Wednesday, June 12, 2013

'फेल' हुनुभो? ल बधाई छ!

'सुरेशले आलु खाए,' ज्योति माध्यमिक बिद्यालय, इटहरीमा कक्षा चारको रिजल्ट हेरेर आएको रात भान्सामा  दिदीले आमालाई सुनाइ। 'अनी मेरो चैँ नाम निस्कियो, सिर्जना निरौला- फेयर्ली पास।'  आफ्नो नाम भने उस्ले बडो गर्वसाथ लिइ। म घोसेमुन्टो लाएर चुपचाप चबाउँदैथिए। 'फेल' भएँको थिएँ।  आमाले लामो सास तान्नुभयो। साह्रै थाकेपछी निस्कने सास जस्तो सुनिन्थ्यो। मेरो अगाडिको थालमा भात थपिदिदैँ आँफैसँग कुरा गरे जसरी बिस्तारै भन्नुभयो - 'बुवा आएपछी कुरा नगरि भएन।' म झसङ्ग भएँ। भातमा ढुङ्गा टोके जस्तो! बुवाको चाँदे भेटिने भै'यो भनेर मेरो होस् उड्यो। भात निल्न सकिन। घाँटी कोक्यायो। उता मेरै छेउमा बसेर खाँदै गरेकी दिदी भने दङ्ग देखिन्थी। उस्को मसिनो खितीती म प्रस्ट सुन्न सक्थेँ। मेरो दिमाग तातियो। रिसले आगो भएँ। मेरो पालो, थाल उठाएर उ तिर हुर्याइदिएँ। 'ल हाँस अझै झुम्री,' भन्दै। आमाले एक्कैछिन अघी तरकारी थपी दिनुभा'थ्यो मेरो थालमा। त्यो अब दिदीको जिउभरी थियो। त्यो दिन तरकारीमा आलुदम थियो। 
त्यस्पछी मलाई कक्षा २ मा झारियो। दिदी ५ मा गइ म २ मा झरेँ। 'कतीमा पढ्छौ?' भनेर सोध्नेहरु देखी झनक्क रिस उठ्थ्यो। मलाई जिस्काउनैको लागि कोही त दिनदिनै सोध्थे, पछी बुझेँ। हुन पनी कक्षा २ मा पढ्ने केटाकेटी भन्दा  उमेरमा अनी उचाइमा ठुलै थिएँ। कतीपल्ट त म चिनेको मान्छे अनी छिमेकीको घर छल्दै दौडन्थेँ पनि! 'कतीमा पढ्छौ?' सोध्छन भन्ने डरले। भन्छन् - इख नभएको मान्छे र बिष नभएको सर्प काम लाग्दैन! त्यस्पछीका बर्षहरुमा दिदीले भनेजस्तो आलु कहिल्यै खानु परेन।
मेरो प्रसंगलाई यतै रोकेर फलामे ढोका मानिने, एसएलसीको कुरातिर एकैछिन यहाँहरुको ध्यान केन्द्रित गराउन चाहन्छु। गतबर्ष २०६९ को एसएलसी परिक्षाको नतिजा निस्केपछी पत्रपत्रिकामा आएका केही 'हेड्लाइन्' हरु यस्ता थिए - 'एसएलसीमा आधाभन्दा बढी फेल', 'एसएलसी परिणाम : दुई खर्ब लगानी, बालुवामा पानी', 'एसएलसीमा फेल भएपछि आत्महत्या', 'एसएलसी ओरालै ओरालो' ..

२०६९ मा ५२.८४ प्रतिशत विद्यार्थी ‘फेल’भए भनेर पत्रपत्रीका/टेलीभिजन आदीमा धेरै आए। तात्कालिन सरकारमै बसेकाहरुको मुखबाट सुने अनुसार, सरकारले दस वर्षे विद्यालय शिक्षाका लागि ४ खर्बभन्दा बढी खर्च गर्दै आएको छ रे अनी आधा भन्दा बढी फेल भएकोले २ खर्ब खेर गयो रे! २०७० को नतिजा पनि खासै उस्साहजनक रहेन। गएको बर्षभन्दा पनि खस्कियो। समाचारमा आए अनुसार ४१.५७ प्रतिशत विद्यार्थीमात्र उतिर्ण भए यो बर्षको एसएलसी परिक्षामा। शिक्षामन्त्रालको अनुसार, २०६७ सालमा सरकारी स्कुलबाट एसएलसी दिनेहरुमध्ये ४६.६२ प्रतिशत विद्यार्थी पास भएको तथ्याकं छ। सोही साल निजी स्कुलबाट एसएलसी दिनेहरुमध्ये ८५.८२ प्रतिशत विद्यार्थी पास भएको उक्त तथ्याकंले देखाउँछ। बिगत १० बर्षमा शिक्षा मन्त्रालयको तथ्याकं हेर्ने हो भने सबैभन्दा बढी २०६५ मा ६८.४७ प्रतिसत विद्यार्थी एसएलसी परिक्षामा उतिर्ण भएको देखिन्छ। २०६५ अघी र पछीको अवस्था खस्कदो रेहेको देखिन्छ। यि र यस्तै तथ्याकंहरुले पनि देशको दुर्भाग्य अनी सरकारको नालायकीपन देखाउँछ।  

आइतबार, जेठ २६, २०७० मा प्रसारित बिबिसी साझासवाल कार्यक्रमबाट यो बुझिन्छ कि चार वर्षपछि हुन लागेको स्ववियू चुनावमा नक्कली विद्यार्थी भर्ना, करोडौं रकमको चलखेल, क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको झडप जस्ता गतिविधि बढ्दो छ। अब प्रश्न यो उठ्छ कि सरकारमा बसेका र सरकार बाहिर बसेका माउ पार्टीहरु राजनिती गर्न करडौँ रकम बगाउन सक्छन् भने त्यही रकम रचनात्मक अनी विद्यार्थीको बौद्धिक बिकासमा किन खर्चिन सक्दैनन्? शिक्षक प्रशिक्षणमा, प्रयोगात्मक शिक्षामा अनी शिक्षक-बिध्यार्थीको कक्षामा हुनुपर्ने अनुपात घटाऊनमा किन खर्चिन सक्दैन? यि प्रश्नको उत्तर तपाईं हामीलाई त थाहा नै छ। तर के ति नेताहरुले ठाडो शिर गरेर उत्तर दिन सक्लान् त? I don't think so. ५२.८४ प्रतिशत विद्यार्थी ‘फेल' भएर सरकारको दुई खर्ब खेर गयो भन्ने तिनैलाई मेरो प्रश्न - ९ अर्बको सरकारी खर्च र चार वर्षको समय व्यर्थमा खर्च गरेर २०६९ जेठ १५ को मध्यरातपछि संविधानसभा त झन १००% फेल भयो। सरकारले पास संख्या बढाउन पहिले किन विद्यार्थी फेल हुन्छन् भन्ने थाहा पाउनु पर्दैन? ९ अर्ब सरकारी खर्चको प्रतिफल नदिने फेरी संबिधानसभाको निर्वाचन किन चाहियो? शिक्षामा 'फेल' भन्ने शब्द नै हुँदैन। फेल त ६०१ सभासद भा'का हुन्। पैसा खर्च गरेर मात्र शिक्षामा गुणस्तरता आउन नसक्ने कुरा पनि ओहदामा बस्नेहरुले बुझ्नु जरुरी देखिन्छ। विद्यार्थी कहिलै फेल हुँदैन। मेरो शुभकामना सम्पूर्ण १० कक्षासम्म पुगेर एसएलसी दिनुभएकाहरुलाई । कक्षा १० सम्म पुग्ने तपाईं विद्यार्थीहरु आजका धेरै नेताहरु भन्दा सिक्षित हुनुभयो, बधाई छ। अर्को बर्ष अझ मेहेनत गर्नु होला।

दोस सरकार को मात्र पनि छैन। सम्पूर्ण दोस सरकारलाई थोपरेर पन्सिन खोज्नेहरुको जथ्थामा पनि अंसिक दोस देखिन्छ। त्यो जथ्थामा म पनि थोरबहुत पर्न सक्छु । तपाईं पनि पर्न सक्नुहुन्छ। बिद्यालय प्रशासन पनि पर्छ। पढाउने शिक्षक-सिक्षिका देखी नागरिक समाज अनी स्वयं विद्यार्थिको परिवार पर्छौ। सरकार, विद्यालयका शिक्षक र सञ्चालकले मात्र हैन परिवारले समेत दोष तिनै पीडित बालबालिकामाथि थोपर्छन्। आफु परिक्षामा उतिर्ण नहुने प्राय: पक्का हुने विद्यार्थीहरुको मानसिक्ता बुज्ने अनी उनीहरुलाई अर्को पटकको लागि प्रेरणा र हौसला दिन जरुरी छ । सबै विद्यार्थी पढेर डा बाबुराम भट्टराई नै बन्नुपर्छ भन्ने छैन। कोही 'फेल' भएर पनि सबैका चहिता हरिवंस आचार्य पनि बन्न सक्छन्। विद्यार्थी भनेको त काँचो माटो जस्तै हुन । शिक्षक र परिवार भनेका कुमाले हुन । कुमालेले काँचो माटोलाई कुन आकार दिन्छ त्यो कुमालेको हातमा भर पर्छ। परीवार अनी स्कुलका शिक्षक शिक्षिकाहरुको भूमिका र सकृयाता एसएलसी ताका मात्र हैन बालख देखी नै बड्नु आवश्यक छ । बिशेषगरी कक्षामा अनी पढाईमा संघर्सरत विद्यार्थीहरु प्रती ता कि "एसएलसीमा फेल भएपछि आत्महत्या" जस्ता अत्यन्त मार्मिक खबर सुन्न नपरोस। बहुसंख्यक युवालाई अयोग्य सिद्ध गर्ने एसएलसी परीक्षाको हाउगुजीलाई समाप्त गर्न ढिलो गर्न हुँदैन।

हिजोआज थुप्रै राष्ट्रिय अनी अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरु गाँउ-गाँउमा पुगेर स्कुल बनाउने काममा लागेका छन् जुन काम अत्यन्त सराहनिय छ। यस्ता काम जती गरे पनि धेरै हुँदैन, बरु थोरै हुन्छ। कसैले स्कुलको छानो हाल्ने काम गरेकाछन्। कोही स्कुल परिसर सफा पार्ने, रङ्ग-रोकन आदी गर्छन्। कोही पढ्न नपाएकाहरुलाई पढाउन दान संकलनमा लागेकाछन्। यस्ता कामहरुको प्रसंसा जती गरे पनि कम नै हुन्छ। हरेक मान्छेले आफ्नो दक्ष्यले भ्याएजती सहयोग गर्ने हो भने, यो देशको कायाँ पल्टिन कुनै समय लाग्दैन। तर यती भन्दै गर्दा अर्को कुरा के पनि बुझ्न जरुरी छ भने, स्कुलमा छाएको नयाँ छानोले अथवा रङ्गिन भित्ताहरुले भौतिक रुपमा सुबिधा दिए पनि विद्यार्थीको बिद्या आर्जन गर्नसक्ने क्षमताको बिकासमा कुनै ठोस् उपलब्दी दिन सायदै सक्ला। त्यसैले स्कुल भवन निर्माण र पुन: निर्माणका साथसाथै विद्यार्थीहरुको बौद्धिक बिकास निर्माणमा पनि सँघसंस्थाहरुले ध्यान दिनुपर्ने देखिन्छ। भर्खरै स्थापना भएको 'टिच् फर नेपाल' नामको संस्थाले विद्यार्थीको बौद्धिक बिकासका साथसाथै सैक्षिक असमानता कम गर्ने कार्यक्रम को सुरुवात गरेको छ। तत्कालका लागि ललितपुरका सरकारी र सामुदायीक बिद्यालयबाट यस्तो कामको थालनी भइसकेको कुरा टिच् फर नेपालका संथापक शिशिर खनाल बताउँछन्। कलेज पास भएका 'ग्राजुएट' हरु, जस्लाई टिच् फर नेपाल 'फेलो' भन्छ, ति ग्राजुएटहरु दुई बर्षका लागि सरकारी र सामुदायिक बिद्यालयमा पढाउन जाने ब्यवस्ता गरिने जानकारी खनालले दिए। 'हाम्रो फेलो हरुले अहिले माध्यमिक बिद्यालयहरुमा रहेको रिक्ततालाई पुर्ती गर्नेछन्,' खनाल भन्छन्। 'मुलत: अनिवार्य गणित, बिज्ञान अनी अङ्ग्रेजी बिषयहरुको पाठन हुनेछ।'      

विद्यार्थीका हकमा भन्नु पर्दा- आवेगले हैन इखले काम गर्न सिक्नु होला। सुरुसुरुमा साइकल चलाऊन सिक्दा नलढ्ने सायदै कोही होला। प्रायले पहिला तलबाट 'कैँची' चलाऊँन सिक्छौँ। अनी माथि सिटबाट, हाफ पाइडल। अनी माथिबाट नै, फुल पाइडल। मैले त्यसरी नै सिकेको हुँ। जब फुल पाइडल चलाएर पहिलो पल्ट म स्कुल पुगेँ, तब मेरा खुट्टाभरी साइकल सिक्दा लागेका चोट, ठेसहरु त तेसै निको भएजस्तो लाग्यो। अलिकती पनि दुखेको याद आएन। पौडी खेल्न 'स्विमिङ् पुल' बनाइदिएर मात्र पुग्दैन। पौडिन सिकाउने सक्षम प्रसिक्षकको उत्तिकै, अझ बढी नै आवश्यक पर्छ। नत्र त पुल जती सुकै झिलिमिली भएपनी तैरिनै सकिएन भने त्यता जाबाको के काम? अनी परिवारका सदस्यहारुले पनि आफ्नो छोरा-छोरीले कतीको तैरिन, पौडिन सिक्दैछ भन्ने बुझ्न, र हौस्याउन जरुरी छ। पछी राम्रो पौडिन सके भने, तिनै हुन पुरै परिवार र समाजलाई डुब्नबाट बचाउने। चेतना भया!

सुरेश 'समान'
http://www.mysansar.com/2013/06/5212/