Monday, October 29, 2012

गधा र कुकुर !


एकादेशमा एउटा धोबी थियो ! धोबीले घरमा गधा र कुकुर पालेको थियो । गधा दिनभरी सकीनसकी टनाटन लुगाको थुप्रो पिठ्युमा बोकेर टाढा-टाढा सम्म ग्राहकको मा लुगा लिन/पुर्याउन जानुपर्थ्यो । कुकुर दिन भरी घरमा बस्थ्यो । धोबी काम सकेर आए पछी - कुकुर पुछर हल्लाउदै छेउमा आउने, मालिक को खुट्टा चाट्ने, काखमा लुटुपुटु पर्ने आदी गर्थ्यो । काखमा बस्दा धोबीले कुकुरको टाउको मुसार्दै रिसाएजस्तो गरेर 'कती चक्चके भा'को हँ, बदमाश' भन्थ्यो । जिब्रो निकालेर स्वा-स्वा गर्दै रुन्चे अनुहार बनाएर हेर्थ्यो कुकुर अनी त झन लुटुपुटु हुन्थ्यो काखमा । एकै छिनमा फेरी मालिकले एउटा मोजाको बल पर हुत्याइदिन्थे अनी कुकुर दौडेर त्यो समाएर ल्याउथ्यो - निकै बेर चल्थ्यो यो क्रम । यो सब देखेर गधालाई साह्रै चित्त दुखेछ । आँफै माथि रिस उठ्न थालेछ । अझ बढी रिस चैँ त्यो कुकुर देखी उठेछ । गधालाई लागेछ - " दिनभर काममा जोतिने चैँ म, मालिक को माया चैँ त्यो अल्छि कुकुरले पाउने ?" गधाले आफु पनि अब चुप लागेर नबस्ने प्रण गर्‍यो । बाँधी राखेको ठाउँबाट डोरी फुत्काएर धोबीको नजिक गएछ । त्यो देखेर धोबी जिल्ल पर्‍यो । अझ नजिक गयो र धोबिको काखमा बस्न खोजेको मात्र के थियो धोबी ले बेस्कन बाँसको सिर्कनोले बेस्मारी चुटेछ अनी कान समातेर लगेर बाँधेछ । गधालाई साह्रै पिर परेछ - संसारमा गधा भएर जन्मेकोमा 
राती भयो । तर गधालाई निद्रा लागेन । डाँको छोडेर रुन थाल्यो । मध्यरातमा गधा कराएको सुनेर धोबीको आँखा खुलेछ । धोबी बाहिर आयो - गधाको रुवाबासी बन्द भएन, अझ घोक्रो फुलाएर कराउन थाल्यो । अती भएर धोबिले फेरी कोदालोको बिडले दुई ठ्याक कस्सेर बजारेछ । "कुकुर राती भुकेको भए हिजोको मासुको हड्डी खान पाँउथ्यो, मलाई चैँ एक मुठा घाँस पनि छैन, उल्टै कुटाइ खाइयो", "घोडा हुन पाको भा'नी यती सार्हो हुँदैनथ्यो होला" - यस्तै यस्तै के के सोच्दै कतीखेर हो गधा निदाएछ।

Saturday, October 27, 2012

नेपाल फेरिएन ।।


श्रीमान गम्भिर देखी
सय थुङ्गा फुल सम्म
दौरा सुरुवाल ढाका टोपी देखी
कोट पाइन्ट र सर्ट सम्म
बद्लियो गीत ताल फेरिएन
बद्लियो भुषा चाल फेरिएन ।।

कंसलाई पछारी रावण सेना आए
पुष्पकमल, बाबुराम, माधव अनी सुशील गड्गडाए
बन्यो रे नयाँ नेपाल तर खै कुनै साल फेरिएन
बद्लियो सत्ता हाल फेरिएन
बद्लिए नाम नेपाल फेरिएन ।।

एस.एन.

Tuesday, October 16, 2012

आयो दसैं आयो ।।


मैदानमा नाङ्गा बाँस ठडीदैँछ आज
खुशी छिन है आमा, छोरो आँउदैछ रे साँझ
भित्र सग्ला जमरा, बाहिर शित थोपा छायो
बधाई छ है मित्र हो - आयो दसैं आयो ।। 

नाँच गान गर्छन् आफन्त, बज्छ मंगल्धुन
ठुलाबडाको आसिस सबलाई कामलाग्छ सुन
सयपत्री र मखमलीमा पालुवा नयाँ पलायो
शुभकामना आमाबुवा - आयो दसैं आयो ।। 

चप्पल लाउने खुट्टामा दसैंबूट ढल्किदैछ
घर-घरमा नयाँ रङ्ग - आज गाँवै टल्कदैछ 
लाउरे दाईले पल्टनबाट के कोसेली ल्यायो
शुभकामना दाजुदिदी - आयो दसैं आयो ।।

सङ्ख-घण्ट मन्दिरमा भजन किर्तन चल्छ
लिपी पोती आँगन सफा, भित्र साँझ बत्ती बल्छ
धेरै पछी आज भाईले पक्कु रक्ती खायो
रमाउ रमाउ भाईबहिनी - आयो दसैं आयो ।।

एस. एन.

Thursday, October 4, 2012

हजुरबालाई लभलेटर !

प्रेम प्रशाद मिस्र जि,

तपाईंको पत्र पाएँ (भाग १: हजुरबाको लभलेटर !) । मेरो चिन्ता लिने नि कोही रहेछ - खुशी लाग्यो । बच्चुले सबै पढेर सुनाए । एकफेर पढेर धित मरेन, दोर्याएर पढ्न लाएँ । साह्रै जाती मान्छे रै'छन झर्को नमानी पढेर सुनाए ! मैले पनि त्यो दोहोरी कार्जेक्रममा तपाईंले हेरेको ख्याल गरेँकी थेँ । डर, लाज, अफ्टेरो, के गरुँ र कसो गरुँ भयो खै किन हो । तपाईं रेडियो सुन्न गजुरे आको दिन म घरमै थिए । आमालाई अधाह भएकोले पुरेत फुक्न आ'का थे । चमेलीले भनेकी निकै बेर बस्नु भयो रे हैन ?  
बच्चु गए पछी चिट्ठी ओल्ट्याइ पल्टाइ हेरेँ - छामे, सुम्सुम्याए, पट्याए, खोलेँ, पट्याए । म सोच्छु - के नमिले के नमिले जस्तो देखिने ति धर्साहरु, ति एताउता बाटरिएका काला, कुनै चुच्चा, तिखा, कुनै गोला देखिने अक्षर नै मेरो लागि लेखिएको चिट्ठी हो त ? आफुले पढ्न नसकेकोमा उकुसमुकुस भएर भक्कानिए । मन त त्याँ लेखिएका एक एक शब्द केलाउन मन थियो, फिँजाउन, निफन्न मन थियो - सके अझै २-४ खेप पढ्न मन थियो नै ....। २-४ अक्षर कसैले चिनाइदेको भा म आँफै पढ्न सक्ने थिएँ झैँ लागेर भक्कानिए ।

Saturday, August 18, 2012

बुवा...


आमा भन्दै हुनुहुन्थियो - "हेर बाबु, यो चामल लाई हेर, एस्मा बिँया कती धेरै, चामल भन्दा बडी बिँया ढुङ्गै होलान। तर के गर्नु खानै पर्यो, पेट पाल्नै पर्यो। धन्न चामलको भात खान पाइएको , बेलामा का पाउनु... तिमीहरु साह्रै भाग्यमानी। चामलको भात खान पाका छौ, मजाले सरर गाडी चड्न पाका छौ, फेसन फेसनका लुगा लाका छौ, पढ्न पाका छौ। बेलामा बा ले पढ्नै दिएनन।" यत्तिकैमा मैले जिस्किदो पाराले भनेको थिंए - "अब पढ्नु नि , सिकाइ दिन्छु। फर एप्पल, बि फर बल।" उँहा कस्तरी हाँस्नु भएको थियो। "अँ अब मैले पढ्न थालें भने, गाईको गोबर तैले सोर्छस? भात भान्सा, घाँस, लिप्नु-पोत्नु भन्यो, तिमीहरुको गु सोर्दै ठीक्क छ। तेरा बा ले धन्न बिराटनगरमा किलाससम्म पढ्नु भएछ। रातीको किलास थियो रेपछी जागिर खानु भन्यो, आफ्ना भाइहरुलाई पढाउन भन्यो, आमा-बालाई मधेसमा ल्याएर राख भन्यो, गर्दा गर्दै छुटेछ। जेठो छोरो बिचरा, धेरै भोगेका छन तेरा बा ले।" यती भन्दासम्म आमा निकै भाबुक हुनु भयो। उँहाको नाक रातो भइसकेको थियो। आँखाहरु पनि रसाएको देखेँ। उंहाले सुतिको साडी लाउनु भएको थियो, मलाई याद - त्यो रातो साडी। साडिको एक फेरो तानेर उँहाले आँखा पुछ्नु भयो। फेरी अर्को थोपा आँखाको डिलमा अडिन नसकेर गालामा पोखियो। त्यस्लाई पनि आमाले हातले पुछेर मिल्काइदिनु भयो। कस्तो माया लाग्दो पाराले मलाई हेर्नु भयो अनी आफुलाई नर्मल देखाउन खोज्दै भन्नुभयो - "तेरो पनि कपाल काट्ने बेला भएछ अब, स्कुलमा सर मिसले केही भनेका छैनन?" मैले छैनन को मुन्टो हल्लाएँ।
मैले आमा रोएको पैलो पल्ट देखेको थिए। ठुला मान्छे रोएको देखेको भनेको नै यो पहिलो थियो मेरा लागि। ठुला मान्छे रुँदा के गर्नु पर्छ? अकमक्क भएं। त्यसमाथी ति ठुलि मान्छे स्वयम् मेरी आमा थिइन। घोसे मुन्टो लाएर बसीरहे।
"जा उठ् पढ्न जा अब" यती भनेर आमा भन्सातिर लाग्नु भयो। चामलका बिँया भुइमा छरिएका थिए, एक जोडी परेवा फुरर् आएर टिप्न थाले। भन्साबाट सिsssss... कुकरको सिट्टी लाग्यो।

Saturday, July 21, 2012

|| चेरी फुल्दा परदेशमा ||


मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन होला
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन होला
उस्तै छ कि परीबेश, बद्लिसक्यो मित्र ?
ट्युसन, क्याम्पस, स्कुलतिर ठिटाठिटी धाउँछन होला ।।

यादै होला तिमीलाई पनि नहरमा पौडिएको
२-४ रुपँया भेलापारी फिलिम हेर्न दौडिएको
चल्दैछ कि हाम्रो साइकल, थोत्री सक्यो मित्र ?
भुराभुरी दसैंतिहार नयाँ नाना लाउँछन होला ।।
मिर्मिरेमा परेवा 'मकमकघुर' गाँउछन होला .....
दुध बेच्ने ठुलाबाजे ढोकैनेर आउँछन होला ……