Monday, July 25, 2011

प्रियसी तिम्रैलागी (कबिता)

(उक्त कबिता म कक्षा ८ मा पढदा लेखेको हो ।)
 
यदी माया छैन भने नहेर प्रिय त्यसरी
तिम्रो मोहनी आँखामा आँखा जुधाउन सक्छु कसरी ?
तिमीलाई देखेपछी कुन्नी के हुन्छ, यो मेरो मन थामिदैन
कतै मेरो जस्ताइ तिमीलाई पनि हुने गर्दैन ?

रातदिन साँझ बिहान आइरहन्छ तिम्रै झझल्को
नराख तिमी आफ्नो दिलमा बाहेक कुनै अर्को
कसरी सहन सकुँला त्यो आत्माघाती चोट
केवल चाहन्छु तिमीलाई एकान्तमा भेट्न

भोक, तिर्खा, रोग, सोक, निद्राको यादै हुँदैन
आत्तिएको यो मनलाई सम्झाउनै सकिदैन
तिम्रो त्यो सिसाजस्तो जिउमात्र हेरिरहुँ जस्तो लाग्छ
तर तिमी सामु पर्दा यो मन खै किन किन एकाएक भागछ ।। 

चामलकै पिठो जस्तो वर्ण, लामालामा आँखा
झरना जस्तो केश, त्यस्मा सुन्दर सुन्दर भेस
अनी हातगोडाका तिम्रा सुलुत्त परेका औंला
आदिले मलाई बनाइ नै सके बौलाहा ।।

नहाँस तिमी कड्के घाटी छड्के आँखाले हेरी
लाने अवस्य नै छु एक्दिन सिँउदोमा सिन्दुर हाली
तिमी मेरो लागि कुनै उर्वसी भन्दा काम छैनौ
तिमीलाई माया गर्छु; यो कुरा तिमीले किन बुझेकी हैनौ ?

मेरो सुख दु:खमा साथ दिनसक्ने तिमीलाई नै देखेको छु
मेरो मुटुको कुनाकुनामा तिम्रै नाम मात्र लेखेको छु
तिमीलाई मेरो बनाइदिनु भनी भगवान सँग प्रथाना गर्दछु
तिमी मेरो सम्मुख नहुँदा जिउँदै नै मर्दछु ।।

तिमीलाई पाउने यो मेरो कल्पना
कतै हुने होइन रातभरीको एक सपना
तिम्रो मायाको त्रिस्णा लागेको मलाई
तिम्रो चालले मलाई मारी नै सक्यो जलाई ।।


हामी एकअर्काको लागि नै जन्मेका हौँ
जन्म जन्म एकअर्काको साथ पनि छोड्ने छैनौं
जुनी जुनी म तिमीलाई पर्खि बसुलाँ
यही कुरा म तिम्रो मुखबाट कहिले सुन्न सकुँला ।।

आकाशका तारा तिम्रोलागी ल्याइदिँउ कि धर्तिमा टिपेर
तिम्रो लागि त म मर्न पनि तयार छु झुन्डिएर
तिम्रो त्यो फुल सरी जीवनमा शुभास बनी आउनेछु
तिम्रो सोचाइ, बोलाई, र हेराइमा म नै म छाउने छु ।।

तिम्रो नजरको तिरले मेरो छाती छिया छिया छ पारेको
शायद भगवानले हुनुपर्छ तिमीलाई फुर्सदमै बनाएको
मेरो यो मायालाई तिमीले नबुझेको किन
अब त तिमीबिना एकपल पनि सक्दिन जिउन ।।

कुरा सुन्छु एउटाको, याद हुन्छ मनमा तिम्रो
तिमी मेरी प्यारी, म कहिले हुन्छु तिम्रो प्यारो
कहाँ हो तिम्रो घर, कहाँ हो तिम्रो ठेगाना
तिम्रो रुपले किन आन्दोलन मच्चाएको मेरो मनमा ।।

साथी-सङगीका कुरा सुनी तिमी चुपचाप नहिंड
नत्र तिमी पछी फेरी थालने छौ पछुताउन
मेरो यो कुरा तिमी आफ्नो मनमा दर्हो गरी उन
चाडो गरी तिमी मलाई आफ्नो जीवनसाथी चुन ।।

न त तिमीलाई पाउन नै म सक्छु न त बिर्सन
कति को फुर्सद छ तिमीलाई मेरो बारेमा सम्झन
अहिले, पहिले, उहिले, जहिले
कहिले पो भुल्न सकेको छु तिमीलाई मैले ।।

नलजाउ तिमी अहिले देखी नै यसरी
यस्तै हो भने हाम्रो जीवन चल्छ कसरी
आउ मेरो जीवनमा तिमी बनी बसन्त बहार
तिम्रो लागि थुप्रै थुप्रै राखेको छु यो मनमा प्यार ।।

जब तिमी हाँस्छौ मुहार उज्यालो पारी मस्की मस्की
साथीहरु जिस्काउँछन मलाई तिम्रै नाम लिइ
अहिलेको हैन यो हाम्रो भेटघाट
आउ एकआपसमा गरौं हामी यो मनको साटासाट ।।

थाहा छैन तिमीलाई मनाउन म पत्र लेखुँ कसरी
तिमी रिसाउने पो हौ कि भनी डर लाग्छ बेसरी
हिड्छु म सधैं तिम्रो मुहार मस्तस्कमा बोकी
म जती नजिक आँउछु तिमी किन त्यती नै टाढा-टाढा भाकी ?

खाने मुखलाई जुङ्गा ले त अवस्य पनि छेक्दैन
तिम्रो मेरो प्रेमलाई जस्ताइ हुरी बतासले रोक्दैन
राख मेरो हातमा तिमी आफ्नो हात
राख्न चान्छु तिमीलाई म सधैं आफ्नो साथ ।।

तिमीबिनाको जीवन त मृत्‍यु सरह लाग्न थाल्यो
किन पो मलाई यती धेरै रातदिन सताएको
अब त आइदेउ मेरो जीवनमा सकेसम्म चाडो
तिमीबिनाको जीवनमा न त गर्मी छ, न छ जाडो ।।

एस. एन.

Sunday, July 24, 2011

दुई शब्द (कबिता)

आज त पढ्न त्यतिकै भो
भोली देखी राम्रो पढ्छु
भोली पनि आजै भई दिन्छ
म चाँही भोली भोली भन्ने गर्छु।।।
- विद्यार्थी
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

फर्की आउँदा बाटोभरी काँडाहरुले कोरिएछ,
उदास लाग्छ जिन्दगी यो बसन्त नै चोरिएछ,
खोजी खोजी सम्हालिदेउ मेरी मायालु,
सिङै मुटु तिम्रो सामु थाहै नपाई छोडिएछ।।।

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

धेरै बर्ष पछी आज अचानक मेरो डायरी पल्टाएर हेर्दा यी भावनाहरु मेटिने अवस्थामा पुगी सकेका रहिछन। मेरा यी भावनाहरु यहाँहरु समक्छ्य पोख्ने कोशीस गरेको छु, आसा छ यहाँहरुले मुल्यानकन गरिदिनु हुन्छ भन्ने। साहित्य निकै फराकिलो छ। यस्को कुनै सिमान छैन,न त यस्लाई कुनै गाई-भैसी बाँध्ने डोरीले बाध्न सक्छ, न कुनै भुँईचालोले डग्मगाउननै-यो त आँफै मा छ र यो हामी भित्रै छ। भनीएकै छ नि "जहाँ सुर्यको किरण पुग्न सक्दैन, त्यहाँ साहित्यको न्यानोपन पुग्न सक्छ"। मेरो बिचारमा हरेक मान्छेमा यौटा कवी लुकेर बसेको हुन्छ, दु:ख कस्लाई परेको छैन- सानो - ठुलो, आज सम्म दु:ख परेर नरुने को होला र, म त रोको छु, ठुलो भएर पनि रोको छु र मलाई थाहा छ- तिमी पनि रोको छौ, ठुलै हुँदा; सुखको अनुभव कस्ले गरेको छैन होला र? एउटा प्लास्टिक टिपेर हिंड्ने केटो ठुलो-ठुलो प्लास्टिक भेट्दा खुशी हुन्छ, एउटा कर्मचारी तलब आउँदा खुशी हुन्छ, एउटा प्रेमी प्रेममा खुशी हुन्छ,एउटा चित्रकार आफ्नो रङमा खुशी हुन्छ।।। मेरो तात्पर्य के हो भने हामी सबै सँग आनुभव छ- खुशीको, दु:खको, रिसको, मायाको, यात्राको, जाडोको, गर्मिको, कामको, बेकामको, दिनको, रातको, साथीभाइको, घरपरिवार्को, छर्छिमेक्को, आदी आदी सबैको। हाम्रो मनमा पनि अनेकन कुरा खेल्छन- कैले राम्रो, कैले नराम्रो।। यी सबै कुराहरुलाई कसैले लेखन मार्फत दर्साउदै जान्छ भने उस्लाई म आदर गर्छु। आहिले लाई २-४ ओटा मुक्तक, कविता जे भनु, यहाँहरु सामु खन्याउदैछु,,आनन्दसँग भिज्नोस।।


आज भोली किन किन डर झै लाग्छ
आँफैबाट छलिएर भाग्न मन लाग्छ
ढक्ढक्याउदै बन्द ढोका कती बेर कुँरु
पोखीएर छताछुल्ल बग्न मन लाग्छ।।

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

मेरो झन्डाले मलाई बोलायो- "के म जाँउ"?
तँ नआये मलाई लैजा भन्छ- "के म ल्याउँ?"
म र मेरो झन्डा बिच यस्तै द्वन्द चल्छ..
अन्त्यमा म भन्छु - "भैगो म नै आँउछु"
झन्डा भन्छ - "तँ सँग अरु को को आउँदैछन"?

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

केही लेख्छु भनी कलम उठाउँछु,वाक्य फुट्दैन
मनका सबै कुरा आज लेख्छु भन्छु, सुरुवात हुँदैन
हिजो आज किन किन लामो लाग्छ दिन
रात परे सुत्छु भन्छु, रातै हुँदैन
केही लेख्छु भनी कलम उठाउँछु,वाक्य फुट्दैन।।।।।।

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

जडिँया लोग्ने लाई कुरेर बसेकी स्वास्नी मान्छे
मेरो लोग्ने जस्तो महान कोही छैन भन्छे,
उस्ले वास्तबीक्ता लुकाई रहेकी छ, वा वास्तविकताले उस्लाई
फेरी बिहान हुन्छ,फेरी रात दोहोरिन्छ, कुकुर भुक्छ,
जडिँया लोग्ने लाई कुरेर बसेकी स्वास्नी मान्छे,,,,,,,

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

अस्ती खेल सिकाँये,
हिजो खेल खेल्यौ,
आज,
तिमीले जित्यौ,मैले हारेँ।।

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
अस्ती पाठ पढाये,
हिजो पाठ पढ्यौ,
आज,
तिमी गुरु,म चेला ।।।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

सम्झी रहनु पर्दैन तिमीले, नबिर्सिदिये पुग्छ,,
आन्फो भनी रहनु पर्दैन तिमीले, अर्को नसम्झे पुग्छ।।।।

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

मैले तिमीलाई मन पराये,
तिमीले मलाई बाल दिएनौ
तिमीले उस्लाई मन परायौ,
उस्ले तिमीलाई बाल दिएन,
प्रिय खुच्चिङ।।।।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
एस एन

छोरी (कथा)

कोटेश्वरदेखी लगनखेल कुमारिपाटी जाने ट्याम्फु चढे। सात बजे कलेज पुग्नु पर्ने आज अली ढिला उठियो।
नरमाईलो लागिरा छ। निद्रामा कती खेर अलार्म बन्द गरेर फेरी सुतेछु, पत्तो भएन। म आधा निद्रामानै छु।
ट्याम्फुको झर्को लाग्दो पट पट पट, ट्याक, ट्याक, बाल्कुमारी, ग्वार्को, सात दोबाटो, लगनखेल, लगनखेल,,,,,'ल हिंड्यो, हिंड्यो,,,ए दाई यता यता, सिट खाली, सिट खाली,,' खलासी कराइराको छ। त्यतिकैमा एक जना मिन पचासकी जस्ती देखिने आईमाईले 'ए भाई! यो पाटन होस्पिटल जान्छ?' भनेर खलासिलाई सोधिन। 'ए ल बस्नुस् म तपाईंलाई होस्पिटल भित्रै पुर्याइ दिन्छु' खलासिले जवाफ फर्कायो। मलाई त्यो खलासिको हाउभाउ पटक्ककै मन परेको छैन। हुन त उस्को कामै प्यासेन्जर बोलाउने,जती मान्छे खांदे पनि 'सिट खाली, सिट खाली' भन्नु नै हो। एक फेर हप्काउन त मन थियो तर चुपै लागे। एउटा ट्राफिक सिट्ठी बजाउदैं ट्याम्फुतिर आउँदै गरेको देखेर हो कि के हो, ड्राइभर ले 'ल भाई जाम' भनेर हुइंकायो। म ढोकाकै छेउमा बसेको छु र ति आईमाई मेरो ठ्याकै सामुन्नेमा छिन। लामो सलक्क परेको कपाल, भर्खर नुहाएर कपाल स्ट्रेट गरेको जस्तो, २-४ दिन अगाडि रातो पनि लाएको हुनु पर्छ;ओठमा कलेजी लिप्स्टिक, गालपनी ह्रीस्ट पुस्ट, मोटो तिलहरी-छड्के पारेर लाएको, कानमा टुप्लुक्क टुप्लुक्क दुइटा मोतीको डल्लो जस्तो-मोती नै त होल! नि, सफा भर्खर गोद्रेजबाट निकालेर लाएको जस्तो फुल्बुट्टे साडी, साडिको कलरसँग मिल्ने गुलाबी चोलो, हातभरी रङिबिरङी चुरा, सिको घडी, लाग्छ ति कुनै खान्दानी घरकी गृहणी हुन र कुनै भोजमा गइरा छिन। अली 'मोड्रन' बुढी रइछझैं लाग्यो। नचाहंदा नचाहंदै पनि सबै यात्रुहरुलाई उस्ले आफुमा केन्द्रित गरिरकी छिन। सबैको मनमा पक्कै पनि केही न केही कुरा खेली रहेको अनुमान गर्न सकिन्छ। खलासी फेरी करायो 'बाल्कुमारी, ग्वार्को, सात दोबाटो, लगनखेल, लगनखेल।'ट्याम्फु ग्वार्कोमा पुग्यो, दुइजना ओर्लिये। त्यतिकैमा फोनको घन्टी बज्न थालयो, सबैको ध्यान फेरी तिनै आईमाई तिर। उनले आफो हाते पर्सबाट हत्तनपत्त फोन निकलिन र देब्रे हातले फोन उठाउंदै भनिन:

"हेल्लो हेल्लो
------------
अं भन , सुन्दै छु,
----------------
म ट्याम्फुमा छु नि, ड्याडी बिहानै कता लाग्नु भयो, अनी यै ट्याम्फु भा नि चडेर आउन लग्या
-------------------
अनी देखाएउ त डाक्टरलाई ?
----------------------
फेरी देखाउनु पर्छ भनेको हैन?
----------------------
ए ए उसो भा देखाको? के रइछ था भो?
---------------------
अँ अँ
--------------------
हँ ?
----------------------
के भन्छ? अल्ट्रा साउन्डमा देखाको रे?
----------------------
ए त्यइत म त ,,,,,,,, ए उसो भये छोरी? छोरो हुनु पर्ने त पुरेतबाले भने अनुसार? सबै बिधी पनि पुर्याकै हो,,
---------------------
ए लौ उसो भा, ठिकै छ, पहिलो बच्चा, जे भये नि के भो र तलाई नि छोरी मन पर्ने, अब के गर्नु बदल्न नमिल्ने।
-----------------------
लौ लौ जेठिकीले पनि छोरी जन्माउन सकिन,, अब तेरो पनि,,
---------------------
ल ल राखेँ।“

अघी सम्मा काँक्रोको चिरा जस्ती रसिली देखिने ति बुढी, ऐले अस्ताउन लगेको घाम जस्ती राती भइन।
'ल पाटन होस्पिटल आयो' खलासी चिह्यायो। ' ए जाउलाखेल, पुल्चोक, कुपोन्डोल, माइतिघर, ल गयो गयो.....' पाटन होस्पिटलमा कोही पनि उत्रेनन। ति आईमाई घोसे मुन्टो लाएर फोन खेलाउँदै छिन। म कुमारीपाटिमा उत्रिये। ट्याम्फु धुँवा छोड्दै दौडियो।
---------------------->>>>>>>>>>>>------------------->>>>>>>>>>>>>>------------------------->>>>

कसैको वास्तवीक जीवनमा मेल खान गयेमा जाओस।

एस एन

सुन्न सक्छौ? (मुक्तक)

चेप्टिएको, ठेलीएको, निमोठीएको, चिथोरिएको कथा - सुन्न सक्छौ ?
साझँको भेट, जुनेली रात, तिम्रो शिर, मेरो काँध - भुल्न सक्छौ ?

तिमी मेरी राधा थियौ, म तिम्रो कान्हा
दियो निभ्यो, धुँवा उड्यो
अँन्धकारमा हराइ रह्यौँ
आखाँ खुल्छ, तिमीलाई खोज्छ - रित्तिएको वरीपरी
सुन्छौ भने फुँकाउछु, कसिएका गाँठाहरु

चेप्टिएको, ठेलीएको, निमोठीएको, चिथोरिएको कथा - सुन्न सक्छौ ?

एस एन

साइकल (हाँसो)

चित्र कोर्न आर्टिस्ट नै हुनु पर्दैन। लटर्पटर कोर्न मलाई पनि आउँछ। प्राय मैले बनाउने चित्रमा दुई-तिन वोटा टुप्पा टुप्पा हिमाल, हिमालको बिचतिर बाट आधा सुर्य, घामको ४-५ ओटा किरण निस्किराको। हिमालको तल साना-साना पहाड, अनी पहाडको बिचबाट झरना खसिराको र रुखहरु। त्यो झरना तल आएर खोला हुँदै बगिरा'छ। खोलाको औटा छेउमा सानो माटोको घर छ,टिन ले छ।एको,एउटा ढोका र एउटा झ्याल र घरबाट निस्केको बाटो। मलाई साइकल बनाउन कहिले आएन। दुइटा पाङरा सम्म बन्छ, त्यसपछी के के हुन्छ हुन्छ। हात्ती, घोडा, बाघ, गैंडा, गोही, गाई, भैंसीं, बाख्रा, माछा, बिरालो, कुकुर, बांदर, लोखर्के,मुसा,सर्प,साङँला, माउसुली, कमिला, खरायो, जेब्रा, कछुवा, जिराफ, भालु, हाँस, कुखुरा, हरिण, परेवा, चिल, उँट,पुतली, माकुरा, भ्यागुता, सुँगा, साँडेगोरु, फुल, पात,आँप, केरा, स्याउ, च्याउ, मेवा, कटर, कोबी, फर्सी, भान्टा, आलु, मुला, भोगटे,अङँगुर, खर्भुजा, कागती, गाग्री, तपेस, गिलास, चम्चा, कुकर, स्टोभ, भड्डु, कराइ, खड्कुलो, भकारी,घडी, चस्मा, कैँची, चप्पल, जुत्ता, टोपी, माला, फुट्बल, क्यमेरा, केटा, केटी, बुढो, बुढी, हातको पन्जा, नेपाल, ईन्डिया, चाइना, अमेरिका, अष्ट्रेलिया, स्रिलन्का, जर्मन, फ्रान्स, कार, ट्रक, बस, रिक्सा, पिलेन, हेलिकप्टर,धररा, घण्टाघर, मन्दिर, घण्टा, शिव, गणेश, बुद्ध, हनुमान, सरस्वती, गान्धी, भानुभक्त, मोतिराम, लक्ष्मीप्रसाद,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,के के हो के के। हिरो हिरोइनको फोटोमा जुँगा बनाउन खुब मजा आउथ्यो। कहिलेकाँही लिङग पनि थपी दिनु पर्ने। पछी क्लासमा पनि बिज्ञान बिषयमा अनेकन चित्र बनैयो - माइक्रोस्कोप, टेलेस्कोप, थर्मोमीटर, बिकर, टेस्टट्युब, सेल, सेलभित्रको चलखेल, प्रिजम, कन्केभ लेन्स , गिदी,फोक्सो, कलेजो, सानो आन्द्रा, ठुलो आन्द्रा भुँडी, किड्नी ,आँखा, मुटु, करङ, नाक, कान,केटाको गोप्ताङग, चोलिके पिछे-चुन्रीके निचै सबै बनाइयो।  तर साइकल बनाउन कहिल्यै आएन। Damn it!

बोक्सिको बाण - 1 (कथा)

बोक्सीको बाणको वाचन..
कान्छो छोरो - सानो छदाँ मलाई बोक्सी लाग्यो भनेर भट्टराई बाजेकाँ फुक्न लगे। भर्खरै घरमा बाच्छीले जन्मेको ४ दिनमै सिल्टिमोरे खाएको थियो। त्यो पनि बोक्सीले हो ……धेरैले गाँइगुँइ गरेको मैले सुनेको थिए। जिउ लल्याक्लुलुक हुने, एकछिनमै थाकेजस्तो हुने, खाना नरुच्ने, बान्ता, जरो, छेर्पाटे चलीराथ्यो। अरुबेला आमाको आँखा छली छली, चोरी चोरी खाने हर्लिक्स पनि खल्लो लाग्न थाल्यो।  डाक्टरकाँ पनि देखाको। ‘टन्न पानी, झोल, साग सब्जी, र यो चक्की बिहान्, दिउसो र राती केही खाएर ख्वाउनु’ भनेर आमालाई थमाइदेको थियो। आमाले चक्की पानीमा घोलेर ल्याइदिने गर्नुभयो, कस्तो तितो….जहिले नाक्ठीक गर्ने म । २-३ दिन दबाइ खाए, आमाको मन न हो - झट्ट भट्टराई बाजेकोमा  पुर्याइहाल्नु भयो। गाँउका सारा मान्छे अलीकती टाउको दुख्यो कि पुगीहाल्थे बाजेकाँ। कसैको पिनास बिनास गर्नु पर्ने हुन्थियो, कसैको डङ्किनी ले उपद्रो गरी भन्दै पुग्थे, कसैलाई खाको पचेन रे, कसैको तल्लो पेट कटक्क काट्ने, भित्री आन्द्रो बाटरिने, जन्डिस, अदाहा आदी आदी। कुल बिग्रिने, देउता रिसाउने त सामान्य थिए। पहिला पनि एकपटक मलाई जङ्गली लाग्यो भनेर दौडाका थिए, निन्द्रामा थर थर काँपी रा थेँ रे।

भट्टराई बाजेले पहिला त सर्सर्ती मलाई हेरे, अनी नाडी छामे, मेरो आँखा च्यातेर हेरे, निदार छामे, हातहरु ओल्टाइ पल्टाइ हेरे अनी एक छिन घोरिए। दाजु र दिदी पनि सँगै आका थे। सबैजना चुप्चाप, मौन। सबैका कान ठाडा, आँखामा अनेकन प्रश्न, डर, त्रास, भय मिस्रित म देख्थे। मलाई पनि 'कहिले यो बुढोले मुख फोर्ला' झैँ लागि रा थियो। आमाले त्यो सुन्यता भङग गर्दै - "के रैछ त बाजे ?" भन्नु भयो।
"यो तपाईंको कान्छो छोरो हैन? कती दिन भयो यस्तो भाको?" बाजेले बोले
"आज १० दिन जती भयो होला, एक दिन अगाडिसम्म हट्टकट्ट थियो, टन्न बिगौती खाएर सुतेको केटो, भोलीपल्ट उठ्दा साह्रै" आमले भन्नु भयो।

"एस्लाई बोक्सी लागेको हो बाजे?" दिदिले प्याच्च बोली
"मलाई था छ कुन बोक्सी लागेको, त्यो रोड पारीकी…." दाइले थप्यो। दाइलाई बिचमै रोकेर आमाले "चुपलाग तिमेरु, बाजेलाई हेर्न द्याओ।" भन्नु भयो । त्यसपछी दाइले दिदिको कानमा खुसु खुसु के भन्यो कुन्नी दिदी छक्क परेर मुख आँ गरी र जिब्रो टोकी।
"कान्छा को आँत ज्यादै कम्जोर रैछ । आँत कम्जोर भाकालाई छिट्टै बोक्सी चड्छ ।" बाजेले भने

आमाले अनुहार मलिन बनाउदैँ भन्नु भयो "लौ न बाजे के गर्नु पर्छ, गर्नुस्, त्यो राच्चेस्नीको आँखा लागे । यो बालखले के बिगारएकोथ्यो र त्यस डन्किनीको, मर्न नसकेकी असती .... ।" आमाको आँखामा रिस स्पस्ट देखिन्थ्यो। आमले त्यसरी गाली गरेको पहिलोपल्ट सुन्दैथें, मलाई कता कता डर लाग्यो, म त मर्न पो लागेँ कि क्या हो जस्तो लाग्यो। आमाको आँखाको डिलमा आसु ढलपल गरेको देखेर झन पक्का भयो। अनाहकै मेरो मुखबाट फुत्कियो - "आमा म मर्छु हो अब?"…… आमा भक्कानिनु भयो। साडिको फेद तानेर आँखा ओभानो पार्दै भन्नु भयो - "हैन बा, त्यसो भन्नु हुँदैन, तिमीलाई केही हुँदैन, बाजेले अब ठीक पारी हाल्नु हुन्छ नि ।" अनी उँहाले मेरो घरी हात मुसार्ने घरी कपाल सुम्सुम्याउन लाग्नु भयो । सधैं ‘तँ’ भनेको सुनेको आमाले 'तिमी' भनेर सम्बोधन गरेको सुन्दा अनौठो र खुशी पनी लाग्यो। दाई दिदिको अनुहार पनि खिस्रिक्क थियो, अनुहार रुन्चे पारे दुबैले।

"धन्दा मान्नु पर्दैन कान्छा म फुकफाक गरेर बोक्सी उतारिदिन्छु" बाजेले भने। "बरु धुप चामल के ल्याउनु भा छ?" आमातिर हेर्दै सोधे। आमाले दुइटा अगर्बति सल्काउनु भयो, चामलको पोको खोलेर बाजेको अगाडि राखीदिनु भयो। एक दर्जन जती केरा, ५-७ सुन्तला, नास्पाती र २० का तिन्टा नयाँ नोट पनि बाजेको अगाडि राखिदिनु भयो " डन्ठकाल घामसरी मत्सेनगरी, धर्ती फोरी गए काला, धर्ती फोरी आए काला, ज्ञान सुमेरअण, नम: रिङ्ग रिङ्ग फट स्वहा" बाजेले फुक्न थाले। गुन गुन गुन गुन के के भन्दै आँखा चिम्लेर मेरो निदार आफ्ना चोर औंलो र बुडी औंलो ले आठयाए अनी बिस्तारै चलाईरखे । धुप मेरो टाउको देखी खुट्टासम्म पुर्याए, ८-१० पटक। बिच बिचमा लामो सास तानेर 'फु' 'फु' गर्दै म तिर फुक्थे। बेला बेलामा ४-५ गेडी चामल मेरा अनुहारतिर फ्याँक्थेँ। यो श्रीङ्खला केहीबेर चलीनै रह्यो । म फुकिदैँ थिए। आमा केही शान्त हुनु भएको थियो। दिदी दाई टुलु टुलु घरी बाजेलाई, घरी आमालाई र घरी मलाई हेर्थे। धुपको खरानी मेरो निदारमा लाइदिए  अनी पाँच औंलाले चामल टिपेर देब्रे हातमा राखेर जोखाना हेर्न थाले।

 "घर वरी परी कै कोइ रे'छ" बाजेले लामो सास तानेर भने । दाईले दिदिलाई कोट्यौदै बिस्तारै "देखिस मैले भनेको कस्तो लाग्यो?" साउती गर्‍यो। आमाको आँखा ठुला भए, कसैले चिसो पानीले छ्यापे जस्तो उँहा झस्किनु भयो । बाजे भन्दै थिए  - "तिम्रो घरको बाच्छी पनि त्यसैको बाणले मरेको हो, मान्छेलाई ताकेकी रइछ तर बाछीलाई लाग्यो। मैले मेरो मन्त्रले कसेको छु, पर्सी फेरी आउनु फुक्न।" एउटा कपडाको गूड्या जस्तो बनाए र आमालाई दिदैं भने - "ल यो लगेर धुरीमा राख्नु, मैले जपेर द्याछु, भुत पिसाच टाढा भाग्छन।"  आमाले कपडाको गूड्या झोलामा हाल्नु भयो अनी म तिर हेर्दै भन्नु भयो - "हेर एक्छिनमै एस्को अनुहार अघी भन्दा कती उज्यालो, रुप रङ नै फेरिए जस्तो।" अहिले उँहा निकै खुशी देखिनु भयो। बाजेतिर हेर्दै भन्नु भयो - "त्यस राडीलाई बकाउन मिल्दैन बाजे ?, सबै बकाएर, नाङेझार पार्न पर्ने,.. अरुले गरी खाको देखी नसक्ने कस्ती लबस्तरी, आफ्नो लोग्ने त टोकी टोकी, अर्काको घर भाड्न किन पर्‍यो, भडउइ।" एकछिन चुप लाग्नु भयो अनी यताउता हेरेर बिस्तारै भन्नु भयो - " आफ्नी छोरीलाई पनि बोक्सी बिद्या सिकाउदै छे रे ... अस्ती राती गस्ती गर्दै जाँदा खुद हाम्रो प्रहरी रिजाल भाई छैनन,.. हो उसैले देखेको रे ... तरहराको ठुलो बरको रुखमुनी दुइटी नाङगी आईमाई के के पूजा पाठ गर्दैथे रे। बिचरा एक्लै थे रे डरले परैबाट भागेछन ति भाई……… टिक्न खान नदिने भै कसैलाई गाँउमा तेस कप्टीले, यसरी कती दिन सहेर बस्ने,  तपाईं आँफै भन्नोस त। म, आफुलाई पनि सन्चो नभा जस्तो भै'रा छ २-४ दिन देखी……सपना पनि के के डरलाग्दा देख्छु, अैँठन हुन्छ घरी घरी। यसरी सांढे भएर हिंड्न दियो भने त भोली हाम्रा लोग्ने छोराछोरीको के दसा पार्ली, सम्झिदा नि आङ सिरिङ्ग हुन्छ मेरो त।" भट्टराई बाजे पनि निकै गम्भिर देखिदैथे, आमाको कुरा निकै ध्यान दिएर सुन्दैथे। बेला बेलामा सहमतीको मुन्टो हल्लिन्थ्यो बाजेको।

"तँपाइले भनेका कुरा मनाशिव छन, मैले धेरैलाई फुकी सकें, प्राय म काँ आउने सबैले तँपाइले जस्तै रिस, आक्रोस पोख्छन। आमाको कुरा सुनीसकेर बाजेले भने। "सारा गाँउलाई था छ, यो गाँउको बिख को हो भनेर । समस्या  काँ नेर छ भने,  तँपाइ हामीले ‘लौ प्रहरिको जिम्मा लाईदिउ न त’ भन्न पनि के भनेर उजुरी गर्ने – ‘बोक्सीलाई थुनी पाँउ’ भन्न भएन, आज सम्म कहीं नभाको कुरो । उल्टै उजुरी गर्देली र पारीएला फसादमा। मैले सोंचेको त बरु केही उपाय निकालेर तेस्को सेखी झार्ने अनी रातारात गाँउ निकाला गर्न पाए ढुक्कै हुन्थ्यो। टन्टै साफ। अरु दुई चार जनालाई पनि खबर गरौं अनी पर्सी तपाईं छोरालाई लिएर एता आँउदा पोख्रेल्नी, तिम्सिनी, रिजालनी, कोइराल्नी, खतिओड्नी.. सबैलाई साथैलेर आउनोस। म ध्रुबे, शक्ती र शम्भुलाई पनि डाक्छु अनी छिनोफानो गरौला, हुन्न?"

आमाले "हुन्छ ल तेसै गरौं" भन्नु भयो….आमा र बाजेले अरु धेरैबेर एस्तै कुराहरु गर्नु भयो,,म त त्यहीं भुसुक्कै निदाएछु । पछी जानेबेला मा आमाले "बाबु ल हिड घर जाँउ, ढिला भो" भनेर उठाउनु भयो। दाई दिदी अघी न कती खेर गै सकेछन। म उठ्दा भट्टराईनी बजै पनि थिन। जाने बेलामा उनले भनिन - "ल अली चाँडै आउनोस है बैनी पर्सी ।" आमाले "हुन्छ बजै" भन्नु भयो।
घर पुग्दा बुवा आइसक्नुभाथ्यो अफिसबाट, घटना र बिचार सुन्दै हुनुन्थ्यो। हामीलाई देख्ना साथ - "आखिर भट्टराई बाजेकोमा पुर्याइ छाड्यौ है?" भन्नु भयो । आमाले "अँ पुर्याए नि, फुकाएर ल्याएकी" भन्नु भयो अनी भान्सा तिर लाग्नु भयो ।

"अहिले कस्तो छ त बाबु तलाई, खै एता आइज त" । म बुवाको नजिक  गए…..उँहाले मेरो टाउको छाम्नु भयो अनी अफिसको झोला खोतल्दै भन्नु भयो - "ल मैले यो जीवनजल लेर आको छु, आज राती अस्ती डाक्टरले देको दबाइ खाने अनी एस्को झोल टन्न खाएर सुत्ने, बुझिस?" मैले 'हुन्छ' को टाउको हल्लाँए । भोलीपल्ट दिँउसो पनि बुवाले आँफै जीवनजल बनाउनु भयो….जती नमिठो लागे पनि बुवाको डरले चुपचाप पिएँ। साँझमा अनार, मेवा र केरा खाँए। पर्सीपल्ट बिहान दुधमा हर्लिक्स हालेर आमाले दिनुभयो। साह्रै मिठो लाग्यो। भात पनि टन्न रुच्यो, कहिले नथप्ने म, थपी थपी खाएँ। बुवा आमा खुशी हुनु भयो । भात खाएर हात चुठ्तै गर्दा आमाले बुवालाई भन्दै हुनुन्थियो - "अब आज फेरी  भट्टराई बाजेले बोलाका छन, दिँउसोतिर पस्नुपर्ला….फुक्न।"
"अब बिसेक भैसक्यो, पर्दैन…वाइहातको खर्च….दबाइ खाँदैछ नि…..की सकियो?" बुवाले भनेको सुने।
"बाँकी छ अझै एक पत्ती…..मनको सान्ती नै…..अस्ति फुक्दा फुक्दै कस्तो चङ्गा देखिएको थियो । तपाईंले जे भने नि ति बुढा जान्ने चै जान्ने छन है,,,, त्यत्रो ओखती गरेका गिरीकी श्रीमतीको अल्सर त तिनैले ठीक पारे…..बिचराहरु काँ मात्रा धाएनन….कल्कत्ता, काठमाडौं, भेलोर।" आमाले भन्नु भयो।
"लौ तिमीले नै जानेको छौ अनेक्खन्न, मलाई अफिस जान ढिला भयो, म उठें, तिमी पनि खाना खाउ।" एक्छिनमा बुवा निस्कनु भयो। त्यो दिन म फेरी पहिले कै जस्तोगरी फुकिएँ। स्कुल सकेर दाई दिदी पनि भट्टराई बाजेकोमा आए। आमाले "भाइलाई लिएर तिमेरु घर जाओ म एक्छिनमा आँउछु" भन्नुभयो। हामी रिक्सा चडेर फर्कियौँ।

दाई म भन्दा छ बर्ष जेठो र दिदी ४ बर्ष जेठी छे। दाइको एस एल सि दिने तयारीमा थियो शायद। घर फर्किदैं गर्दा दाइले मलाई जिस्काउदै भन्यो - "अब त पनि बोक्सो होस्, बोक्सी लागेको मान्छे बोक्सो हो" भन्दै अनेक आवाज मा "ही ही ही हु हु हा हा" हास्न थाल्यो।
"हैन भाई हैन…..जे पायो त्यही नभन्नु त….तपाइँ नै बोक्सा…." दिदीले अली कड्केर भनी।
"हजुरबुवाले भनेको बोक्सीहरु त मान्छेको घरमा राती, जम्मै मस्त सुती सकेपछी पस्छन रे, अनी खुन चुस्छन रे,,,खुन चुसेको दाग नै बस्छ रे जिउमा" दाईले भन्यो। मलाई झन डरलाग्यो। कतै मेरो जिउमा पनि त्यस्तो दाग त छैन? कतै मेरो खुन त चुसिएन? आज राती बोक्सी आएर खुन चुस्दा चुस्दै म ब्युँझे भने ? दिदिले म डराएको चाल पाइछ क्यार, म तिर हेर्दै भनी - "तेस्ता बोक्सिलाई त झाक्रीले ठीक पारी हाल्छन नि, फेरी भट्टराई बाजे झाक्री पनि त हुन, केही हुँदैन अब।" मलाई ढुक्क भयो।

**********************************

म ओछ्यानमै थिए। आमाले चिया टेबलमा राखेर "उठ अब, कती सुत्छस, आजबाट स्कुल जानु पर्छ" भनेर मेरा पाखुरा घचेँट्नु भयो र बाहिर निस्किनु भयो।
"सञ्चै हुनुन्छ भाउजु?" कसैको आवाज मेरो कानमा ठोक्कियो। "ठिकै छु, बिनोदबाबुको के छ? आज बिहान बिहानै कता? टाढै?" आमा बोलेको सुनियो।
"ए आज त्याँ स्कुलमा मिटिङ छ……. अनी दाई खै त?"
"बिहानै हेडसरको फोन आकोथ्यो…..त्यै मिटिङमा जानुभयो होला, म पूजा कोठामा लागे, भेटै भएन, स्कुलतिरै भेट्नुहुन्छ होला बाबुले"
"ए लौ त भाउजु म लाग्छु, सबै जम्मा भैसके होलान।"
"अनी बाबु के पर्‍यो त्यस्तो, के को मिटिङ हो एती सबेरै?"
"ल भाउजुलाई था छैन?"
"खै था छैन त बा"
"त्यो रोड पारीकी बिदउइ छैन, के नाम हो,,,गंगा क्या,,,हो तेस्लाई अस्ती राती जे भाका गुण्डाहरुले मराणासन्न हुनेगरी भकुरेछन,,आची खुवाउने, तातो पन्युँले डाम्ने, जे ले भेटो उहीले हानेछन,,हात खुट्टा भाच्ने गरी…….छोरीलाई पनि जथाभावी गरेछन। आमा छोरी दुबै हस्पिटलमा छन रे,,,आमाको त बाच्ने आसै मारिसके रे डाक्टरहरुले……छोरी पनि बौलाई लस्तो मान्छे देख्यो कि मनपरी छाडा गाली गर्छे रे,,, चिथोर्ने, झम्टिने गर्छे रे । मेरी श्रीमती कामगर्ने हस्पिटलमा नै भर्ना गर्यारेछ,,,छोरी त बौलाईसकी,,,पागलखाना पठाउने कुरो छ भन्दैथिन।"  बिनोद काकाले सबै बित्रान्त एकै सासमा सुनाए। "ल भाउजु म अब चैं लागे, बाँकी कुरो भरे दाइले ल्याउनु होला।" आमाले केही बोलेको सुनिएन।

यो सब सुनीसक्दा मेरो निद्रा पुरै खुली सकेको थियो। जुरुक्क उठें। मेरा कानमात्र सकृय थिए, बाँकी शरीर छन या छैनन मैले मेसो पाइन एकछिन सम्म । फिनिनी टाउको घुमे जस्तो भयो, आँखा अगाडि पुरै अन्धकार,,,च्वास्स मुटु घोचे जस्तोपनी भयो। भट्टराई बाजे, पोख्रेल्नी, तिम्सिनी, रिजालनी, कोइराल्नी, खतिओड्नी, ध्रुबे, शक्ती र आमाको अनुहार आँखा अगाडि झल्याक्झुलुक आए,,बिलाए,, आए,,बिलाए। गर्मीले चिट चिट पसिना छुट्न थाल्यो,,हतार हतार झ्याल खोलें। कान तातेजस्तो भयो। कसैले मेरो दुबै खुट्टा समतेर ढुङ्गामा टाउको बजारे झैँ भयो । अनेक तरङग उठे,,अनेक प्रश्न एकैचोटी त छाड म छाड गर्दै उर्लिए मेरो मनमा । आफ्नै मनलाई प्रश्न सोध्न पनि डरलाग्यो। किन भने त्यो प्रश्नको उत्तर दिनु पर्नेहुन्थियो र मलाई उत्तर था हुँदा हुँदै पनी मेरो सुन्ने क्षमता थिएन, म सुन्न चाहन्न थेँ। तुरुक्क आँसु झर्यो । मेरा आँखाहरु रोडपारी गएर अडिए…निकैबेर। एउटा लाम्खुट्टे उडेर मेरो पाखुरामा टेक्यो…आफ्नो सुइरो रोप्यो…खुन चुस्यो….उड्यो…मैले यो सब हेरिरहें । 

((अब पढ्नुहोस् पुरा कथा………..))
एस. एन.