Saturday, August 17, 2013

इनिस्पेक्टरनी !

आज: २०६६ पुस ७ - रातको करीब १०:३०
हिजो,
 'नाम?'
 -'लीलाकुमारी नगरकोटि'
'मृतकको नाम?'
 -'भुवनराज पुडासैनि'
' मृतकसँगको नाता?'
 -'लोग्ने'
'कसैमाथी संका?'
 -'छैन, म नै हुँ। सजाय भोग्न तयार छु इनिस्पेक्टरनी साहेब ।' उस्का आँखामा भिन्नै तेज थियो । निडर देखिन्थे ति। निस्फिक्री ! घमण्डले भरिएका ।

होमिसाइड्को केस पैलेपैले धेरै आए। कती केस सल्टिए। कती सल्टिदैथिए। कती केस बन्द पनि भए। बन्द भएका केसहरुमा प्राय हत्याराको बयान रोक्न आदेश मन्त्री, प्रधानमन्त्रीबाट आउने गर्छन्। दण्डहीनतालाई प्रसय दिने खेल माथिबाटै हुन्छ। लुटी ल्याउ, भुटी खाउको परम्परा चुलिएको अवस्था छ। बाबुराम, रामबाबु, दुस्टकमल, झले, झुसिले... जम्मै उही ड्याङका मुला हुन्। जुनै जोगी आए पनि कानै चिरेका।

यो अहिले आएको केसमा हत्याराको पहिचान भइसकेको थियो । हत्याकी अभियुक्त लीलाकुमारीले आफूले हत्या गरेको भनी साविति बयान दिईसकेकीछन् । अभियुक्ता स्वयंले फोन गरेर 'म बाट हत्या भएको छ, लिन आउनुहोस्,' भनेकीथी । म एक जना हवल्दारलाई लिएर घटनास्थल पुगेँ । घटनास्थल - एउटा ब्यबस्तित कोठा ! कोठामा भएका टेबल, कुर्सी, तन्ना, खाट, आल्ना, रेडियो आदी सबै ब्यबस्तित देखिन्थ्यो । सोफामा चकटी ओछ्याइएका थिए । भर्खरै कसैको हत्या भएको छ भनेर भन्नै नमिल्ने गरी अजिबले सजिएको थियो कोठा । भित्तामा काली माताको अजङ्गको फोटो टासिएको थियो । महादेव कालीको पैतालाले थिचिएका । कोठा जत्तिकै सजिएर बसेकीथी अभियुक्त लीला । लासलाई ओछ्यानमा सुताएर राखेकी रै'छ । टाउकोमा सिरानी अनी सिरक ओढेर मस्त सुतेजस्तो देखिन्थ्यो । नजिकै गएर हेरेँ । निश्वास, निर्जिब, निलो प्राणी !

'लासलाई पोस्टमार्टमको लागि टिचिङ् हस्पिटल लाने ब्यबस्ता मिलाउनोस्,' मैले हवल्दारलाई भनेँ । 'उ, उस्लाई लगेर थुनामा राख्नोस् ! छुट्टै राख्नु, अरुसँग नमिसाइ । उ माथि कडा निगरानी राख्नुहोला । उ सुसाइड वाचमा छे अब ! सो बि केयरफुल म भोली बिहान आएर थप बयान लिन्छु । अहिलेलाई म घरतिर लाग्छु । बालख छोरो एक्लै छ घरमा आत्तीसक्यो होला !'
'हुन्छ सा'ब,' हवल्दारले भनें । 'त्यस्को चिन्ता लिनुपर्दैन तपाईंले । बरु मृतकको गोजीबाट एउटा चिठ्ठी बरामद भएको छ,' म तिर चिट्ठी दिदैँ भने ।
मैले चिठ्ठी गोजीमा हालेँ र त्यहाँबाट निस्किएँ । घर पुगेर चिठ्ठी गोजीबाट निकालेर पढ्न थालेँ ।

भुवन,
तिमीलाई अरुभन्दा अल्ली फरक देखेँ। प्रायले बाहिरी बनावट हेर्छन्। लाग्यो तिमीले म भित्रको मनलाई हेर्यौ। कसैसँग, मेरा मिल्ने केटीसाथीहरुसँग पनि नगरेका कुराहरु मैले तिमीसँग बाँडे। मरी जाउँ, म तिमीसँग जती उदाङ्ग कसैसँग पनि भएकीछैन आजको दिनसम्म पनि। 'हाम्रा कुरा हामीसङगै रहन्छन्' मलाई आश्वासन दियौ। अझ मेरो टाउकोमा हात राखेर 'तिम्रो कसम,' बाचा गर्यौ। याद छ? तिमीले मलाई यो संसारकै सबैभन्दा राम्री बनायौ - बातले। चन्द्रमा, पहाड, झरना, नदी, सागर, तारा, फुल,.... सब्बै मेरा अगाडि फिक्का बनाइदियौ - बातले। मेरोलागी 'प्रचन्ड गर्मीमा सितल छाहारी', 'आँधीहुरी रोक्ने अटल पहाड', 'पुष-माघको जाडोमा न्यानो राप'... बन्यौ - बातले। उज्वल भविस्यको सुन्दर सपना, हामी दुई र हाम्रो सन्तान सुख देखायौ - बातले। तर तिमीले बात अनुसारको बर्ताव देखाएनौ, अहँ। मैले त तिमीलाई आचरणको आचार्य सम्झेँकी थिएँ तर तिमी त बातको बाद्साह मात्र निस्कियौ। आज मेरो शरीरको कोष-कोषले तिमीलाई घ्रिणा गर्छ। वाध्य तिमीले नै बनाएका हौ।

मैले माथि तिमीलाई 'भुवन' भनेर यो पत्र सुरु गरेँ। किन कि मेरा लागि तिम्रो नामको अगाडि कुनै बिशेषण सुहाउदैनन्। बिशेषणको लागि त बिशेष हुनुपर्‍यो, जुन तिमी अब रहेनौ। बाँकी रहेकाछन् त केवल तिम्रो यादका रहलपहल अवसेशहरु र तिनलाई पनि रगड्दैछु। एकदिन अवस्य मेटिनेछन्। झुसिलकिराले पात छियाछीया पारे झैँ तिमीले मेरो मनमा सानासाना तर धेरै छेद पार्नखोज्यौ। तर तिमीले यती कुरा बुझ कि म पात हैन। म त सिङ्गो रुख हुँ। हाँगाबिगाँ भएर फैलिदै गरेको रुख। दुईचार वटा पात रुखबाट खसे त के भो? फेरी नयाँ पलाउनेछन्, पलाउँदैछन्।
 
'घरेलु कामदार' भएर यो मरभुमी देशमा अर्काको नानीको गु-मुत सोरेर बसेकी छु। एकै दिन, एकै छिन फुर्सद मिल्दैन। तिनै छाक खान मिल्ने त केवल हेला र हप्काइ मात्र हो। नेपालबाट आएर यो घरमा छिरेदेखी, आज २ बर्ष भयो, घरबाट एक पाइला निकाल्न पाएकी छैन। चाहेको भए तिमी आँफै पनि बिदेसिन सक्थ्यौ। तर हैन, तिमीले मलाई पठाउन कसरत गर्यौ। भन्यौ - ' केटी मान्छेलाई भिसा सजिलै मिल्छ। मैले यो सब हाम्रै भविस्यको लागि गर्दैछु।' बल्ल आज आएर बुझ्दैछु तिमीले हाम्रो हैन केवल आफ्नोलागी यो सब गरेका रहेछौ। केवल आफ्नो भविस्यको लागि। मुखले 'हाम्रो' भनेर ठीक्क पारे पनि तिम्रो कालो मनमा केवल 'म' र 'मेरो' मात्र रहेछ। तिम्रा लागि त म कमाइ खाने भाँडो बनेकी रहेछु, बल्ल चेत हुँदैछ। ३० बर्ष भन्दा माथिका महिलाहरुले मात्र बैदेसिक रोगजारमा घरेलु कामदार भएर जान पाउने हदबन्दी नियम नेपाल सरकारले लगाएको थियो। तिमीले बैदेसिक रोजगार बिभागबाट कम्पनीमा काम गर्न जाने स्वीकृति लियौ र खाडी मुलुकमा घरेलु कामको लागि भित्री चाजोबाँजो मिलायौ। तिमीलाई जसरी हुन्छ मलाई पन्छाउनु रहेछ, सफल भयौ। गर्भमा हुर्किदैँ गरेको पाँच महिनाको नानीलाई समेत तिमीले बाँकी राखेनौ। अनेक ताना बुनेर मलाई गर्भपात गराउन बाध्य बनायौँ। त्यस्तो कठोर निर्णय लिएकोमा म आजसम्म पनि आफुलाई माफ दिन सक्दिन। माफि दिन लायकको काम हैन भ्रुणहत्या। आफ्नो बच्चा गिराएर अर्काको बच्चा हेर्न आ'की म! बोकाको मुखमा कुभिन्डो नअँटेको, शायद तिमीजस्तै लाई भन्छन्। थुइक्क, म जानु अघी गोही आँसु झार्यौ है? ढोङ्गी।  

मेरी सानीमाकी छोरी पम्फाले मलाई सब बताइसकिन्। तिनी पनि अस्ती भर्खर साउदी आइपुगिन्। कसरी-कसरी मेरो ठेगाना पत्ता लाइछिन् र मलाई भेट्न भनेर एकजना अर्की साथीसँग आइन्। तिमीले बनेपामा अर्की राँड पालेर राखेको कुरो उस्ले रुँदै भनी। जाँड, रक्सी, तास-जुवा र रण्डीबाजी तिम्रो दिनचर्या बनेको छ रे। अरु त अरु मेरो बारेमा पनि नचाहिँदा हल्लाबाजी गर्दै हिड्छौ भन्ने सुनेँ। 'त्यो कतारको अर्कै जार आमिनसँग सल्केकीछे,' 'सुको दाम पठाउदिन,' 'त्यो भालु हो भालु,' भन्दै मलाई दुनियाँको अघाडी सराप्ने गर्छौ रे। मान्छे यतीसम्म पनि गिर्न, निच हुनसक्दो रहेछ। पम्फाले आउने बेलामा ‘बा-आमा भेटेर आ'की दिदी’ भनेर सुनाइ। मेरा बा-आमाबाट मेरो फोन नम्बर र मेरो यताको ठेगाना तिमीले गोप्य राखेको कुरो उस्ले बताइ। बा-आमाले मलाई लेखेका चिठ्ठीहरु तिमिले लुकाएर आँफै लेख्ने गरेको कुरो आज चाल पाउँदैछु। म चाँही यहाँ बा-आमाको खुशी र आशिर्वाद पाएको भ्रममा सारा दु:ख बिर्सन्थेँ। आफुलाई भाग्यमानी ठान्थेँ। मेरो माइतमा पनि फोन लाइन राखीदेउ भनेर लाखौं आग्रह गरें हुलाँ तिमीलाई। अर्को हप्ता, अर्को महिना भनेर कुरा चपाउँदै गयौ। मैले यहाँबाट पठाएको मोबाइल पनि त्यै राँडलाई बुझायौ होला हैन? तिमीले मेरो बारेमा गरेका वाहियात कुराहरु मेरा बा-आमाले कसरी सुन्न सक्नुहुन्छ होला? मेरो बारेमा जे भने पनि मेरो बा-आमालाई तिमीले दिएको कस्टको लागि भगवान नै आएर 'माफ गर्दे' भने पनि म कुनै हालतमा गर्ने छैन। तिमी त मान्छेको भेसमा राक्षस पो रहेछौ। तर यती कुरा याद राख कि हरेक राक्षसको अन्त्य निस्चित हुन्छ। तिम्रो यो आवारापन र गुण्डागर्दीको परिणाम सुद समेत असुल हुनेछ यही जन्ममा, लेखेरै राख।  

एउटा कुरा के स्पस्ट हौ तिमी अब भने, यो मेरो तिमीलाई अन्तिम पत्र हुनेछ। अब आइन्दा मलाई संपर्क गर्ने कोशीस तिमीले गर्दा पनि नगर्नु। आजसम्म मेरो जीवनको फैसला तिमीले गर्यौ र मैले त्यस्लाई सहर्स स्विकारेँ पनि। अहँ, नाइ, हुँदैन जस्ता शब्द मैले कहिल्यै प्रयोग गरेको याद छ तिमीलाई? तर अब तिम्रालागी मैले प्रयोग गर्ने शब्द यिनै हुन्। अँह, म तिमीसँग कुनै ताल्लुकात राख्न चाहन्न। नाँइ, तिम्रो खोक्रो माया मलाई चाहिएन। हुँदैन, अब आइन्दा तिमीले भने बमोजिम हुँदैन। मेरो जिम्मा म आँफैले लिएँ। म आफ्नै खटनमा चल्नेछु। मेरो बा-आमाको जिम्मा मेरो हो। म आँउदैछु छिट्टै। तिम्रो नालायकीपन अब धेरै दिन टिक्ने छैनन्। यो लीलाकुमारीको सोझोपन खुब भोग्यौ अब मेरो अर्को पाटोको लागि तयार भएर बस्नु। यो मेरो चुनौती भो!
अहिलेलाई यती बुझीराख!

लीला
.
.
.
…..
म स्तब्ध हुन्छु लीलाको चिट्ठी पढेर । उस्ले लेखेका शब्दहरु वाक्य हुँदै मेरो मस्तिस्कमा पुगेर द्रिस्य बन्दै जान्थे । त्यो छल, कपट, पिडा म देख्दै जान्थेँ - द्रिस्यमा ।
म निकै गहिरो सोचमा डुब्छु । मेरो फोनमा आएको मेसेजको 'टिङ्टिङ्' ले म झसङ्ग हुन्छु । कान्तिपुर पब्लिकेसनमा कार्यरत एक जना पत्रकार भाई संयोगको मेसेज रहेछ । उन्ले धेरै पटक फोन गरिसके कुनै अर्कै केसको बारेमा बुझ्न । मैले उस्को जवाफ दे'की छैन - न फोनमा न मेसेजमा । ‘आज त कुरा गर्नै पर्‍यो’ सोचेर म उस्लाई कल गर्छु । 'हेलो संयोग भाई, म इनिस्पेक्टरनी राधा धिताल....' म दोषी हाँसो हल्का छोड्दै भन्छु ।   
पत्रकार भाईसँग कुरा सकेर हवल्दारलाई फोन गरेँ । त्यो रात एक निद्रा नसुती छ्याङ्ग हुन्छ ।

आज...

करिब पाँच बजे बिहान म थाना पुग्छु । ६ बजे म एरपोर्ट पुग्छु अनी त्यस्को केहीबेरमा टिचिङ् हस्पिटल । हवल्दार मलाई देखेर म भए तिर आउँछन् । कान्तीपुर पत्रीका मेरो हातमा थमाउदै भन्छन् - 'यो पढ्नुहोला ।' उ हलुका हाँस्छ अनी थप्छ - 'म अहिलेलाई बिदा हुन्छु, जयनेपाल ।'
'थ्याङ्क्यु, जयनेपाल,' म उस्लाई बिदा दिन्छु । पत्रीकाको एउटा खबरमा गएर मेरा आँखा अडिन्छन् ---

कान्तिपुर संवाद्‍दाता - काठमाडौ, पुस - पछिल्लो समयमा राजधानीमा बेवारिसे शवहरू भेटिने क्रम बढेको गत देखि हालसम्म विभिन्न स्थानमा सात वटा बेवारिसे लास फेला परेका छन् बिहानको समयमा लासहरू भेटिन थालेको महानगरीय प्रहरी परिसर काठमाडौंकि इन्स्पेक्टर राधा धितालले जनाएकीछिन्

साँझ जाडोका बेला मादक पदार्थ सेवन गरेर भुइँमा सुत्नेहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला पर्ने गरेको प्रहरीले जनाएको मंगलबार डिल्लीबजारस्थित चारखाल सडक पेटीमा एउटा लास बरामद भएको सो लासको गोजीबाट बारामद मोटरसाइकलको लाइसेन्समा नाम भुवनराज पुडासैनि भन्ने बुजिएको फेला पारेको बेवारिसे लास प्रहरीले २५ दिनसम्म महाराजगन्ज स्थित शिक्षण अस्पतालम राख्ने गरेको
प्रकाशित मिति: २०६६ पुस
.
.
पत्रीका पट्याएर म बाहिर निस्कन्छु । आकाशमा बोइङ् जहाज बेतोडले उक्लिदै हुन्छ - पर, पर, पर पुगेर त्यो बिलाउँछ।

समाप्त !!
सुरेश 'समान'