Sunday, April 26, 2015

भुकम्प-प्रुफ नेपाली


'म मरे पनि मेरो देश बाँची राखोस्...
हिमालका टाकुरामा, नेपालीका पाखुरामा
चन्द्र र सुर्य अंकित झण्डा फर्फर नाँचिरहोस् ....'

शिव शंकरको यो गीतमा बहेका शब्द-शब्दको अर्थ-अर्थ साचो रुपमा आज मेरो मनमस्तिकमा बारम्बार बल्झीरहेकोछ । झसङ्ग-झसङ्ग झस्किन्छु बेलाबेला । जिउभरी काँडा उम्रिन्छन् । 'कतै म भन्दा पहिला मेरो देश पो मर्ने भो कि?' मेरो अंतस्करणको भित्रभित्रै कताकता कुनामा यो प्रश्नको कोर्रा महसुस् हुन्छ । 

बैसाख १२, २०७२ शनिबारको बिहानीमा कालो अध्यारी छायो जब कालरुपी भुकम्पले देशमा रणताण्डव मच्चाइ दियो । भुकम्प गएको यतिका घडी बितीसक्दा पनि त्यस्को धक्काहरु बेलाबेला बल्झिदैछन् । 'अब के हुने हो', को डरले भित्रभित्रै कुँडिएकोछ लाखौं नेपाली मन । हामीबिच आएको भर्खरैको कलिलो नयाँ बर्षको न्वारन पनि राम्रोसँग हुन नपाउँदै आज हाम्रा प्रियजन अनी बर्सौँ पुराना, विश्वमा कहलिएका सांकृतिक धरोहरहरु माथि कात्रो ओढाउन वाध्य छौँ हामी । प्रक्रितीको यो धारिलो निर्मम प्रहारले सम्पूर्ण नेपाली मन भुत्ते, लल्याक्लुलुक बनाइदिएकोछ । यो कस्तो अनी के को सजाय प्रक्रितीले दिँदैछिन् त्यो उनी नै जानुन् अनी त्यस्को क्षतीको लेखाजोखा पनि उनैले गरुन् । बाँचेछौ भने हामीपनी हेरौँला!
म जस्तै लाखौँ नेपालीहरु जो बिदेशमा छौँ, हामी तर्थरिएकाछौँ । हामी जुन जग बसाउन बिदेसिएकाछौ त्यो जग चर्किएको, धसिएको महसुस् हुँदैछ । हाम्रो गुँड एकै झट्कामा तहसनहस भएको द्रिस्यहरु, खबरहरु हेर्दा-सुन्दा सारा शरीर चिसिएर आउँछ । हामी उडेर, उफ्रेर, दौडेर, पौडेर जसरी हुन्छ हामी आफन्त-परिवार, साथिभाइ माझ पुग्न चाहन्छौ । त्या हुन चाहन्छौ, देशलाई छुन चाहन्छौ । हामीले देश छोडे पनि हामीभित्र बसेको देशलाई कहिल्यै पनि छोड्न सक्दैनौ, कहिल्यै पनि । बिदेशमा देखेका भोगेका स-साना कुराहरुले पनि हामीलाई नेपालको याद दिलाउँछ । चिसो-चिसो घमाइलो दिनले हामीलाई दसैं-तिहारको झल्को दिलाउँछ । हामीले खाने म:म मा असनको गल्लीमा पाइने जस्तो स्वाद भरिएको हुँदैन जतिनै कोशीस गरेपनी । अनी हामी ति दिनका ति ठाउँका कुरामा भाभुक हुन्छौ । पाकेटमा पाइने पानीपुरीमा बानेस्वरको गल्लीको स्वाद, अँह! हरेक चिजमा हामी नेपालीपनको त्यो 'पनत्व' खोज्छौ ।

Friday, February 27, 2015

कथा: सर्वे भवन्तु सुखिनः


भाग १ - बसन्त: ‘सुटुक्क छुट्याएर राखेको अलिकती जेरी!’
'थाह छ आज मैले के बनाएँ ?... जेरी । तिमिलाई मनपर्छ भनेर अलिकती सुटुक्क छुट्याएर राखेकी छु । पहिलो पल्ट try गरेको बनाउन खै कस्तो भयो कुन्नी ! नेपालमा पाइने जस्तो perfect त भा छैन, बाङ्गोटिङ्गो भयो । तिमी चाख अनी भन है । मनपर्‍यो भने अझै बनाउनेछु । अँ साची, स्वारी पनि बनाउनु पर्ला है? के भन्छौ? हो, ल जेरी-स्वारी हाम्रो भोलीको ब्रेकफास्ट् । के भन्छौ ? बरु चिया चै तिमीले बनाउछौ कि ? अँsss... ल मलाई उता किचेनमा साथीहरुले बोलाए, म गएँ है... काममा होलाउ, मेसेज् पाए पछी कलब्याक् गर न है... ए अनी मैले जेरीको फोटो पठाएको थिएँ नि, पायौ? मिठो होला जस्तो देखिदैन त? के भन्छौ? anyways, ल राखेँ है, कल गर, बाइ!'

कामबाट निस्केर सम्झनाको भोइस् मेसेज् सुने । फोटो हेरेँ । जेरीको फोटो देखेर मुख रसायो । मेसेज् टाइप् गरेर पठाएँ - 'yum! ghar aaudai chu' / मलाई थाहा छ अब घर गएर मैले जेरी चाख्नु छ अनी उस्का अनेकन प्रश्नको उत्तर दिनु छ । पहिले त उस्ले यो जेरी बनाउने काइदाको बिचार कसरी दिमागमा आयो त्यो बताउनेछे । अनी त्यस्पछी मैले जेरी समिक्षक बन्नुपर्नेछ - 'के भन्छौ?', 'चिनी पुग्या छ?', 'अली बाक्लो त भएन?', 'तेल नि?', 'छी: नै त भा'छैन नि?', 'पाकेको छ नि है पाक्न त?', 'मिठो लागो?', 'अझ थप्छु है?' , 'के भन्छौ?' आदी इत्यादी । उस्को यो 'के भन्छौ?' भन्ने बानीले गर्दा म धेरै बोल्नु नपर्ने मान्छे पनि आजकल के भन्छु के । उस्को स्वरमा उम्रेका खुशीमय भावभङ्गीका उतारचडाव सुन्दा यस्तो लाग्छ कि उ एक ४-५ बर्षे केटाकेटी हो अनी उ मलाई आफ्नो नयाँ गूडिया देखाउन आतुर छे र तोते लयमा लाडिदै भन्दैछे - 'तिमीलाई मेलो गूदिया कत्तो लागो बतन्त? हामी भालाकुती खेलौँ ल बतन्त, तिमी ल म मात्ल ।' 

Monday, October 27, 2014

कथा: तिहारको धङ्धङी

तिहारको माहोल । गाउँघर तिर मादलमा खरी भरिदै होलान् या खैजडी बजाउँदै होलान्। 'नारायन, हरी हरी!'
दसैंतिहारका ति रङ्गिन क्षणहरु आज श्यामस्वेतमा सम्झदैँछु । द्रिस्यहरु झिरझिर गर्दै आए पनि मेरो मनको एन्टिना पुर्वतिरै सोझिएको छ । हिजो पकाएका सेलरोटी आज तातो कित्लीबाट बाफिदै निस्केको चियामा चोबेर खानजती मजा आँउछ मलाई ति दिनहरु सम्झिदा आज त्यस्तै रमाइलो लाग्दैछ । जिन्दगी आखिर बासी सेलरोटी नै त भो! उभ्रेको सेल।

के केटाकेटी, के तन्नेरी, केबुढाबुढी सबैजना बिहान नछिप्पिदै उठ्थे । कोही ढिकि कुट्न पुग्थे, कोही दैनिक उपक्रम बिसाएर चिया पसलमा गफिदै हुन्थे । हामी केटाकेटी फलामको बन्दुकमा रातो कागजको पत्तीवाला गोली भर्न ब्यस्त हुन्थ्यौँ । मलाई याद छ, बिम्लीका दाईले थुप्रै आलुबम, चक्लेट् बम,डबलबम, झिर्झिरे, फुल्झडी, चक्रबम, बिडीबम आदी आफ्नो पसलमा राखेका हुन्थे । एक्पल्ट म आँफै पनि जोगबनी पुगेको थिएँ । 'होमलाइट्' सलाई देखी दम दिने स्टोभ् सम्म उतै बाट आउँथ्यो । मेरो ध्याउन्न चै पटकामा हुन्थ्यो । कैलेकाहीँ बिम्लीको पसलमा जाँदा बिम्लीउस्का साथीहरु - चम्पा, इन्दु, मेनुका अनी राधिकेसँग एककुनामा बसेर सयपत्री, मख्मली अनी बत्तुका माला गाँस्दै हुन्थी । उस्को पसलमा गाँसेका माला पनि बेचिन्थ्यो । म पुग्नासाथ मलाई माला लगाउन खोज्थी । भन्थी -'ओइ गोकुले, यो माला कत्रो भएछ खै यता आ'त नापुँ।'
म आनाकानी गर्थेँ । अनी अरु केटीहरु मसिनो खित्का छाड्दै भन्थे - 'गोकुलेलाई त तेरो हातको धुपीको माला मात्र मनपर्छ होला । यो सयपत्री के लाउँथ्यो!'
'चुपलाग चेपारेहरु,' म झर्किन्थेँ। अब अहिले त ति सबै 'चेपारे' हरुले आ-आफ्नै छेपारेहरु भेटीसके । सबैको बिहे भइसक्यो। छुच्चीहरुले बोलाउँदा पनि बोलाएनन्।

Wednesday, August 20, 2014

अमेरिकामा क्रिकेट् प्रेम!


मोजा भित्र अनेकन कागज, टालाटुली, झुम्रो, पराल आदी ठुसेर बल बनाएर लुगा चुट्ने मुङ्रोले बल ठट्टाएको हिजो जस्तो लाग्छ । गोबिन्दे 'बल्लिङ्' गर्थियो म मुङ्ग्रो समातेर बस्थेँ । मेरो पछाडि हुन्थ्यो काठको फल्याक् । 'आउट् भइस् साले,' फल्याक् ढल्दा गोबिन्दे चिच्याउँथ्यो । बद्री, आनन्दे, कुबेर अनी बले वरिपरी घेरेर 'फिल्डिङ्' गर्थे । हाम्रो आफ्नै नियम थियो क्रिकेट्को । बल उडेर खोल्सीमा पस्यो भने 'आउट्'। जस्ले खोल्सिमा बल हान्छ, उसैले खोजेर ल्याउँछ । रुखमा अड्कियो भने 'आउट्'। म बल लिएर आउँथे बद्री मुङ्ग्रो । म र बद्री रिसायौँ भने खेल खत्तम । क्रिकेट्को नशा, नशानशामा दौडिन्थ्यो। धेरै खेलियो । धेरै हेरियो । बिस्तारै उमेर बढ्यो । ठुलो भैयो । अनी त्यस्पछी झन ठुलो भैयो । अनी त झनै ठुलो भैयो । क्रिकेट्बाट पर-पर हुँदैँ खेल ठप्पै भयो । गोबिन्दे अस्ट्रेलिया पुग्यो । कुबेर बेलायत । आनन्दे कता छ कता । म अमेरिका पढ्न हुँइकिएँ । तर आजकाल धेरै पछी फेरी क्रिकेट्को नशा म मा छिर्दैछ । धेरै पछी धेरै साथीभाइहरु सँग क्रिकेट्को मजा लिन पाएकोछु - मिनिसोट्टामा । यस्तो लाग्छ म फेरी पुरानो दिनमा फर्किएकोछु अनी गोबिन्दे बलिङ् गर्दैछ र भन्दैछ - 'आउट् भइस् साले ।'

 टिम 'तेज धार' vs. टिम 'ज्वालामुखी' बिचको खेल सुरु हुनु अघी (photo: Sajan Bajracharya)
अमेरिकाको मिनिसोट्टा राज्यमा बस्दै आएका नेपालीहरु माझ हिजोआजको चर्चाको बिषय बनेको छ, क्रिकेट् । मिनियापोलिस् शहर आसपास बस्ने नेपालीहरु प्रतेक शनिबार-आइतबार जम्मा भएर लग्भग दिनैभरी क्रिकेटमा ब्यस्त रहन्छन् । क्रिकेट खेल्ने मैदान नभएर के भो त? खाने मुखलाई जुङ्गाले छेक्दैन भनेजस्तै, अमेरिकाको प्यारो खेल सफ्ट्बल खेल्ने मैदानमा यहाँका नेपाली चौका-छक्का हान्न पछी हट्दैनन् । 'क्रिकेट् इन् मिनियापोलिस्' फेसबुक पेजबाट संयोजक सचिन पराजुलीले सुरु गरेका यो यात्रामा, आज स्थापनाको केवल छोटो ४ महिनामै करिब ८० जना सकृय सदस्य छन् ।

Saturday, May 31, 2014

चेरी फुल्दा परदेशमा..

मनको चरी मझेरिमा टुसुक्क आइ बस्दा
घाममा थोपा तरेरिला लुसुक्क आइ खस्दा
देशको याद आउँछ मलाई, मन भित्र देश बोल्छ -
फर्की रहनु पर्दैन कान्छा नतर्किदिए पुग्छ ।।

पल्लो घरको बार्दलिमा लुगा सुकाउन आउँदा
आँखा जुध्थे, मुस्कुराँउथे ओठ्ले गीत गाँउदा
आधा रातमा ब्युँझन्छु म उन्कै यादले छोप्छ
सम्झी रहनु पर्दैन डल्ले नबिर्सीदिए पुग्छ ।।

आमा-बा भेट्न गए सञ्चै छ रे, सुनाइदिनु
आँखा भरी आँसु पार्लान सम्झाइदिनु बुझाइदिनु
चेरी फुल्दा परदेशमा, यो मन आफ्नो गाँउ देख्छ
आफ्नो भन्नु पर्दैन मित्र अर्को नसम्झे पुग्छ ।।
सम्झी रहनु पर्दैन तिमीले नबिर्सीदिए पुग्छ ।।
- सुरेश 'समान'

Sunday, April 13, 2014

The राशीफल (२०७१ को )

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
मेष राशी हुनेहरुले यो ७१ सालमा आफ्नो केशको बिशेष ध्यान दिनुहोला। कुम्भ रासी हुनेले असार महिना तिर भुत्ल्याउने प्रबल सम्भावना छ। दुविधा बड्न सक्छ आइफोन कि स्याम्सङ्? जुन महङ्गो छ त्यही लिए सन्तुस्टी मिल्नेछ।  

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):     
वृष राशी हुनेहरुका लागि यो बर्ष चै डि.भी. पर्नसक्छ। सेकेण्ड लेटेर नआउन्जेल धेरै फुर्ती नदेखाउनुहोला। इन्टर्भ्यु दिन जाँदा दुई झोला सुन्तला, एक माना घिउ अनी एक झोला गुन्द्रुक नबिर्सी लानु बेस होला। विवाहको प्रस्ताव चारतिर बाट आउनेछन्। छ्क्क नपर्नु। एसएमएस पढ्नेबित्तिकै डिलिट गर्नुहोला यो बर्ष।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):
सुरुमा शत्रु बढ्नेछन्। पछी झनै बढ्नेछन। जीवनसाथीले मुद्दा हाल्नसक्छिन। त्यो भन्दा पहिल्यै सके बन्दै गर्नु, हैन भए फेसबुकको पासवर्ड चेन्ज गर्नु मनासीब होला। ऐना अगाडि उभिएर आफ्नै फोटो कती खिचेको? अली कम गर्नोस। मान्छेहरु वाक्क भै'सके। अनी रेस्टुराँमा घिच्न गा'की फोटा खिच्न गा? चन्द्रमा र सुर्यको प्रभावले अरुले जती जे सम्झाए पनि लास्टाँ आफुलाई लागेकै गर्नुहुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
कर्कट राशी हुनेहरुको यो बर्ष हुलासको कर्कट पाता जस्तै टलक्क टल्किने देखिन्छ। जोगिएर हिँड्नुभएन भने खिया लाग्न सक्छ। कपाल झर्ने समस्याले सताउन सक्छ। पिसेको अदुवा, मिचेको मेदीँ, घोलेको अण्डा आदीले यो बर्ष कपालको समस्या पार लाग्नेवाला छैन। फिनोलमा हार्पेक मिसाएर दिनको दुईपटक मजाले मट्टितेलले कपाल पखाले सदाको लागि टन्टै साफ हुने देखिन्छ।