Tuesday, October 16, 2012

आयो दसैं आयो ।।


मैदानमा नाङ्गा बाँस ठडीदैँछ आज
खुशी छिन है आमा, छोरो आँउदैछ रे साँझ
भित्र सग्ला जमरा, बाहिर शित थोपा छायो
बधाई छ है मित्र हो - आयो दसैं आयो ।। 

नाँच गान गर्छन् आफन्त, बज्छ मंगल्धुन
ठुलाबडाको आसिस सबलाई कामलाग्छ सुन
सयपत्री र मखमलीमा पालुवा नयाँ पलायो
शुभकामना आमाबुवा - आयो दसैं आयो ।। 

चप्पल लाउने खुट्टामा दसैंबूट ढल्किदैछ
घर-घरमा नयाँ रङ्ग - आज गाँवै टल्कदैछ 
लाउरे दाईले पल्टनबाट के कोसेली ल्यायो
शुभकामना दाजुदिदी - आयो दसैं आयो ।।

सङ्ख-घण्ट मन्दिरमा भजन किर्तन चल्छ
लिपी पोती आँगन सफा, भित्र साँझ बत्ती बल्छ
धेरै पछी आज भाईले पक्कु रक्ती खायो
रमाउ रमाउ भाईबहिनी - आयो दसैं आयो ।।

एस. एन.