिया ओहोरदोहोर निक्कै गर्नुपर्थ्यो। हाम्रो भेट पातलिदैँ गएको थियो। अझ उस्को बिहे भएपछी हाम्रो भेटघाट निक्कै नै पातलिएको थियो। त्यही पनि महिना दिन, दुई महिनामा एकपल्ट भेटेर बियरको चुस्की लिदैँ र सेकुवा लुछ्दै 'गूड् फ्राइडे' मनाउथ्यौँ। म आफ्नो थाइल्याण्डका कृष्णलीला सुनाउँथेँ। बसन्ते आफ्नो रामलीला। प्राय म नै बोल्थेँ। उ सुन्थ्यो। बोलेर भन्दा बढी उ आफ्नो हाउभाउले प्रतिकृया दिन्थ्यो। मेरा कुरा सुनेर घरी अचम्ममा पर्दै आँखा ठुला पार्थ्यो। घरी नपत्याए झै आँखा चिम्स्याउँथ्यो। घरी फिस्स हाँस्थ्यो र प्राय टाउको तल माथि हल्लाउँदै 'हो', 'अँ', 'सुन्दै छु' आदीको संकेत गर्थ्यो।
यो चोटि भने ६ महिना पछी बसन्तेलाई भेट्दैथेँ। धेरै कुरा सुनाउनुछ डाल्डालाई। हुन त हल्काफुल्का कुरा फोनमा भनी सकेँ। तर भेटेरै भन्नु को मज्जा छुट्टै छ। अब बाँकी कुरा पनि सुनाएर म बसन्तेको आँखा ठुला-ठुला भएको हेर्न आतुर थिएँ। मेरो कुरो सायद पत्याउँदैन होला। 'तँ अनी बिहे?' भन्छ होला पक्कै पनि।…………. यस्तै यस्तै अनेक कुरा मनमा खेलाउँदै म हाम्रो नियमित भेट्ने ठाउँ, धुलिखेल रेस्टुराँ पुगेँ र गाडी पार्क गरेर सरासर भित्र पसेँ। हामी प्राय एउटै टेबलमा बस्ने गर्थ्यौँ। बसन्ते अर्कै अली ठुलो टेबलमा फोन खेलाउँदै बसिराथ्यो। मलाई उस्ले देख्यो। उ हाँस्यो, हाँस्न खोज्यो। अल्ली रिसाएझै देखिन खोज्यो। रिसाउने हक छ सायद उस्को तर बिचराले देखाउन जानेन। म सरासर उ भएको टेबल तिर लम्किएँ। वेटरहरु ओहोर दोहोर गर्दैथे।
'सरी यार,' मैले हाँस्दै आफ्ना दुई हात जोडेर उस्को अगाडि उभिए।
'माम्पाका,' मलाई घुर्दै उस्ले भन्यो। 'कहिल्यै टाएममा आउन जानेनस् है दाउरे?'
'हरे, के रिसाको केटी जस्तो,' मैले भनेँ। 'एत्रो पछी भेट्दैछु, हात त मिला साले डाल्डा,' मैले आफ्नो हात अगाडि बढाएँ। उ पकाउनु अघीको सागबाट एकैछीनमा लपक्क पाकीसकेको साग जस्तो भयो। मेरो दाइने हात च्याप्प समत्यो। अठ्याँयो। ढ्याप्प अँगालो हाल्यो र मेरो ढाडमा दुइ ढ्याप मार्दै भन्यो -'गूड् टु सि यु दोस्त।'
हामी बस्यौँ। बियर आयो। एकछीन् पछी सेकुवा आयो।
'आज डिनर पनि यतै गरौँ कि भनेर मैले त रेगुलर भन्दा यो ठुलो टेबल लिएँ,' उस्ले अफ्टेरो माने जसरी भन्यो। त्यस्को मतलब के हो मैले बुझेँ। उस्की बुढी, अर्चना पनि सायद आउँदैथी।
'म डिनरको लागि त बस्न मिल्दैन, छिट्टै जानु छ,' मैले भनेँ।
'प्लिज प्रेम, तँ खाली यस्तै गर्छस।'
'म खाली यस्तै गर्छु भन्ने था हुँदाहुँदै तँ किन छक्क परेको?' मैले उस्लाई सोधेँ।
'तँ मेरो बेस्ट फ्रेन्ड होस्। म र मेरो वाइफसँग बसेर डिनर खाँदैमा के हुन्छ? जहिल्यै तर्किन खोज्छेस।'
'ल ठीक छ, यदी यो डिनरको आइडिया तेरो हो भने म बस्छु,' मैले भने। 'हो तेरो?'
सायद अरु कोही केटा हुँदो हो त सजिलै 'हो' भन्ने थियो। तर बसन्ते मुसुक्क हाँस्यो र भन्यो - 'ओ के, भाग त उसो भे।'
'केटी मान्छेलाई याँ राख्नुपर्छ,' मैले ठीक आफ्नो आँखा अगाडि दाहिने हातको हत्केला राखेर देखाउँदै भनेँ। 'ठिक आँखा अगाडि। त्याँ भन्दा माथि राखिस भनेँ टाउकोमा टेक्छन्।'
'ए अब भनेपछी अब मैले पारिवारिक अड्भाइस् तँ सँग लिनु पर्‍यो हैन त?' म तिर चिम्सा आँखाले हेर्दै उस्ले सोध्यो। 'जस्को त बिहा भा छैन।' अनी हल्का हाँस्दै भन्यो - 'कुरो के भने नि, केटीहरु कैलेकाहीँ केटाहरुको गेट्-टुगेदरमा आउन चाहन्छन्। नत्र संका गर्न थाल्छन क्या।'
'खै यार, i त don't think so है,' मैले बियर गिलास उठाउँदै भनेँ।
'तै भएर त तँ ऐले सम्म सिङ्गल, एक्लो, बिचरा छस्,' उस्ले भन्यो।
'चुप साले डाल्डा,' मैले गिलासको बियर उ तिर छ्यापुँलाझै गर्दै भनेँ। तर छ्यापिन। उ झस्कियो। हामी दुबै एकअर्कालाई हेर्दै हास्यौँ। मैले मेरो चौँथो गिलास रित्याएँ।
'तैँले उस्लाई मनपराउँदिनस् भन्ने सोच्छे अब अर्चनाले,' बसन्तले भन्यो।
'मलाई छु मत्लब what she thinks,' मैले भनेँ।
'तँ सँग कस्ता केटीहरु डेट गर्छन् हँ,?' उस्ले छक्क पर्दै सोध्यो। 'नेपाली त गार्है छ, त्यही थाइ-साइहरु होलान हैन?'
'यो मन त मेरो नेपाली हो,' मैले लय हाल्न खोजेँ। मेरो जिब्रो लर्बराए।
अँ, अनी सुनाँ न त तेरो लब स्टोरी, मिस्टर प्रेम,' बसन्तले अल्ली अघी सरेर भन्यो। 'खासमा तै तेरो लभ अनी बिहेको कुरो सुन्न अर्चना आउन खोजेकी हो।'
'के रे?' मैले नसुनेझैँ गरेँ।
'कसैलाई नभन् भनेको थिस्, तर अस्ती फुस्की हाल्यो,' उस्ले सानो स्वरमा भन्यो।'के भो त लुकाएर लुक्ने हो र बिहे भन्ने कुरो? ढिलोचाडो सबैले थाहा पाइहाल्छन क्यारे!'
मलाई झनक्क रिस उठ्यो। 'खै घाँटी माथि गर त,' मैले भनेँ। 'किन?' उस्ले सोध्यो। 'तेरो किल्किले छ कि छैन हेर्न,' मैले अली रुखो स्वरमा भनेँ। 'के के सुनाउन भ्याइस्?'
'खासै केही छैन हौ,' उ नरम हुन खोज्यो। 'तै अली अली मात्र।'
'तेरो अली-अली मलाई थाहा छ,' मैले भनेँ। 'म चिडिया खानामा राखेको कुनै जनावर हुँ र उ मलाई हेर्न, चियो गर्न आउँदैछ?'
'त्यतिकै सन्किन्छ बा यो त,' बसन्तले मेरो गिलासमा बियर खन्याउँदै भन्यो।
'म जान्छु यार अब,' म उठ्न खोजेँ। 'लास्टै ढिला भो।'
'यो एउटा सकाएर जा न त,' मतिर गिलासको पिँध ठेल्दै उस्ले भन्यो।
'ल ल, यो लास्ट है त?,' मैले भनेँ। हामी दुवै हास्यौँ।
अर्चना आइ। बसन्त आफ्नो कुर्सीबाट उठ्यो। म बसीरहेँ। मेरो पछाडिबाट उ आइ र बसन्तलाई छोटो अंगालो हाली।
म तिर फर्केर, फिक्का हाँसो छोड्दै भनी - 'हेल्लो प्रेम।'
'हेलो अर्चना'
'के छ तिम्रो हालखबर?'
'गूड्, अनी तिमी?'
'नट् ब्याड। मेरो आर्ट ग्यालेरीको काममा ब्यस्त छु। अर्को महिना it's grand show. You should come.'
'Great. बधाई छ'
'Thanks. अनी तिम्रो पनि केही भन्नु छ कि?'' म चुपै बसेँ।
मलाई अनौठो गरेर हेरी। मलाई नचिनेकोले चिन्न खोजेजस्तो हेराइ थियो उस्को। म हाँसे जस्तो गरेँ। आफ्नो मोबाइलमा हेर्दै भनेँ - 'मलाई अबेर भो, पछी भेट्दै गरुँला है। म निस्किन्छु अब।'
'तिमी जान लाग्या?' अर्चनाले सोधी।
'अँ, म निस्किनै लाग्या थेँ।'
'ए ए, मलाई थाहा छ किन,' उस्ले बसन्तको गिलासको बियर उठाउँदै भनी। बसन्तले पुलुक्क मलाई हेर्यो। मैले बसन्तलाई। अर्चनाले मलाई।


2.
म रेस्टुराँबाट निस्केर सरासर होटेल गएँ। काठमाडौं फर्किन होस ले साथ नदिने देखेर त्यो रात धुलिखेलमै बिताउने सोचेँ। निदाउन मात्र के लागेको थिएँ कसैले ढोका ढक्ढक्यायो। लर्खराउँदै ढोकासम्म पुगेँ र उघारेँ। बाहिर पातलो हाँसो छोड्दै अर्चना उभिरहेकी थि। उस्लाई यसरी एक्कासी देखेर मेरो जाँड जम्मै उत्रियो। मलाई हलुका धकेलेर सरासर भित्र पसी। म अलमल्लमा परेँ। बसन्ते पनि छ कि भनेर ढोका बाहिर हेरेँ। उ थिएन। 'उ घर गइसक्यो,' अर्चनाले अली रुखो स्वरमा भनी। 'धेरै धोकेछ आज उस्ले। ट्याक्सीमा पठाइदिएँ।' म चुपचाप। अझै पनि परिस्थिती बुझ्न, सके जती सम्झिन र बटुल्न खोज्दैथेँ। ढोका ढप्क्याएर नजिकको कुर्सीमा बसेँ। मुख च्याप-च्याप भयो। घाँटी सुख्खा। टेबलमाथीको मिनिरल वाटर एक सासमा घुट्क्याइदिएँ। 'तिमी किन यहाँ त?' मैले सोधेँ।
'एउटा कुरा क्लियर गर्नुथियो,' उस्ले भनी।
'के हो,?' मैले भनेँ।
'के तिमीले बिहे गर्न लाग्यौ रे हो,?'
'हो,' मैले भनेँ। 'क्लियर भयो? अब तिमी जान सक्छौ।'
'यो बिहे कतै तिमीले मलाई जलाउन त गर्दैछैनौ,?'
'किन तिमी जल्ने छौ र?' मैले सोधेँ।
'हैन यस्तो निर्णय, यती चाँडो अनी त्यो पनि तिमीले...?' उ बोल्न सकिन। म झन् के बोल्ने, म बिचार सुन्य थिएँ। एकछिन् पछी उसैले भनी - 'ल तिमीलाई बधाई अनी शुभकामना। हामी बिच जे थियो, मैले बसन्तलाई भन्नै पर्छ। म लुकाएर राख्न सक्दिन।।' यती भनेर उ सरासर बाहिर निस्की। ढोका ड्याम्म लाग्यो।  
ओछ्यानमा सुत्न पल्टेपछी मान्छेलाई निदाउन १० देखी १५ मिनेट् लाग्छ भन्ने सुनेको थिएँ। तर अर्चना आएर गए देखी म रात भर सुत्न सकिन। पल्टिन त ओछ्यानमै पल्टेको थिएँ। मेरो मन र मस्तिस्कमा बिना शुरतालका ढ्याँङ्ग्राहरु ठट्टिन थाले। डर, सङ्का, लाज, ग्लानी, सङ्कोच जम्मै बिना कुनै क्रम चलायमान हुन थाले। अर्चना, बसन्ते अनी केही दिनमै मसँग बिहा गर्न तयार भएकी राधिकाको अनुहार कालो कोठामा सल्बलाएकाझै देख्न थालेँ।
अर्चना - करिब दुई बर्ष अघी भेटेको थिएँ, आकाशमा। उ कुनै काम बिशेषले दिल्ली जाँदै थि अनी म आफ्नै कामले। हाम्रो सिट सँगै थियो। साइडको सिटमा केटी परेकीले म मनमनै दङ्ग परेँ। प्लेन उड्यो। मैले परिचय दिदैँ आफ्नो हात अघाडी बढाएँ। 'म अर्चना,' हात मिलाउँदै उस्ले भनी। 'I am an artist.'
खासै अरुको काममा चासो नराख्ने म, अर्चनाको कुरो मा चासो राखेँ। 'कस्तो आर्टिस्ट?,' मैले सोधेँ। 'पेन्टिङ गर्ने कि, कि एक्टिङ गर्ने?'
मेरो प्रश्नको उस्ले लामै उत्तर दिइ। उ क्यान्भासमा जीवन उतार्ने आर्टिस्ट हो रे, साइन बोर्डमा सुचना, बिज्ञापन आदी लेखी हिंड्ने पेन्टर हैन रे। 'I am an artist, not a painter.' यो बिषयमा हाम्रो लामै बहस चल्यो। मलाई उस्को आत्म-बिश्वास र घमण्डीपनले बिस्तारै हौस्याउँदै लग्यो। हामी घुलिँदै गयौँ, रङ्गहरु पानीमा घुलिएझैँ। म छुच्चो हुँदै गएँ। उ म भन्दा बढी छुच्ची हुँदै गइ। स्कुल पढ्दाको साइन्स क्लासको एउटा कुरा याद आँउछ - पानीलाई एसिडमा हाल्नु हुँदैन। पड्किन्छ। जहिले पनि एसिडलाई पानीमा हाल्नुपर्छ। अहिलेको सन्दर्भमा भन्नु पर्दा म पानी थिएँ र उ एसिड। म उ माथि खनिँदै गए, उ पड्किदै गइ। अनी कहिले म एसिड हुन्थेँ र उ पानी भएर म माथि पोखिन्थी।
'I want to draw you,' उस्ले भनी। 'के हामी फेरी भेट्न सक्छौँ?'
त्यस्पछी हामी दिल्ली बसुन्जेल धेरै भेट्यौँ। प्रतेक भेटमा उ रङ्गहरु लिएर आँउथी अनी उ आफुले ल्याएका रङ्गहरुभन्दा बढी रङ्गिएर जान्थी। उ आफ्नै शरीरले मेरो शरीरभर एनेक रङ्ग पोतिदिएर जान्थी। खाली क्यान्भास भित्तामा लडिरहन्थ्यो। मैले यो भेटलाई नेपालमा पनि जारी राख्ने प्रस्ताव राखेँ। उ हिच्किच्याइ। 'म अब सेटल हुँदैछु नेपाल फर्केर,' उस्ले भनी। 'तिमीसँग को यि पलहरु रमाइलो गरी बिते। तर जीवन बिताउने मामलामा मैले अरु नै कोही रोजेकोछु। उ स्टेबल छ। राम्रो जागिर छ। अनी म प्रती सच्चा, फेत्फुल। त्यही हैन जीवनसाथीमा हुनुपर्ने गुँड?' मैले 'हो,' भनेँ। त्यस्को केही महिनामा उस्को बिहे भयो। बसन्तेको बिहेमा जाँदा अर्चना बसन्तेको छेउमा बसेकीथी, बेहुली भएर। उस्ले स्टेबल र फेत्फुल बुढा पाइछे, खुशी लाग्यो। बसन्तेलाई हेरेँ, दया लाग्यो।
.
.
.
होटेलमा बसेको त्यो दिन पछीका दिनहरुमा मैले बसन्तेको व्यबहारमा निक्कै परिवर्तन आएको महसुस गर्नथालेँ। हामीबिच बोलचाल निक्कै कम भयो। म डरले फोन गर्न सक्दिनथेँ। र शायद उ रिसले। उस्ले अनेक बाहना बनाएर मेरो बिहेमा आउन नमिल्ने सुनायो। मैले कर गर्न सकिन। मैले सोचेँ मैले सबै कुरा राधिकालाई भन्नै पर्छ। बसन्तेको जस्तो राधिकाले ढिलो थाहा पाउनु हुँदैन। एकदिन भेटेर खुलस्त भनिदिएँ। राधिकाको अनुहार हेर्न सकिन। जम्मै कुरा भुइँतिर हेरेर भनेँ। आँखा उठाएर हेर्दा उ हिडिँसकेकीथीइ…।
भोली मेरो बिहेको दिन। म बेहुलो हुन बाट केवल एक रात टाढा थिएँ। भोली मेरो दिन हुने छ, सोचेर म मनमनै दङ्ग हुन्थेँ। म सबैको केन्द्रबिन्दुमा हुनेछु, फिलिमको हिरो जस्तै। मेरै नाम लिएर नचिनेकाहरु एकअर्कासँग चिनापर्ची गर्नेछन्। 'म बेहुलाको दाई,' 'म बेहुलाकी भाउजु,' 'म बेहुलाको साथी…।' लाग्यो, बसन्ते आ'को भए उ साइड हिरो हुनेथ्यो। तर शायद म भिलेन हुँ। भिलेनको को बिहेमा उ किन आओस? बाहिर झमझम पानी दर्किरहेकोथियो। मौसम पनि मेरो खुशीको दिन खुशी देखिएन। तेसै, तेसै मन भिजेर आयो। यो पानीले जम्मै डुबाइदिए हुन्थ्योझै लाग्यो। म अरुको घर भात्काएर, त्यसैका इट्टा, ढुङ्गाले आफ्नो गाह्रो हाल्न जादैथिएँ। मलाई अर्को डर पनि के थियो भने, राधिकाले मेरो बारेमा के सोच्ने छे। मलाई कतीको विश्वाश गर्ली। तर फेरी विश्वाश नगर्ने भए, किन राजी हुन्थी बिहे गर्न? बढो दुविधामा मेरो मन छट्पटिदैँथियो।
म सजिएँ। दौरा-सुरुवाल, ढाका टोपी, पटुका अनी कम्मरमा खुकुरी भिरेर पक्का बेहुलाझैँ देखिएँ। ब्यान्ड-बाजा, चहलपहल, इस्टमित्र आदीसँग लहरिँदै पुगेँ राधिकाको घर। एकैछिनमा म बसेको जग्गेछेउमा राधिकालाई ल्याएर राखे। मेरो सास ढक्क फुलेर आयो। उस्ले मलाई घुँडामा हलुका कोट्याइ। मैले बिस्तारै उ तिर हेरेँ। उस्ले आफ्नो आँखाली अघिल्तिर इशारा गरी। 'बसन्ते!' फ्याट्ट मुखबाट निस्कियो। पण्डित पाठ पढ्दा पढ्दै रोकिए। म उठेर बसन्तेभए तिर जान खोजेँ। राधिकाले मेरो हात पक्डी र बिस्तारै भनी 'एकछिनमा।'
त्यो एकछिन आउन निक्कै समय लाग्यो। खाना खाने ठाउँमा बसन्ते आयो। म उस्लाई भेट्न आतुर थिएँ तर जब उ मेरो अगाडि आयो तब म चुप। के बोल्ने?
'बधाई छ,' उस्ले भन्यो।
'थ्यान्क्यु यार,' मैले भनेँ। 'अनी किन नआ'को मसँग जन्तीमा?,'
'साले, थ्यान्क्यु राधिकालाई भन्,' उस्ले भन्यो। 'तँ एकदमै लक्की छस्। उसैले बोलाएको मलाई। हेर जे भयो त्यो सबलाई बिर्सेर अब अगाडि बढनु पर्छ। मेरो र अर्चनाको भविस्य अब यहाँ छैन। हामी लण्डन जादैँछौ। त्यहाँको युनिभर्सिटीमा पढाउनेछु अब म।'
मेरा आँखा रसाए। 'साले बिहेको दिनमा बेहुला रोएको पहिलो पल्ट देख्दैछु,' उस्ले मलाई जिस्क्यायो। तर उस्का आँखा पनि रसाउँदै गरेको मैले चाल पाउँथे। त्यस्पछी उस्ले बिदा माग्यो।
म राधिकाको छेउमा गएँ। 'थ्यान्क्यु,' मैले खुसुक्क भनेँ। उस्ले म तिर फर्केर बिस्तारै भनी - 'थ्यान्क्यु टु यु। फर बिइङ् अनेस्ट।'
'तिमी जस्तो साथी पाउनु त मेरो सौभाग्य हो,' मैले भनेँ। त्यतीकै मा उस्का आफन्तहरुले उस्लाई बोलाउन थाले। उठेर जानेबेलामा मतिर पुलुक्क हेर्दै उस्ले भनी - 'नो साथी, जीवनसाथी।'
त्यो दिन परेको पानी डुबाउने हैन, पखाल्ने पानी रहेछ।

समाप्त।
सुरेश 'समान'