प्रेम प्रशाद मिस्र जि,
तपाईंको पत्र पाएँ (भाग १: हजुरबाको लभलेटर !) । मेरो चिन्ता
लिने नि कोही रहेछ - खुशी लाग्यो । बच्चुले सबै पढेर सुनाए । एकफेर पढेर धित मरेन,
दोर्याएर पढ्न लाएँ । साह्रै जाती मान्छे रै'छन झर्को नमानी पढेर सुनाए ! मैले पनि
त्यो दोहोरी कार्जेक्रममा तपाईंले हेरेको ख्याल गरेँकी थेँ । डर, लाज, अफ्टेरो, के
गरुँ र कसो गरुँ भयो खै किन हो । तपाईं रेडियो सुन्न गजुरे आको दिन म घरमै थिए । आमालाई
अधाह भएकोले पुरेत फुक्न आ'का थे । चमेलीले भनेकी निकै बेर बस्नु भयो रे हैन ?
बच्चु गए पछी चिट्ठी ओल्ट्याइ
पल्टाइ हेरेँ - छामे, सुम्सुम्याए, पट्याए, खोलेँ, पट्याए । म सोच्छु - के नमिले के
नमिले जस्तो देखिने ति धर्साहरु, ति एताउता बाटरिएका काला, कुनै चुच्चा, तिखा, कुनै
गोला देखिने अक्षर नै मेरो लागि लेखिएको चिट्ठी हो त ? आफुले पढ्न नसकेकोमा उकुसमुकुस
भएर भक्कानिए । मन त त्याँ लेखिएका एक एक शब्द केलाउन मन थियो, फिँजाउन, निफन्न मन
थियो - सके अझै २-४ खेप पढ्न मन थियो नै ....। २-४ अक्षर कसैले चिनाइदेको भा म आँफै पढ्न सक्ने थिएँ
झैँ लागेर भक्कानिए ।
कती सजिलै भन्नुभो है – “हिडँ
जुनकिरी भागौं” भनेर । सोच्नोस त भोली गएर अपसज जती जम्मै म मा र मेरो परिवारमा थोपरिन्छ
। केटी मान्छेलाई तपाईं केटाहरु जस्तो छुट छ र ? हदै भने तपाईंलाई “केटी भगाएछ” भन्लान
वरपरकाले । तर म - म त पोइल हिंडेँकी हुन्छु । पोइल हिंड्नु र भगाउनु मा कती धेरै अन्तर
हुन्छ, मैले बुझाइरनु त पर्दैन होला । जुनकिरीलाई जस्तो प्रेमप्रशादलाई कसैले पोइल
हिड्यो भन्दैन । अझ कती ले त - 'बाहुन केटो फसाँइ छे' भन्लान । मेरो परिवार भेट्नेहरुले
अनी बिशेषत: आफन्तहरुले बातै पिछे मेरो कुरा निकालेर आलो घाऊमा कती नुनचुक छर्कने होलान
। त्यसै त उनीहरुको के के न खाइदिएझैँ गोल्भेडा जत्रा आँखाले हेर्छन अझ म हिंडेँ भने
त अरु के चाहियो । मलाई यो पनि था'छ - मलाई नानाभाती तथानाम गाली दिने र मेरा बारेमा
अनेकन अड्कलबाजी र कानेखुसी, साउती मार्नेहरुको कमी हुनेछैन । अरु त परै जाओस भोली
तपाईंकै घरका ले पनि मलाई नै नकचरी, नखरमाउली देख्छन, भन्छन । "हामी दुईको ज्यान
पालिन्छ तिमीले सुर्ता लिनु पर्दैन जुनकिरी" भनेर मधेसको ठुला ठुला सपना त देखाउनु
भयो । तर बाँच्नु त बिपनामा पर्छ, हैन र ? कल्पनाको दैलो बाट अलिकती बाहिर निस्कनोस
र मेरो ठाउँमा आफुलाई उभ्याएर हेर्नोस अनी महसुस होला मेरो र म जस्ता नारीको पिरमर्का
। मेरी साथी कल्पीको के हालत छ सम्झिदाँ नि आङ सिरिङ्ग भएर आँउछ । त्यस्को अभागी खप्पर
पोइल हिँडी । बिचरीलाई सासुससुराले फुटेको आँखाले नि देख्न सक्दैनन रे ! जती गरे पनि
अपसज आँउछ भन्छे । लोग्नेले पनि वास्ता गर्दैन रे - अझ रक्सी धोकेर आएर बेस्मारी पिट्छ
रे ! "निस्केर जा" भन्छ रे । अरु लोग्नेमान्छे सँग बोलेको देख्यो मात्र भने
नि बिचरी को भातपानी बन्द हुन्छ रे ! सुकेर दाउरा भइसकी । त्यती हुँदा पनि यि आइमाइको
भाग्य लोग्नेकै दासी भएर बस्नु पर्छ । लोग्नेको आयुको कामना गर्दै तिर्थबर्त भोकभोकै
बस्नु पर्छ । पतीको लागि जती भाकल गरे नि, जती बर्त बसेनी पत्निको कर्मको फल केवल पत्नीले भोग गर्छे - हैन र ? पतीले त्यस्मा आफ्नो अङ्सको हकदारी गर्न पाँउछ र ? पत्निले गरेको धर्मको, उस्ले गरेको उपवासको, सत्सँगको, प्रथानाको फलस्वरुप पती कदापी स्वर्गको हकदारी हुनसक्दैन । पतिलाई मोक्ष मिल्न सक्दैन । मैले तपाईंले पनि त्यसै गर्नुहुन्छ
भनेकी हैन - मलाई गलत नसोच्नु होला । मैले त आफुले देखेको भनेकी मात्र हुँ ।
अस्ती सन्सरबार बिहानै छेत्री
गाँउबाट एकजना लोग्नेमान्छे आ'का थे, मलाई हेर्न । ति सँग अरु २ जना नि थे । बा सँग
लामो कुरा गरेर गए । मैले त राम्रो सँग हेर्न पाइन । लामो नाक रे'छ त्यती हो । बा-आमा
कुरा गरेको सुनेको - मनग्गे जाएजेथा छ रे ! दुई बिस त बाख्रापाठा नै छन रे । खेतमा
बारैमास कुनै न कुनै फलफुल टुट्दैन रे । घरग्रिहस्ती सम्हाल्न अली हम्मे हम्मे भा'कोले
मेरो कुरा काकाले त्याँ पुर्याएछन अनी बासँग कुरा गर्न आ'का रे ! उमेर चैं अली छिप्पीसकेका
पाका भन्ने सुने । श्वासनी खसेको दुई बर्स नाग्यो रे । छोराछोरी पनि कोही तराइतिर झरे
रे कोही कांग्रेसमा लागे रे ।
खेती किसानी गरेर बसेका हामी,
जे जस्तो छौँ त्यही अवस्तामा ठीक छौँ । भाईबहिनी सानै छन - घाँसदाउरा, लिपपोत, भातभान्सामा
आमा बुढी हुनुभयो मेसो पाउनु हुन्न आँफैले हेर्नु पर्छ । घरको गाई पनी एक हाते छ, म
बाहेक अरु कसैले दुन सक्दैन । बा एकजना दिनरात साउको खेतमा बुढो हड्डी घोट्नुहुन्छ,
खाने मुख धेरै छन । यो सबलाई चटक्क छोडेर जान मेरो आत्माले मान्दैन । फेरी तराइमा सेतो
मच्छडको बिग्बिगी छ रे, गर्मी पनि यो शरीरले धान्न सक्दैन । म तपाईंमा बोझ हुन चाहन्न
। त्यसैले यो यात्रामा तपाईंको साथ दिने हैसियतमा छैन - माफ पाउँ । बिन्ती यो जिद छोडि
दिनोस ।
उही,