Monday, October 29, 2012

गधा र कुकुर !


एकादेशमा एउटा धोबी थियो ! धोबीले घरमा गधा र कुकुर पालेको थियो । गधा दिनभरी सकीनसकी टनाटन लुगाको थुप्रो पिठ्युमा बोकेर टाढा-टाढा सम्म ग्राहकको मा लुगा लिन/पुर्याउन जानुपर्थ्यो । कुकुर दिन भरी घरमा बस्थ्यो । धोबी काम सकेर आए पछी - कुकुर पुछर हल्लाउदै छेउमा आउने, मालिक को खुट्टा चाट्ने, काखमा लुटुपुटु पर्ने आदी गर्थ्यो । काखमा बस्दा धोबीले कुकुरको टाउको मुसार्दै रिसाएजस्तो गरेर 'कती चक्चके भा'को हँ, बदमाश' भन्थ्यो । जिब्रो निकालेर स्वा-स्वा गर्दै रुन्चे अनुहार बनाएर हेर्थ्यो कुकुर अनी त झन लुटुपुटु हुन्थ्यो काखमा । एकै छिनमा फेरी मालिकले एउटा मोजाको बल पर हुत्याइदिन्थे अनी कुकुर दौडेर त्यो समाएर ल्याउथ्यो - निकै बेर चल्थ्यो यो क्रम । यो सब देखेर गधालाई साह्रै चित्त दुखेछ । आँफै माथि रिस उठ्न थालेछ । अझ बढी रिस चैँ त्यो कुकुर देखी उठेछ । गधालाई लागेछ - " दिनभर काममा जोतिने चैँ म, मालिक को माया चैँ त्यो अल्छि कुकुरले पाउने ?" गधाले आफु पनि अब चुप लागेर नबस्ने प्रण गर्‍यो । बाँधी राखेको ठाउँबाट डोरी फुत्काएर धोबीको नजिक गएछ । त्यो देखेर धोबी जिल्ल पर्‍यो । अझ नजिक गयो र धोबिको काखमा बस्न खोजेको मात्र के थियो धोबी ले बेस्कन बाँसको सिर्कनोले बेस्मारी चुटेछ अनी कान समातेर लगेर बाँधेछ । गधालाई साह्रै पिर परेछ - संसारमा गधा भएर जन्मेकोमा 
राती भयो । तर गधालाई निद्रा लागेन । डाँको छोडेर रुन थाल्यो । मध्यरातमा गधा कराएको सुनेर धोबीको आँखा खुलेछ । धोबी बाहिर आयो - गधाको रुवाबासी बन्द भएन, अझ घोक्रो फुलाएर कराउन थाल्यो । अती भएर धोबिले फेरी कोदालोको बिडले दुई ठ्याक कस्सेर बजारेछ । "कुकुर राती भुकेको भए हिजोको मासुको हड्डी खान पाँउथ्यो, मलाई चैँ एक मुठा घाँस पनि छैन, उल्टै कुटाइ खाइयो", "घोडा हुन पाको भा'नी यती सार्हो हुँदैनथ्यो होला" - यस्तै यस्तै के के सोच्दै कतीखेर हो गधा निदाएछ।

Saturday, October 27, 2012

नेपाल फेरिएन ।।


श्रीमान गम्भिर देखी
सय थुङ्गा फुल सम्म
दौरा सुरुवाल ढाका टोपी देखी
कोट पाइन्ट र सर्ट सम्म
बद्लियो गीत ताल फेरिएन
बद्लियो भुषा चाल फेरिएन ।।

कंसलाई पछारी रावण सेना आए
पुष्पकमल, बाबुराम, माधव अनी सुशील गड्गडाए
बन्यो रे नयाँ नेपाल तर खै कुनै साल फेरिएन
बद्लियो सत्ता हाल फेरिएन
बद्लिए नाम नेपाल फेरिएन ।।

एस.एन.

Tuesday, October 16, 2012

आयो दसैं आयो ।।


मैदानमा नाङ्गा बाँस ठडीदैँछ आज
खुशी छिन है आमा, छोरो आँउदैछ रे साँझ
भित्र सग्ला जमरा, बाहिर शित थोपा छायो
बधाई छ है मित्र हो - आयो दसैं आयो ।। 

नाँच गान गर्छन् आफन्त, बज्छ मंगल्धुन
ठुलाबडाको आसिस सबलाई कामलाग्छ सुन
सयपत्री र मखमलीमा पालुवा नयाँ पलायो
शुभकामना आमाबुवा - आयो दसैं आयो ।। 

चप्पल लाउने खुट्टामा दसैंबूट ढल्किदैछ
घर-घरमा नयाँ रङ्ग - आज गाँवै टल्कदैछ 
लाउरे दाईले पल्टनबाट के कोसेली ल्यायो
शुभकामना दाजुदिदी - आयो दसैं आयो ।।

सङ्ख-घण्ट मन्दिरमा भजन किर्तन चल्छ
लिपी पोती आँगन सफा, भित्र साँझ बत्ती बल्छ
धेरै पछी आज भाईले पक्कु रक्ती खायो
रमाउ रमाउ भाईबहिनी - आयो दसैं आयो ।।

एस. एन.

Thursday, October 4, 2012

हजुरबालाई लभलेटर !

प्रेम प्रशाद मिस्र जि,

तपाईंको पत्र पाएँ (भाग १: हजुरबाको लभलेटर !) । मेरो चिन्ता लिने नि कोही रहेछ - खुशी लाग्यो । बच्चुले सबै पढेर सुनाए । एकफेर पढेर धित मरेन, दोर्याएर पढ्न लाएँ । साह्रै जाती मान्छे रै'छन झर्को नमानी पढेर सुनाए ! मैले पनि त्यो दोहोरी कार्जेक्रममा तपाईंले हेरेको ख्याल गरेँकी थेँ । डर, लाज, अफ्टेरो, के गरुँ र कसो गरुँ भयो खै किन हो । तपाईं रेडियो सुन्न गजुरे आको दिन म घरमै थिए । आमालाई अधाह भएकोले पुरेत फुक्न आ'का थे । चमेलीले भनेकी निकै बेर बस्नु भयो रे हैन ?  
बच्चु गए पछी चिट्ठी ओल्ट्याइ पल्टाइ हेरेँ - छामे, सुम्सुम्याए, पट्याए, खोलेँ, पट्याए । म सोच्छु - के नमिले के नमिले जस्तो देखिने ति धर्साहरु, ति एताउता बाटरिएका काला, कुनै चुच्चा, तिखा, कुनै गोला देखिने अक्षर नै मेरो लागि लेखिएको चिट्ठी हो त ? आफुले पढ्न नसकेकोमा उकुसमुकुस भएर भक्कानिए । मन त त्याँ लेखिएका एक एक शब्द केलाउन मन थियो, फिँजाउन, निफन्न मन थियो - सके अझै २-४ खेप पढ्न मन थियो नै ....। २-४ अक्षर कसैले चिनाइदेको भा म आँफै पढ्न सक्ने थिएँ झैँ लागेर भक्कानिए ।