Monday, January 14, 2013

अन्तिम सिन!

"के लेख्दैछस ओए?"
"स्क्रिप्ट"
"फिलिम बनाउन लागिस कि के हो?"
"सोच्दैछु"
"को हिरो?"
"हेरुँ"
"हिरोइन नि?"
"खै!"
"के को बारेमा हो?"
"प्रेमीप्रेमिका"
"फिलीममा ड्रामा, एक्सन, रोमान्स, कमेडी, हरर, सस्पेन्स, क्राइम सब छ नि?"
"सब त छैन!"
"के छ त?"
"कहिल्यै भेट नभाको केटा र केटीको प्रेम र बिछोड"
"के रे? कहिल्यै भेट नभाको केटा र केटीको प्रेम र बिछोड रे?"
"एस"
"हरे शिव! अनी त्यो कहिल्यै भेट नभाको केटा र केटीले प्रेम गर्न चैँ कैले भेटे? प्रेम गर्न त भेट्नुपर्‍यो नि एकअर्कालाई! अनी बिछोड रे? बिछोड हुन त पैला भेट्नुपर्‍यो नि, हैन?"
"हो"
"अनी के भनेको त? कि त्यो हिन्दी मुभी 'सिर्फ तुम' जस्तो चिठीपत्रबाट लभ पर्ने हो?"
"हैन... पत्र, इमेल, फोन, च्याट केहीबाट पनि हैन।"
"एक अर्काको नाम नि? था हुन्छ नाम?"
"अहँ"
"हरे शिव! त्यसो भए हिरो-हिरोनीले एकअर्कालाई फिलिमभरी भेट्दैनन, चिन्दैनन, देखेको-बोलेको पनि हुँदैनन, एकअर्काको बारेमा सुनेकोपनी हुँदैनन तर लभ चै बबाल हुन्छ ति दुई को बिच। तै हैन भन्न खोजेको?"
"एस" 
"अनी ति दुईको बिछोड हुन्छहोला लास्टमा, हैन?"
"लास्टमा हैन सुरुमै?"
"ए ए ए, भेट्दै नभेटेकाको सुरुमै बिछोड हुन्छ अनी फेरी ति अजनबीले एकअर्कालाई चिन्दै नचिनी लभ गर्छन उसो भे!"
"एस"
"वाह! राइटरनी खतरा रे'छ स्टोरी त। मलाई नि यो लभस्टोरी पढ्दै नपढी मनपर्‍यो। यो फिलिम त बन्दै नबनी हिटभयो ल! दर्सकहरुले पनि हेर्दै नहेरी यो मनपराउँछन अनी फिलिम चल्दै नचली तँ करोडपती हुन्छेस... हा हा हा!"
"हाँस हाँस। पछी टिकट माग्न आइस भने जानेकी छु!"
"ए साची, मुभीको नाम चैं के हो? 'भेट्दै नभेटी?' हो कि? हा हा!"
"नजर"
"हिन्दी?"
"हैन, नेपाली 'नजर'।"
"छ हैन र 'नजर' भन्ने मुभी त?"
"खै! भए नि होस्। नाम चेन्ज हुँदैन।"
"कती लेखीसकिस त?"
"अन्तिम सिनमा छु।"
"ए ल ल"
.
.
.
*** 

Saturday, January 12, 2013

लोग्नेमान्छे - कथा

मेरी हजुरआमा कान सुन्नुहुन्न। ठुलो स्वरले कानैमा चिच्याए पछी मात्र २-४ शब्द टिपेर कुरोको सार बुझ्नुहुन्छ। दुईबर्ष भो काकाले बेलायतबाट कान सुन्ने मेसिन पठाइदिन्छु भन्नुभएको। हजुरामाले आस मार्नु भा छैन। " कान त त्यो के जाती मेसिन आएपछी सुनुला, आँखा नि देख्न छोडे नाती" अस्ती भर्खर हजुरामाले मलाई भन्दैहुनुन्थ्यो ।
"तैले के के सुन्छस, के के देख्छस मलाई कानमा आएर बता न बाबै" सेता खरानीको एक चिम्टी चोर औँला र बुढी औंलामा च्यापेर कपासको बाती कात्दै मलाई भन्नुभयो । हजुरामाको देब्रे हातको फुसफुसे कपास, दाहिने हातले निमोठिदै लामो डोरी हुँदै तन्कन्थे। बेलाबेलामा बाटैमा चुटटिन्थे। फेरी गाँस्नु हुन्थ्यो र ति जोडीन्थे अनी पहिला जस्तै सग्ला बन्थे। तीन फन्को लाएपछी मज्जाको दरो 'बाती' बन्थ्यो। लाखबाती बाल्ने योजना बनाउनुभाछ वँहाले पित्रीको नाममा रे !   
हजुरामाको कुरा सुनेर वँहाको चाउरी परेको अनुहारका अनी हातका छाला जस्तै मुजैमुजा पर्छु म र केही बोल्दिन। बोल्न सके पो बोल्नु। मलाई डर छ - यदी हजुरआमालाई मैले देखेको, सुनेको कुरा बताँए र वँहाले मलाई -"अनी तँ के हेरेर बसिराछस?" प्रश्न गर्नु भो भने? मैले के उत्तर दिने? "म पनि 'चुप्चाप क्लब' को सकृय सदस्य हुँ" भन्नु भएन। ल ठीक छ कुनै बाहना बनाउँला - काम बढी भा'को, दाम कम भाको आदी। तर के ति अनुभवी मन, मुटु र चेतले मेरो कुरा पत्याउलान? वहाँलाई अहिले टाल्टुले उत्तर दिएर पछी - "म तपाईंकै छोरीको छोरो हुँ…तपाईंकै नाती हुँ...." कुन निधार लिएर दसैंमा टिका थाप्न जानु? वहाँले पनि टाल्टुले आसिश दिनु भो भने?
"सबै उस्तै त हो नि! सब ठीक छ हजुरामा" मैले कामचलाऊ उत्तर दिएँ।    
"जो आए पनि 'सब ठीक छ', 'राम्रो छ' भनेर यो कान नसुन्ने बुढीलाई ठीक्क पार्छन र जान्छन। तँ पनि उही ड्याङको मुला न परिस। तर बाबै… मलाई सब था हुन्छ - के ठीक छ अनी के नराम्रो छ। मेरा इन्द्रीयले सब बताउँछन। तिमेरु जम्मैको उमेर भोगेकी छु मैले।" मेरो कामचलाऊ उत्तरले हजुरआमा मान्नुहुन्छ जस्तो लागेन।
"घोर कलियुग लागेको छ हजुरामा आजकल, खै के के मात्र सुनाँउ तपाईंलाई!" मैले अली ठुलो स्वरमा चिच्याएँ। अघीको काम चलाऊ उत्तर भन्दा दुईचार शब्द लामो।
“तेरा बोली पनि धोध्रिएछन्," वहाँले भन्नुभयो । मैले अघी भनेको सुन्नुभयो जस्तो लागेन ।
"ए साची, ति थिन् नि... माथ्लाघरे काजीकी छोरी... के नाम हो तीनको... सुद्दीपनी हराइसक्यो कान र आँखा त गए गए। के रे नाती नाउँ?" प्रसँग बद्लिदै हजुरामाले सोध्नुभयो।

Saturday, December 29, 2012

Haiku ( हाईकू )

1.
चिसा दाउरा
पिरो धुँवा,
झुक्याउने आँसु !!

2.
गुलियो चिनी
कडा रङ्ग,
खल्लो चिया ।।

3.
मेरो कोशीस
तिम्रो ढिट,
एक हाते ताली ।।

4.
बिदेशी छोरो
फर्किन्छ देश,
नर्स बुहारी  ।।

5.
रित्तो गाग्री
उल्टो चप्पल,
केरा जस्तो !!

Wednesday, November 14, 2012

लग्यो, लग्यो..


लग्यो, लग्यो..
झुटा तारिफको फुल सजाउनेले लग्यो
बाटोमा सिठ्ठी बजाउनेले लग्यो
म लठ्ठु - माया दबाएर बसेँ
उ हिँडी, डलर भजाउनेले लग्यो ।।
--
एस. एन.

तिम्रो ह्यान्ड-ब्याग हुन पाए..


कैले काखीमा च्याप्थ्यौ होली
बस्दा काखमा राख्थ्यौ होली
तिम्रो ह्यान्ड-ब्याग हुन पाए
झुन्डिदिन्थे यसैगरी
झुन्डिदिन्थे सधैंभरी !!

साँचो, पैसा, गर-गहना
विश्वाशले नै राख्थ्यौ होली
म तिम्रो भार बोक्थें होला
तिमी मलाई बोक्थ्यौ होली
तिम्रो ह्यान्ड-ब्याग हुन पाए
झुन्डिदिन्थे यसैगरी
झुन्डिदिन्थे सधैंभरी !!

गुलाबी साडी, म्याचिङ ब्याग
लजाँउदै ऐना हेर्थ्यौ होली
सुम्सुम्याउँदै, मुस्कुराउँदै
"मेरो ब्याग" भन्थ्यौ होली
तिम्रो ह्यान्ड-ब्याग हुन पाए
झुन्डिदिन्थे यसैगरी
झुन्डिदिन्थे सधैंभरी !!
--
एस. एन.

सोध..

गतिसिल यो हावाको बेगलाई सोध
सगरमा बाक्लिँदा ति मेघलाई सोध
हाम्रै लागि शान्त भयो गड्गडाउँदो बादल पनि
जुन, तारा, ग्रह, नक्षत्र - हर एकलाई सोध ।।

खाल्डा खुल्डी हुँदै मोडिएको सडकलाई सोध
जर्जर हुँदै दैडिएको टडकलाई सोध
मलाई देखी नदेखे जस्तो - हिँड्यौ तिमी 
झिलिमिली यो शहरको तडक्भडकलाई सोध
---
एस. एन.