Saturday, October 26, 2013

बत्तीकिरो जीवन !

मैनबत्ती नाँच्द थियो
दिप ज्योति लहलह  
झोंका पवन चन्चलिए
दिपशिखा कठैबर !

भानु शिर टन्टलिए
भुरा खेल्थे दहदह
छिनमै बादल गड्गडाए
मौसमको के भर !

निमेश एक हेरीदिए
मनमुकुन्द महमह
योवन, यो मन धङ्धङ्याँउछ
बत्तीकिरो जीवन !

- सुरेश 'समान'

Wednesday, September 4, 2013

बा को छोरो म..

लैनु गाईको दुध, घिउ खा'को छोरो म
कैले काख, कैले काँध पा'को छोरो म…
आमा मेरा पोल खोल्थिन, लुक्न खोज्थेँ म
उल्टै आमा सम्झाइदिने बा को छोरो म
कैले काख, कैले काँध पा'को छोरो म ।।  

झोला बोकी स्कुल पढ्न गा'को छोरो म
सफा जुत्ता, टाइ, ड्रेस ला'को छोरो म
एक काँधमा हलो बोक्थे, मलाई किताब भारी
अर्को काँधमा मलाई बोक्ने बा को छोरो म
कैले काख, कैले काँध पा'को छोरो म ।।

Saturday, August 17, 2013

इनिस्पेक्टरनी !

आज: २०६६ पुस ७ - रातको करीब १०:३०
हिजो,
 'नाम?'
 -'लीलाकुमारी नगरकोटि'
'मृतकको नाम?'
 -'भुवनराज पुडासैनि'
' मृतकसँगको नाता?'
 -'लोग्ने'
'कसैमाथी संका?'
 -'छैन, म नै हुँ। सजाय भोग्न तयार छु इनिस्पेक्टरनी साहेब ।' उस्का आँखामा भिन्नै तेज थियो । निडर देखिन्थे ति। निस्फिक्री ! घमण्डले भरिएका ।

होमिसाइड्को केस पैलेपैले धेरै आए। कती केस सल्टिए। कती सल्टिदैथिए। कती केस बन्द पनि भए। बन्द भएका केसहरुमा प्राय हत्याराको बयान रोक्न आदेश मन्त्री, प्रधानमन्त्रीबाट आउने गर्छन्। दण्डहीनतालाई प्रसय दिने खेल माथिबाटै हुन्छ। लुटी ल्याउ, भुटी खाउको परम्परा चुलिएको अवस्था छ। बाबुराम, रामबाबु, दुस्टकमल, झले, झुसिले... जम्मै उही ड्याङका मुला हुन्। जुनै जोगी आए पनि कानै चिरेका।

यो अहिले आएको केसमा हत्याराको पहिचान भइसकेको थियो । हत्याकी अभियुक्त लीलाकुमारीले आफूले हत्या गरेको भनी साविति बयान दिईसकेकीछन् । अभियुक्ता स्वयंले फोन गरेर 'म बाट हत्या भएको छ, लिन आउनुहोस्,' भनेकीथी । म एक जना हवल्दारलाई लिएर घटनास्थल पुगेँ । घटनास्थल - एउटा ब्यबस्तित कोठा ! कोठामा भएका टेबल, कुर्सी, तन्ना, खाट, आल्ना, रेडियो आदी सबै ब्यबस्तित देखिन्थ्यो । सोफामा चकटी ओछ्याइएका थिए । भर्खरै कसैको हत्या भएको छ भनेर भन्नै नमिल्ने गरी अजिबले सजिएको थियो कोठा । भित्तामा काली माताको अजङ्गको फोटो टासिएको थियो । महादेव कालीको पैतालाले थिचिएका । कोठा जत्तिकै सजिएर बसेकीथी अभियुक्त लीला । लासलाई ओछ्यानमा सुताएर राखेकी रै'छ । टाउकोमा सिरानी अनी सिरक ओढेर मस्त सुतेजस्तो देखिन्थ्यो । नजिकै गएर हेरेँ । निश्वास, निर्जिब, निलो प्राणी !

Wednesday, June 12, 2013

'फेल' हुनुभो? ल बधाई छ!

'सुरेशले आलु खाए,' ज्योति माध्यमिक बिद्यालय, इटहरीमा कक्षा चारको रिजल्ट हेरेर आएको रात भान्सामा  दिदीले आमालाई सुनाइ। 'अनी मेरो चैँ नाम निस्कियो, सिर्जना निरौला- फेयर्ली पास।'  आफ्नो नाम भने उस्ले बडो गर्वसाथ लिइ। म घोसेमुन्टो लाएर चुपचाप चबाउँदैथिए। 'फेल' भएँको थिएँ।  आमाले लामो सास तान्नुभयो। साह्रै थाकेपछी निस्कने सास जस्तो सुनिन्थ्यो। मेरो अगाडिको थालमा भात थपिदिदैँ आँफैसँग कुरा गरे जसरी बिस्तारै भन्नुभयो - 'बुवा आएपछी कुरा नगरि भएन।' म झसङ्ग भएँ। भातमा ढुङ्गा टोके जस्तो! बुवाको चाँदे भेटिने भै'यो भनेर मेरो होस् उड्यो। भात निल्न सकिन। घाँटी कोक्यायो। उता मेरै छेउमा बसेर खाँदै गरेकी दिदी भने दङ्ग देखिन्थी। उस्को मसिनो खितीती म प्रस्ट सुन्न सक्थेँ। मेरो दिमाग तातियो। रिसले आगो भएँ। मेरो पालो, थाल उठाएर उ तिर हुर्याइदिएँ। 'ल हाँस अझै झुम्री,' भन्दै। आमाले एक्कैछिन अघी तरकारी थपी दिनुभा'थ्यो मेरो थालमा। त्यो अब दिदीको जिउभरी थियो। त्यो दिन तरकारीमा आलुदम थियो। 
त्यस्पछी मलाई कक्षा २ मा झारियो। दिदी ५ मा गइ म २ मा झरेँ। 'कतीमा पढ्छौ?' भनेर सोध्नेहरु देखी झनक्क रिस उठ्थ्यो। मलाई जिस्काउनैको लागि कोही त दिनदिनै सोध्थे, पछी बुझेँ। हुन पनी कक्षा २ मा पढ्ने केटाकेटी भन्दा  उमेरमा अनी उचाइमा ठुलै थिएँ। कतीपल्ट त म चिनेको मान्छे अनी छिमेकीको घर छल्दै दौडन्थेँ पनि! 'कतीमा पढ्छौ?' सोध्छन भन्ने डरले। भन्छन् - इख नभएको मान्छे र बिष नभएको सर्प काम लाग्दैन! त्यस्पछीका बर्षहरुमा दिदीले भनेजस्तो आलु कहिल्यै खानु परेन।
मेरो प्रसंगलाई यतै रोकेर फलामे ढोका मानिने, एसएलसीको कुरातिर एकैछिन यहाँहरुको ध्यान केन्द्रित गराउन चाहन्छु। गतबर्ष २०६९ को एसएलसी परिक्षाको नतिजा निस्केपछी पत्रपत्रिकामा आएका केही 'हेड्लाइन्' हरु यस्ता थिए - 'एसएलसीमा आधाभन्दा बढी फेल', 'एसएलसी परिणाम : दुई खर्ब लगानी, बालुवामा पानी', 'एसएलसीमा फेल भएपछि आत्महत्या', 'एसएलसी ओरालै ओरालो' ..

Thursday, May 30, 2013

साथी..

1.
बसन्त मलाई धेरै फोन गर्नु परेकोमा रिसले मुर्मुरिएको थियो। म बसन्तले धेरै फोन गरेकोले झोँकमा थिएँ। काठमाडौंको ब्यस्तता, भिँड, जाम आदीलाई चिर्दै म धुलिखेल पुग्दा साँझले बिदा मागीसकेको थियो।
बसन्त मेरो मिल्ने साथी, लङ्गौटिया। उ बालख देखी नै पढाईमा तगडा। सरहरुको भाषामा भन्नुपर्दा 'दिमाग भा'को' छात्र थियो। तर त्यो बेला उस्को घरको आर्थिक स्तिथी अली कम्जोर थियो। मेरो ठ्याक्कै उल्टो, पढाईमा लद्दु। फेरी पनि सरहरुकै भाषामा भन्नुपर्दा 'दिमागमा गोबर भा'को' छात्र थिएँ। मेरो घरमा आएर मलाई पढाउने, मेरो होम्वर्क आदी उसैले गरिदिन्थ्यो। ड्याड-ममीले बसन्त र म मा कुनै फरक देख्नुभएन। एकदिन बसन्तको बाबालाई मेरो ड्याडीले घरमा बोलाएर भन्नुभयो - 'आजबाट यो बसन्तेलाई पढाउने जिम्मा मैले लिएँ।' त्यस्पछी त मेरो सत्र पल्टियो। म भिडियो गेम, फोन, च्याट मा ब्यस्त। बसन्ते होमवर्कमा। बसन्तेको सँगतले म मा पनि पढ्ने बानी बस्छ भनेर होला सायद ड्याडले बसन्तेको जिम्मा लिनु भा'को तर त्यसो भएन। मेरो र बसन्तेको रिजल्ट जस्ताको त्यस्तै नै रह्यो। म जहिल्यै जस्ट पास। उ जहिल्यै स्कुल टपर।  
'घिउ जस्तो कमलो छ बसन्ते,' एकदिन मेरी ममीले उस्को कपाल सुम्सुम्याउँदै भन्नुभा'थ्यो। अनी म चैँ दाउरा जस्तो अररो छु रे। त्यो दिन देखी बसन्तेले मेरो नयाँ नामको न्वारान गर्‍यो - दाउरे। मैले पनि उस्लाई 'डाल्डा' भनेर बोलाउन थालेँ। 'ओ डाल्डा घिउ,' म छिन्छीन्मा जिस्क्याइदिन्थेँ। अनी उ उम्लिन्थ्यो र भन्थ्यो 'दाउरे'। घरमा मेरो भन्दा बढी विश्वाश उसैको गर्थे। 'उ बसन्तेलाई हेर......' उदाहरण उस्कै दिन्थे। उही काम बसन्तेले गर्‍यो भने ठीक, मैले गरेँ भने बेठिक। उस्लाई केटीहरुले फोन गरे भने हिसाब सिक्न गरेका। मलाई गरे भने छिल्लिन गरेका हुन्थ्यो। हुन पनि बसन्ते मोरो हिसाब नै सिकाउँथ्यो फोनमा। 'बाउको उमेर मानौँ x अनी छोराको उमेर मानौँ y छ....,' भन्दै फोनबाटै बाउछोराको उमेर पत्ता लाईदिन्थ्यो बसन्ते। पछीपछी त मैले नि फोन गर्दा हिसाब कापी पल्टाउँदै कुरो गर्न सिकेँ। म चै छोरीको उमेर पत्ता लाउने दाउमा हुन्थेँ।  

Monday, May 13, 2013

किनार..

नयाँ सपना,परिवर्तन रोकी बोलाउँदैछ किनारले
खियाउँदैछु उत्तर-उत्तर, धकेल्दैछ बहावले
आँधीहुरी बनी आउँछ प्राचिन वायु पुर्वको
कुन्ठ्याउँछ, खुम्च्याउँछ-गर्नु गर्छ दवाबले ..

द्रब्य जोड्ने भब्य होड्मा लगाउँदैछ किनारले
चिहाउँदैछु देशभित्र, खाडी ठेल्छ अभावले
आँसु देख्छु, आस देख्छु, ढक्क फुलेका सास देख्छु
कैले उँभो, कैले उँधो-गर्नु गर्छ लगावले ..
- सुरेश 'समान'