एकादेशमा एउटा धोबी थियो !
धोबीले घरमा गधा र कुकुर पालेको थियो । गधा दिनभरी सकीनसकी टनाटन लुगाको थुप्रो पिठ्युमा
बोकेर टाढा-टाढा सम्म ग्राहकको मा लुगा लिन/पुर्याउन जानुपर्थ्यो । कुकुर दिन भरी घरमा
बस्थ्यो । धोबी काम सकेर आए पछी - कुकुर पुछर हल्लाउदै छेउमा आउने, मालिक को खुट्टा
चाट्ने, काखमा लुटुपुटु पर्ने आदी गर्थ्यो । काखमा बस्दा धोबीले कुकुरको टाउको मुसार्दै
रिसाएजस्तो गरेर 'कती चक्चके भा'को हँ, बदमाश' भन्थ्यो । जिब्रो निकालेर स्वा-स्वा
गर्दै रुन्चे अनुहार बनाएर हेर्थ्यो कुकुर अनी त झन लुटुपुटु हुन्थ्यो काखमा । एकै
छिनमा फेरी मालिकले एउटा मोजाको बल पर हुत्याइदिन्थे अनी कुकुर दौडेर त्यो समाएर ल्याउथ्यो
- निकै बेर चल्थ्यो यो क्रम । यो सब देखेर गधालाई साह्रै चित्त दुखेछ । आँफै माथि रिस
उठ्न थालेछ । अझ बढी रिस चैँ त्यो कुकुर देखी उठेछ । गधालाई लागेछ - " दिनभर काममा
जोतिने चैँ म, मालिक को माया चैँ त्यो अल्छि कुकुरले पाउने ?" गधाले आफु पनि अब
चुप लागेर नबस्ने प्रण गर्यो । बाँधी राखेको ठाउँबाट डोरी फुत्काएर धोबीको नजिक गएछ
। त्यो देखेर धोबी जिल्ल पर्यो । अझ नजिक गयो र धोबिको काखमा बस्न खोजेको मात्र के
थियो धोबी ले बेस्कन बाँसको सिर्कनोले बेस्मारी चुटेछ अनी कान समातेर लगेर बाँधेछ ।
गधालाई साह्रै पिर परेछ - संसारमा गधा भएर जन्मेकोमा।
राती भयो । तर गधालाई निद्रा
लागेन । डाँको छोडेर रुन थाल्यो । मध्यरातमा गधा कराएको सुनेर धोबीको आँखा खुलेछ ।
धोबी बाहिर आयो - गधाको रुवाबासी बन्द भएन, अझ घोक्रो फुलाएर कराउन थाल्यो । अती भएर
धोबिले फेरी कोदालोको बिडले दुई ठ्याक कस्सेर बजारेछ । "कुकुर राती भुकेको भए
हिजोको मासुको हड्डी खान पाँउथ्यो, मलाई चैँ एक मुठा घाँस पनि छैन, उल्टै कुटाइ खाइयो",
"घोडा हुन पाको भा'नी यती सार्हो हुँदैनथ्यो होला" - यस्तै यस्तै के के सोच्दै
कतीखेर हो गधा निदाएछ।
बिहान भयो । आज उठ्ने जाँगर
थिएन गधालाई । तर फेरी चुटाइ खानु भन्दा उठ्नु नै बेस सोचेर मन नलागी नलागी उठेछ ।
लुगाको भारी लिएर धोबी बाहिर आयो अनी गधाको पिँठमा बोकायो । धोबिले गधाको घाटीको पुरानो
घण्टी निकालेर नयाँ घण्टी कसी दियो अनी हातले गधाको पिँठ थप्थपाँउदै भनेछ - "
हिजो कस्तो 'कुकुर' जस्तो ब्यवहार गरेको भुनिया तैँले ? हिँड जाँउ कर्म गरौँ ।"
अचानक गधालाई पिँठको भारी हल्का
महसुस हुन्छ । गधा अघी-अघी लम्कन्छ - धोबी पछी पछी । अन्य दिन भन्दा आज उस्को घाँटीको
घण्टी अली बढी नै घन्कदैछ ।
एस. एन.