Saturday, January 18, 2014

सुत्रकथा (हरु)

लात..
उस्ले सुलेखालाई जोडले लात हान्यो, पेटमा । सुलेखा हलुका चल्मलाइन्, पेट सुम्सुम्याइन् । चुप लागेर बसिन्, कसैलाई भनिनन् । तर फेरी यस्तो भयो भने उस्ले भन्नै पर्छ । त्यतिकैमा फेरी अर्को लात आयो पेटमा - अझ जोडले । 'ठुलो भएर यो फुट्बल खेलाडी हुनेछ,' सुलेखाले पुक्क उठेको पेट फेरी सुम्सुम्याउँदै अनी मुस्कुराउँदै श्रीमानलाई भनिन्।

केही त गर्नै पर्‍यो..
म बसेँ । बसेर जिन्दगीको लेखाजोखा गर्न थालेँ । खाली भित्ताहरुमा आँखाहरु टोलाउँदथे । 'हैन, केही त गर्नै पर्‍यो, यसरी झोले भएर कती बाँच्नु ?,' आँफैले आँफैलाई सम्झाउँदथे । अनी निस्चय गरेँ जिन्दगीमा 'केही' गर्ने । सारा शरीर हलुको भयो । करिब २५ मिनेट बसेँ होला म । त्यस्पछी ट्वाइलेट फ्लस गरेँ अनी निस्केँ ।

डलर...
'अनी कैले आउछस् यार नेपाल?'उताबाट मित्रले सोध्यो । 'देशको लागि नि केही गर्नु पर्‍यो नि । कती डलरमात्र छाप्छस् !' आजकाल म यस्तो 'कैले आउँछस्?' प्रश्नहरुको जवाफमा मुस्कुराइ मात्र दिन्छु । आज पनि फिस्स हाँसे । 'अनी तेरो केहुँदैछ सुना,' मैले सोधेँ ।
'के हुनु यार यस्तै छ,' उस्लेअली निरास हुँदै भन्यो । 'अघिल्लो बर्ष रिजेक्ट भयो, अब टुरिस्ट् भिसा एप्लाई गर्दैछु।' 

Wednesday, January 15, 2014

मनै त हो..

झरना, खोला, कन्दराको डोबहरु पछ्याउँछ यो
मनै हो कैले खुशी कैले चोट बल्झाउँछ यो
बाहिर बादल लाग्दा पनि भित्र शितल मनै हो
हँसाइदिन्छ, रुवाइदिन्छ के के मात्र गराउँछ यो ।।

एकछिन खाली बस्दैन यो बालख हो, नानी हो यो
मनै हो कैले ढुङ्गो, कैले तरल पानी हो यो
बैगुनीलाई गुनले मार्ने फराकिलो मनै हो
माया लाउँछ, मन पराउँछ- राजा हो यो रानी हो यो ।।

Tuesday, November 19, 2013

.... खुर्पाको बिँड (लघुकथा)


एकादेशमा एक देश थियो । त्यो देशका बासिन्दाहरुको मुल पेशा भनेकै दुध ब्यवसाय थियो । दुध त भन्नुहुन्छ कती हो कती ! केटाकेटीहरु छुर्पीको मट्याङ्ग्रा बनाएर ग्याटिसले भगेँरा, ढुकुर ताक्थे । त्यती धेरै दुध भएको देशमा एउटा 'दुध पोखरी' बनाउने दुध देशका सम्राठले घोषणा गर्छन् । ठुलो खाल्डो खनिन्छ । हरेक घरले एक मानो दुध दान गरेर खाल्डो भर्ने निर्णय हुन्छ । उचित साइत जुराएर रातभरी दुध भर्ने अनी बिहान 'दुध पोखरी' उध्घाटन गर्ने कार्यक्रम बन्छ । सो पोखरी उध्घाटनको लागि बिभिन्न देशका प्रतिनिधि, पर्यटक आदी भेला हुन थाल्छन् । अन्तराष्ट्रिय समुदाय - टिभी, रेडियो, पत्रपत्रीका - जम्मैका आँखा 'दुध देश' मा केन्द्रित हुन्छ । 
दुध देशको राजधानी 'चिल्लोचाप्लो' मा प्राय बस्नेहरु प्राय 'लठ्ठक', 'चुइँया', 'दोजिब्रे', 'स्वाँठ' आदी थर गरेका धेरै अघी देखी बस्दै आएका हुन् । दुध भर्ने दिनको एक दिन अघी एक हुनेखाने परिवारका 'लठ्ठक' दम्पती, हरी लठ्ठक र  बुढी लठ्ठकले सल्लाह गर्छन् - दुधको सट्टा पानी हालिदिने ! अरुले हालेको दुधमा त्यो जाबो एक मानो पानी त बिलाईहाल्छ नि !
उध्घाटनको बिहान सम्राठ पोखरी पुग्छन् । पोखरी आधा भरिएको हुन्छ, पानीले । मात्र पानीले । 
इतिश्री!
- सुरेश 'समान'

Saturday, October 26, 2013

बत्तीकिरो जीवन !

मैनबत्ती नाँच्द थियो
दिप ज्योति लहलह  
झोंका पवन चन्चलिए
दिपशिखा कठैबर !

भानु शिर टन्टलिए
भुरा खेल्थे दहदह
छिनमै बादल गड्गडाए
मौसमको के भर !

निमेश एक हेरीदिए
मनमुकुन्द महमह
योवन, यो मन धङ्धङ्याँउछ
बत्तीकिरो जीवन !

- सुरेश 'समान'

Wednesday, September 4, 2013

बा को छोरो म..

लैनु गाईको दुध, घिउ खा'को छोरो म
कैले काख, कैले काँध पा'को छोरो म…
आमा मेरा पोल खोल्थिन, लुक्न खोज्थेँ म
उल्टै आमा सम्झाइदिने बा को छोरो म
कैले काख, कैले काँध पा'को छोरो म ।।  

झोला बोकी स्कुल पढ्न गा'को छोरो म
सफा जुत्ता, टाइ, ड्रेस ला'को छोरो म
एक काँधमा हलो बोक्थे, मलाई किताब भारी
अर्को काँधमा मलाई बोक्ने बा को छोरो म
कैले काख, कैले काँध पा'को छोरो म ।।

Saturday, August 17, 2013

इनिस्पेक्टरनी !

आज: २०६६ पुस ७ - रातको करीब १०:३०
हिजो,
 'नाम?'
 -'लीलाकुमारी नगरकोटि'
'मृतकको नाम?'
 -'भुवनराज पुडासैनि'
' मृतकसँगको नाता?'
 -'लोग्ने'
'कसैमाथी संका?'
 -'छैन, म नै हुँ। सजाय भोग्न तयार छु इनिस्पेक्टरनी साहेब ।' उस्का आँखामा भिन्नै तेज थियो । निडर देखिन्थे ति। निस्फिक्री ! घमण्डले भरिएका ।

होमिसाइड्को केस पैलेपैले धेरै आए। कती केस सल्टिए। कती सल्टिदैथिए। कती केस बन्द पनि भए। बन्द भएका केसहरुमा प्राय हत्याराको बयान रोक्न आदेश मन्त्री, प्रधानमन्त्रीबाट आउने गर्छन्। दण्डहीनतालाई प्रसय दिने खेल माथिबाटै हुन्छ। लुटी ल्याउ, भुटी खाउको परम्परा चुलिएको अवस्था छ। बाबुराम, रामबाबु, दुस्टकमल, झले, झुसिले... जम्मै उही ड्याङका मुला हुन्। जुनै जोगी आए पनि कानै चिरेका।

यो अहिले आएको केसमा हत्याराको पहिचान भइसकेको थियो । हत्याकी अभियुक्त लीलाकुमारीले आफूले हत्या गरेको भनी साविति बयान दिईसकेकीछन् । अभियुक्ता स्वयंले फोन गरेर 'म बाट हत्या भएको छ, लिन आउनुहोस्,' भनेकीथी । म एक जना हवल्दारलाई लिएर घटनास्थल पुगेँ । घटनास्थल - एउटा ब्यबस्तित कोठा ! कोठामा भएका टेबल, कुर्सी, तन्ना, खाट, आल्ना, रेडियो आदी सबै ब्यबस्तित देखिन्थ्यो । सोफामा चकटी ओछ्याइएका थिए । भर्खरै कसैको हत्या भएको छ भनेर भन्नै नमिल्ने गरी अजिबले सजिएको थियो कोठा । भित्तामा काली माताको अजङ्गको फोटो टासिएको थियो । महादेव कालीको पैतालाले थिचिएका । कोठा जत्तिकै सजिएर बसेकीथी अभियुक्त लीला । लासलाई ओछ्यानमा सुताएर राखेकी रै'छ । टाउकोमा सिरानी अनी सिरक ओढेर मस्त सुतेजस्तो देखिन्थ्यो । नजिकै गएर हेरेँ । निश्वास, निर्जिब, निलो प्राणी !