प्रेम प्रशाद मिस्र जि,
तपाईंको पत्र पाएँ (भाग १: हजुरबाको लभलेटर !) । मेरो चिन्ता
लिने नि कोही रहेछ - खुशी लाग्यो । बच्चुले सबै पढेर सुनाए । एकफेर पढेर धित मरेन,
दोर्याएर पढ्न लाएँ । साह्रै जाती मान्छे रै'छन झर्को नमानी पढेर सुनाए ! मैले पनि
त्यो दोहोरी कार्जेक्रममा तपाईंले हेरेको ख्याल गरेँकी थेँ । डर, लाज, अफ्टेरो, के
गरुँ र कसो गरुँ भयो खै किन हो । तपाईं रेडियो सुन्न गजुरे आको दिन म घरमै थिए । आमालाई
अधाह भएकोले पुरेत फुक्न आ'का थे । चमेलीले भनेकी निकै बेर बस्नु भयो रे हैन ?
बच्चु गए पछी चिट्ठी ओल्ट्याइ
पल्टाइ हेरेँ - छामे, सुम्सुम्याए, पट्याए, खोलेँ, पट्याए । म सोच्छु - के नमिले के
नमिले जस्तो देखिने ति धर्साहरु, ति एताउता बाटरिएका काला, कुनै चुच्चा, तिखा, कुनै
गोला देखिने अक्षर नै मेरो लागि लेखिएको चिट्ठी हो त ? आफुले पढ्न नसकेकोमा उकुसमुकुस
भएर भक्कानिए । मन त त्याँ लेखिएका एक एक शब्द केलाउन मन थियो, फिँजाउन, निफन्न मन
थियो - सके अझै २-४ खेप पढ्न मन थियो नै ....। २-४ अक्षर कसैले चिनाइदेको भा म आँफै पढ्न सक्ने थिएँ
झैँ लागेर भक्कानिए ।