Sunday, April 26, 2015

भुकम्प-प्रुफ नेपाली


'म मरे पनि मेरो देश बाँची राखोस्...
हिमालका टाकुरामा, नेपालीका पाखुरामा
चन्द्र र सुर्य अंकित झण्डा फर्फर नाँचिरहोस् ....'

शिव शंकरको यो गीतमा बहेका शब्द-शब्दको अर्थ-अर्थ साचो रुपमा आज मेरो मनमस्तिकमा बारम्बार बल्झीरहेकोछ । झसङ्ग-झसङ्ग झस्किन्छु बेलाबेला । जिउभरी काँडा उम्रिन्छन् । 'कतै म भन्दा पहिला मेरो देश पो मर्ने भो कि?' मेरो अंतस्करणको भित्रभित्रै कताकता कुनामा यो प्रश्नको कोर्रा महसुस् हुन्छ । 

बैसाख १२, २०७२ शनिबारको बिहानीमा कालो अध्यारी छायो जब कालरुपी भुकम्पले देशमा रणताण्डव मच्चाइ दियो । भुकम्प गएको यतिका घडी बितीसक्दा पनि त्यस्को धक्काहरु बेलाबेला बल्झिदैछन् । 'अब के हुने हो', को डरले भित्रभित्रै कुँडिएकोछ लाखौं नेपाली मन । हामीबिच आएको भर्खरैको कलिलो नयाँ बर्षको न्वारन पनि राम्रोसँग हुन नपाउँदै आज हाम्रा प्रियजन अनी बर्सौँ पुराना, विश्वमा कहलिएका सांकृतिक धरोहरहरु माथि कात्रो ओढाउन वाध्य छौँ हामी । प्रक्रितीको यो धारिलो निर्मम प्रहारले सम्पूर्ण नेपाली मन भुत्ते, लल्याक्लुलुक बनाइदिएकोछ । यो कस्तो अनी के को सजाय प्रक्रितीले दिँदैछिन् त्यो उनी नै जानुन् अनी त्यस्को क्षतीको लेखाजोखा पनि उनैले गरुन् । बाँचेछौ भने हामीपनी हेरौँला!
म जस्तै लाखौँ नेपालीहरु जो बिदेशमा छौँ, हामी तर्थरिएकाछौँ । हामी जुन जग बसाउन बिदेसिएकाछौ त्यो जग चर्किएको, धसिएको महसुस् हुँदैछ । हाम्रो गुँड एकै झट्कामा तहसनहस भएको द्रिस्यहरु, खबरहरु हेर्दा-सुन्दा सारा शरीर चिसिएर आउँछ । हामी उडेर, उफ्रेर, दौडेर, पौडेर जसरी हुन्छ हामी आफन्त-परिवार, साथिभाइ माझ पुग्न चाहन्छौ । त्या हुन चाहन्छौ, देशलाई छुन चाहन्छौ । हामीले देश छोडे पनि हामीभित्र बसेको देशलाई कहिल्यै पनि छोड्न सक्दैनौ, कहिल्यै पनि । बिदेशमा देखेका भोगेका स-साना कुराहरुले पनि हामीलाई नेपालको याद दिलाउँछ । चिसो-चिसो घमाइलो दिनले हामीलाई दसैं-तिहारको झल्को दिलाउँछ । हामीले खाने म:म मा असनको गल्लीमा पाइने जस्तो स्वाद भरिएको हुँदैन जतिनै कोशीस गरेपनी । अनी हामी ति दिनका ति ठाउँका कुरामा भाभुक हुन्छौ । पाकेटमा पाइने पानीपुरीमा बानेस्वरको गल्लीको स्वाद, अँह! हरेक चिजमा हामी नेपालीपनको त्यो 'पनत्व' खोज्छौ ।

Friday, February 27, 2015

कथा: सर्वे भवन्तु सुखिनः


भाग १ - बसन्त: ‘सुटुक्क छुट्याएर राखेको अलिकती जेरी!’
'थाह छ आज मैले के बनाएँ ?... जेरी । तिमिलाई मनपर्छ भनेर अलिकती सुटुक्क छुट्याएर राखेकी छु । पहिलो पल्ट try गरेको बनाउन खै कस्तो भयो कुन्नी ! नेपालमा पाइने जस्तो perfect त भा छैन, बाङ्गोटिङ्गो भयो । तिमी चाख अनी भन है । मनपर्‍यो भने अझै बनाउनेछु । अँ साची, स्वारी पनि बनाउनु पर्ला है? के भन्छौ? हो, ल जेरी-स्वारी हाम्रो भोलीको ब्रेकफास्ट् । के भन्छौ ? बरु चिया चै तिमीले बनाउछौ कि ? अँsss... ल मलाई उता किचेनमा साथीहरुले बोलाए, म गएँ है... काममा होलाउ, मेसेज् पाए पछी कलब्याक् गर न है... ए अनी मैले जेरीको फोटो पठाएको थिएँ नि, पायौ? मिठो होला जस्तो देखिदैन त? के भन्छौ? anyways, ल राखेँ है, कल गर, बाइ!'

कामबाट निस्केर सम्झनाको भोइस् मेसेज् सुने । फोटो हेरेँ । जेरीको फोटो देखेर मुख रसायो । मेसेज् टाइप् गरेर पठाएँ - 'yum! ghar aaudai chu' / मलाई थाहा छ अब घर गएर मैले जेरी चाख्नु छ अनी उस्का अनेकन प्रश्नको उत्तर दिनु छ । पहिले त उस्ले यो जेरी बनाउने काइदाको बिचार कसरी दिमागमा आयो त्यो बताउनेछे । अनी त्यस्पछी मैले जेरी समिक्षक बन्नुपर्नेछ - 'के भन्छौ?', 'चिनी पुग्या छ?', 'अली बाक्लो त भएन?', 'तेल नि?', 'छी: नै त भा'छैन नि?', 'पाकेको छ नि है पाक्न त?', 'मिठो लागो?', 'अझ थप्छु है?' , 'के भन्छौ?' आदी इत्यादी । उस्को यो 'के भन्छौ?' भन्ने बानीले गर्दा म धेरै बोल्नु नपर्ने मान्छे पनि आजकल के भन्छु के । उस्को स्वरमा उम्रेका खुशीमय भावभङ्गीका उतारचडाव सुन्दा यस्तो लाग्छ कि उ एक ४-५ बर्षे केटाकेटी हो अनी उ मलाई आफ्नो नयाँ गूडिया देखाउन आतुर छे र तोते लयमा लाडिदै भन्दैछे - 'तिमीलाई मेलो गूदिया कत्तो लागो बतन्त? हामी भालाकुती खेलौँ ल बतन्त, तिमी ल म मात्ल ।'