Tuesday, November 19, 2013

.... खुर्पाको बिँड (लघुकथा)


एकादेशमा एक देश थियो । त्यो देशका बासिन्दाहरुको मुल पेशा भनेकै दुध ब्यवसाय थियो । दुध त भन्नुहुन्छ कती हो कती ! केटाकेटीहरु छुर्पीको मट्याङ्ग्रा बनाएर ग्याटिसले भगेँरा, ढुकुर ताक्थे । त्यती धेरै दुध भएको देशमा एउटा 'दुध पोखरी' बनाउने दुध देशका सम्राठले घोषणा गर्छन् । ठुलो खाल्डो खनिन्छ । हरेक घरले एक मानो दुध दान गरेर खाल्डो भर्ने निर्णय हुन्छ । उचित साइत जुराएर रातभरी दुध भर्ने अनी बिहान 'दुध पोखरी' उध्घाटन गर्ने कार्यक्रम बन्छ । सो पोखरी उध्घाटनको लागि बिभिन्न देशका प्रतिनिधि, पर्यटक आदी भेला हुन थाल्छन् । अन्तराष्ट्रिय समुदाय - टिभी, रेडियो, पत्रपत्रीका - जम्मैका आँखा 'दुध देश' मा केन्द्रित हुन्छ । 
दुध देशको राजधानी 'चिल्लोचाप्लो' मा प्राय बस्नेहरु प्राय 'लठ्ठक', 'चुइँया', 'दोजिब्रे', 'स्वाँठ' आदी थर गरेका धेरै अघी देखी बस्दै आएका हुन् । दुध भर्ने दिनको एक दिन अघी एक हुनेखाने परिवारका 'लठ्ठक' दम्पती, हरी लठ्ठक र  बुढी लठ्ठकले सल्लाह गर्छन् - दुधको सट्टा पानी हालिदिने ! अरुले हालेको दुधमा त्यो जाबो एक मानो पानी त बिलाईहाल्छ नि !
उध्घाटनको बिहान सम्राठ पोखरी पुग्छन् । पोखरी आधा भरिएको हुन्छ, पानीले । मात्र पानीले । 
इतिश्री!
- सुरेश 'समान'

Saturday, October 26, 2013

बत्तीकिरो जीवन !

मैनबत्ती नाँच्द थियो
दिप ज्योति लहलह  
झोंका पवन चन्चलिए
दिपशिखा कठैबर !

भानु शिर टन्टलिए
भुरा खेल्थे दहदह
छिनमै बादल गड्गडाए
मौसमको के भर !

निमेश एक हेरीदिए
मनमुकुन्द महमह
योवन, यो मन धङ्धङ्याँउछ
बत्तीकिरो जीवन !

- सुरेश 'समान'

Wednesday, September 4, 2013

बा को छोरो म..

लैनु गाईको दुध, घिउ खा'को छोरो म
कैले काख, कैले काँध पा'को छोरो म…
आमा मेरा पोल खोल्थिन, लुक्न खोज्थेँ म
उल्टै आमा सम्झाइदिने बा को छोरो म
कैले काख, कैले काँध पा'को छोरो म ।।  

झोला बोकी स्कुल पढ्न गा'को छोरो म
सफा जुत्ता, टाइ, ड्रेस ला'को छोरो म
एक काँधमा हलो बोक्थे, मलाई किताब भारी
अर्को काँधमा मलाई बोक्ने बा को छोरो म
कैले काख, कैले काँध पा'को छोरो म ।।

Saturday, August 17, 2013

इनिस्पेक्टरनी !

आज: २०६६ पुस ७ - रातको करीब १०:३०
हिजो,
 'नाम?'
 -'लीलाकुमारी नगरकोटि'
'मृतकको नाम?'
 -'भुवनराज पुडासैनि'
' मृतकसँगको नाता?'
 -'लोग्ने'
'कसैमाथी संका?'
 -'छैन, म नै हुँ। सजाय भोग्न तयार छु इनिस्पेक्टरनी साहेब ।' उस्का आँखामा भिन्नै तेज थियो । निडर देखिन्थे ति। निस्फिक्री ! घमण्डले भरिएका ।

होमिसाइड्को केस पैलेपैले धेरै आए। कती केस सल्टिए। कती सल्टिदैथिए। कती केस बन्द पनि भए। बन्द भएका केसहरुमा प्राय हत्याराको बयान रोक्न आदेश मन्त्री, प्रधानमन्त्रीबाट आउने गर्छन्। दण्डहीनतालाई प्रसय दिने खेल माथिबाटै हुन्छ। लुटी ल्याउ, भुटी खाउको परम्परा चुलिएको अवस्था छ। बाबुराम, रामबाबु, दुस्टकमल, झले, झुसिले... जम्मै उही ड्याङका मुला हुन्। जुनै जोगी आए पनि कानै चिरेका।

यो अहिले आएको केसमा हत्याराको पहिचान भइसकेको थियो । हत्याकी अभियुक्त लीलाकुमारीले आफूले हत्या गरेको भनी साविति बयान दिईसकेकीछन् । अभियुक्ता स्वयंले फोन गरेर 'म बाट हत्या भएको छ, लिन आउनुहोस्,' भनेकीथी । म एक जना हवल्दारलाई लिएर घटनास्थल पुगेँ । घटनास्थल - एउटा ब्यबस्तित कोठा ! कोठामा भएका टेबल, कुर्सी, तन्ना, खाट, आल्ना, रेडियो आदी सबै ब्यबस्तित देखिन्थ्यो । सोफामा चकटी ओछ्याइएका थिए । भर्खरै कसैको हत्या भएको छ भनेर भन्नै नमिल्ने गरी अजिबले सजिएको थियो कोठा । भित्तामा काली माताको अजङ्गको फोटो टासिएको थियो । महादेव कालीको पैतालाले थिचिएका । कोठा जत्तिकै सजिएर बसेकीथी अभियुक्त लीला । लासलाई ओछ्यानमा सुताएर राखेकी रै'छ । टाउकोमा सिरानी अनी सिरक ओढेर मस्त सुतेजस्तो देखिन्थ्यो । नजिकै गएर हेरेँ । निश्वास, निर्जिब, निलो प्राणी !

Wednesday, June 12, 2013

'फेल' हुनुभो? ल बधाई छ!

'सुरेशले आलु खाए,' ज्योति माध्यमिक बिद्यालय, इटहरीमा कक्षा चारको रिजल्ट हेरेर आएको रात भान्सामा  दिदीले आमालाई सुनाइ। 'अनी मेरो चैँ नाम निस्कियो, सिर्जना निरौला- फेयर्ली पास।'  आफ्नो नाम भने उस्ले बडो गर्वसाथ लिइ। म घोसेमुन्टो लाएर चुपचाप चबाउँदैथिए। 'फेल' भएँको थिएँ।  आमाले लामो सास तान्नुभयो। साह्रै थाकेपछी निस्कने सास जस्तो सुनिन्थ्यो। मेरो अगाडिको थालमा भात थपिदिदैँ आँफैसँग कुरा गरे जसरी बिस्तारै भन्नुभयो - 'बुवा आएपछी कुरा नगरि भएन।' म झसङ्ग भएँ। भातमा ढुङ्गा टोके जस्तो! बुवाको चाँदे भेटिने भै'यो भनेर मेरो होस् उड्यो। भात निल्न सकिन। घाँटी कोक्यायो। उता मेरै छेउमा बसेर खाँदै गरेकी दिदी भने दङ्ग देखिन्थी। उस्को मसिनो खितीती म प्रस्ट सुन्न सक्थेँ। मेरो दिमाग तातियो। रिसले आगो भएँ। मेरो पालो, थाल उठाएर उ तिर हुर्याइदिएँ। 'ल हाँस अझै झुम्री,' भन्दै। आमाले एक्कैछिन अघी तरकारी थपी दिनुभा'थ्यो मेरो थालमा। त्यो अब दिदीको जिउभरी थियो। त्यो दिन तरकारीमा आलुदम थियो। 
त्यस्पछी मलाई कक्षा २ मा झारियो। दिदी ५ मा गइ म २ मा झरेँ। 'कतीमा पढ्छौ?' भनेर सोध्नेहरु देखी झनक्क रिस उठ्थ्यो। मलाई जिस्काउनैको लागि कोही त दिनदिनै सोध्थे, पछी बुझेँ। हुन पनी कक्षा २ मा पढ्ने केटाकेटी भन्दा  उमेरमा अनी उचाइमा ठुलै थिएँ। कतीपल्ट त म चिनेको मान्छे अनी छिमेकीको घर छल्दै दौडन्थेँ पनि! 'कतीमा पढ्छौ?' सोध्छन भन्ने डरले। भन्छन् - इख नभएको मान्छे र बिष नभएको सर्प काम लाग्दैन! त्यस्पछीका बर्षहरुमा दिदीले भनेजस्तो आलु कहिल्यै खानु परेन।
मेरो प्रसंगलाई यतै रोकेर फलामे ढोका मानिने, एसएलसीको कुरातिर एकैछिन यहाँहरुको ध्यान केन्द्रित गराउन चाहन्छु। गतबर्ष २०६९ को एसएलसी परिक्षाको नतिजा निस्केपछी पत्रपत्रिकामा आएका केही 'हेड्लाइन्' हरु यस्ता थिए - 'एसएलसीमा आधाभन्दा बढी फेल', 'एसएलसी परिणाम : दुई खर्ब लगानी, बालुवामा पानी', 'एसएलसीमा फेल भएपछि आत्महत्या', 'एसएलसी ओरालै ओरालो' ..

Thursday, May 30, 2013

साथी..

1.
बसन्त मलाई धेरै फोन गर्नु परेकोमा रिसले मुर्मुरिएको थियो। म बसन्तले धेरै फोन गरेकोले झोँकमा थिएँ। काठमाडौंको ब्यस्तता, भिँड, जाम आदीलाई चिर्दै म धुलिखेल पुग्दा साँझले बिदा मागीसकेको थियो।
बसन्त मेरो मिल्ने साथी, लङ्गौटिया। उ बालख देखी नै पढाईमा तगडा। सरहरुको भाषामा भन्नुपर्दा 'दिमाग भा'को' छात्र थियो। तर त्यो बेला उस्को घरको आर्थिक स्तिथी अली कम्जोर थियो। मेरो ठ्याक्कै उल्टो, पढाईमा लद्दु। फेरी पनि सरहरुकै भाषामा भन्नुपर्दा 'दिमागमा गोबर भा'को' छात्र थिएँ। मेरो घरमा आएर मलाई पढाउने, मेरो होम्वर्क आदी उसैले गरिदिन्थ्यो। ड्याड-ममीले बसन्त र म मा कुनै फरक देख्नुभएन। एकदिन बसन्तको बाबालाई मेरो ड्याडीले घरमा बोलाएर भन्नुभयो - 'आजबाट यो बसन्तेलाई पढाउने जिम्मा मैले लिएँ।' त्यस्पछी त मेरो सत्र पल्टियो। म भिडियो गेम, फोन, च्याट मा ब्यस्त। बसन्ते होमवर्कमा। बसन्तेको सँगतले म मा पनि पढ्ने बानी बस्छ भनेर होला सायद ड्याडले बसन्तेको जिम्मा लिनु भा'को तर त्यसो भएन। मेरो र बसन्तेको रिजल्ट जस्ताको त्यस्तै नै रह्यो। म जहिल्यै जस्ट पास। उ जहिल्यै स्कुल टपर।  
'घिउ जस्तो कमलो छ बसन्ते,' एकदिन मेरी ममीले उस्को कपाल सुम्सुम्याउँदै भन्नुभा'थ्यो। अनी म चैँ दाउरा जस्तो अररो छु रे। त्यो दिन देखी बसन्तेले मेरो नयाँ नामको न्वारान गर्‍यो - दाउरे। मैले पनि उस्लाई 'डाल्डा' भनेर बोलाउन थालेँ। 'ओ डाल्डा घिउ,' म छिन्छीन्मा जिस्क्याइदिन्थेँ। अनी उ उम्लिन्थ्यो र भन्थ्यो 'दाउरे'। घरमा मेरो भन्दा बढी विश्वाश उसैको गर्थे। 'उ बसन्तेलाई हेर......' उदाहरण उस्कै दिन्थे। उही काम बसन्तेले गर्‍यो भने ठीक, मैले गरेँ भने बेठिक। उस्लाई केटीहरुले फोन गरे भने हिसाब सिक्न गरेका। मलाई गरे भने छिल्लिन गरेका हुन्थ्यो। हुन पनि बसन्ते मोरो हिसाब नै सिकाउँथ्यो फोनमा। 'बाउको उमेर मानौँ x अनी छोराको उमेर मानौँ y छ....,' भन्दै फोनबाटै बाउछोराको उमेर पत्ता लाईदिन्थ्यो बसन्ते। पछीपछी त मैले नि फोन गर्दा हिसाब कापी पल्टाउँदै कुरो गर्न सिकेँ। म चै छोरीको उमेर पत्ता लाउने दाउमा हुन्थेँ।  

Monday, May 13, 2013

किनार..

नयाँ सपना,परिवर्तन रोकी बोलाउँदैछ किनारले
खियाउँदैछु उत्तर-उत्तर, धकेल्दैछ बहावले
आँधीहुरी बनी आउँछ प्राचिन वायु पुर्वको
कुन्ठ्याउँछ, खुम्च्याउँछ-गर्नु गर्छ दवाबले ..

द्रब्य जोड्ने भब्य होड्मा लगाउँदैछ किनारले
चिहाउँदैछु देशभित्र, खाडी ठेल्छ अभावले
आँसु देख्छु, आस देख्छु, ढक्क फुलेका सास देख्छु
कैले उँभो, कैले उँधो-गर्नु गर्छ लगावले ..
- सुरेश 'समान'

Saturday, March 9, 2013

राजीखुसी


"एउटामात्र चक्र रे'छ तपाईंको," पसुपती जाने बाटोमा 'यहाँ हात हेरिन्छ' बाबाले मेरो हात हेर्दै भनेका थिए। "की राजा हुन्छन, कि जोगी हुन्छन एक चक्रेहरु।"  
मेरी त्यो बेलाकी गर्लफ्रेण्ड पनि सँगै थिइन्। उनीले मलाई बोलाउने नामको न्वरान गरिन 'राजा'। म दङ्ग परेँ। मैले पनि छिल्लिदै 'म तिम्रो राजा, तिमी मेरी रानी,' भने। उ बेस्मारी मस्केकी थिइ। अनी हामी दुवै हातमा हात राखेर 'राजाको रानी से प्यार हो गया....,' गाउँदै पसुपती दर्शन गर्न ओरालो झर्यौँ। राजारानी मिलेर रोमान्टिक शहर पोखरा पनि पुगेकाथियौँ एकफेर। फेवाताल, बिन्दबासिनी, बेगनास ताल, शान्ति स्तुपा, सराङकोट, लभ्ली डाँडा, पावर हाउस, फेवा पार्कलगायतका ठाउँहरुमा बेपर्वाह बत्तासिएका थियौँ। गर्लफ्रेण्डको नाम? त्यो चै नभनु होला है, माइन्ड नगर्नोस। त्यो बेला पो उ मेरी 'रानी' थिइन्। ऐले त उ अर्कै कि महारानी छिन। मैले सुनेको त दुईटा घोर्ले युवराजहरुको सवारी पनि भइसक्यो रे! पोखराबाट फर्केको करिब दुई महिनापछी उनको बिहे भयो। हाम्रो चितवन जाने प्लान चौपट! सारै चित्त दुख्यो।

हामी झगडा गरेर अथवा पारीवारले छुट्याएर अलग भा थिएनौ। दुवैको राजीखुसी नै थियो। एकदिन मैले उस्लाई चितवन जाने प्रस्ताव सुनाउँदा उस्ले 'लेट्स सि,' भनेकीथीइन्। भोलीपल्ट आएर आफ्नो बिहे हुन लागेको कुरो बताइन एउटा हार्डवेर पसलेसँग। मैले 'किन?' भनेर सोधेँ। मलाई अझै याद छ उस्ले भनेका कुरा। उस्ले भनेकी थि - "वेल मिस्टर दिलिप, तिमी राम्रो छौ, डन्ट गेट मि रङ, तर तिमी 'नट ए हज्बेन्ड मटेरियल'। यु आर ओन्ली ब्वाइफ्रेन्ड मटेरियल। तिमी 'स्टेबल' छैनौ। तिमीसँग मैले धेरै रमाइला टाएमहरु बिताएँ एन्ड आइ थ्यान्क्यु फर द्-याट बट जिन्दगी बिताउने तिमीसँग? आइ डन्ट थिंक सो! सरी।" यती भनेर उ फुइफुइ गर्दै फनक्क फर्केर गएकीथी। म त ट्वाँ परे! पुरै प्रतिकृयासुन्य भएँ। मैले बुझिन कि भर्खरै के भयो। एकछिन आफुलाई निहाँले मनमनै। परिवेसलाई समेट्ने कोशीस गरेँ। उस्ले भनेका कुराहरुको पोस्ट्मार्टम गरेँ। 'हज्बेन्ड मटेरियल' हैन रे 'ब्वाइफ्रेन्ड म्टेरियल' रे! 'स्टेबल' छैन रे! म घोरीन थालेँ। के उस्ले मलाई धम्की दे'की हो? कि उपदेश दे'की हो? कि गाली दे'की? जिस्केकी त पक्कै होइन। खैर जे दे'की हो, अघाउँजी दे'र गइ।

Thursday, February 14, 2013

भ्यालेन्टाइन्स डे…

1.
"अनी के भ्यालेन्टाइन्स डे को प्लान केसु?"
"प्लान? नो प्लान!" मैले खाटभरी असरल्ल छरिएका कागजपत्र, पुर्जी, बिल समेट्दै भने।
"उस उस! तपाईंको प्लान नहुने! लु पत्याएँ!" आस्माले पत्याइनन्।
"छैन के भन्ने?" मैले भने। मेरो ध्यान एउटा पुर्जीमा थियो।
"उस उस उस," आस्माले फेरी पत्याइनन्।
"हो भन्या, सत्ते," मैले उ तिर फर्केर किल्किले समाउँदै प्रमाण जुटाउन खोजे।
"उस, उस, उस,"
" प्लान , दरो प्लान छ। खुशी?," अल्ली कड्केर हेर्दै मैले भने।
"के प्लान , हामी पनि सुनम ," लेग्रो तानेर सोध्छे आस्मा।
"डेटिङ जाने प्लान नि एउटी च्वाँकसँग," मैले आँखा सन्काउदै भने।
"उस उस उस"
"छैन भन्दा नि तिम्रो उस उस.... भन्दा नि उस उस? अरु केही भन्न आउँदैन?" चर्किएँ। उस्को सेतो अनुहार पहिला कालो भयो अनी निलो भयो। आस्मा  उठेर हिँडीन। मैले वास्ता गरिन।  
एकछिन पछी आस्मा चिया लिएर भित्र पसी । यो उस्को पहिले देखीको बानी हो। मसँग रिसाइ भने उ चिया बनाउथी दुवैलाई। भन्थी - "रिसाएर केही हुँदैँन, यो गुलियो चिया खाएर दुवैको मनको तितोपन पखाल्नु पर्छ।" मेरो रिस चियाको प्रतेक चुस्कीसङै क्रमस धमिलिदै जान्थ्यो अनी मन मिठिदै। उस्को अनुहारमा पनि मिठास छाँउथ्यो, मिठ्ठो चिया जस्तै। हुन त म नै उस्तो हुँ। आमाले त उहिलेदेखी नै भन्नुहुन्थ्यो 'नाकका टुप्पामा छन तेरा रिस।' फेरी एकैछिनमा आस्मासँगको रिस आफुतिर सर्छ। आफु फोकटमा रिसाएकोमा आँफैसँग रिस उठ्छ अनी बिस्तारै सेलाउँदै जान्छ - आस्माको चिया जस्तै। उस्लाई फकाउन म प्राय पुराना कलेजका दिनहरु कोट्याउने गर्छु अनी आँफै पनि टोलाउन थाल्छु। उ ध्यानमग्न भएर सुनिराख्छे। छिट्टै फकिन्छे मेरी बुढी। लाग्छ उ स्वस्थानीको अगस्थ मुनी हो र म महादेव र सतीदेवीको प्रेमगाथा बाचन गर्दैछु स्कन्द कुमारजी भएर। उ नै मेरो पहिलो माया हो। पहिले माया हार्ने आँट कसको हुन्छ र! उ बेला आस्माको मामालाई नमस्कार ठोकियो, उसका साथीको ट्याम्फु भाँडा तिरियो। कलेजका बाटा फेरिए। दौंतरीका - 'क्या दोस्त! लड्की मिल गै, दोस्त भुल गै'- गुनासा खेपिए। अनेक तान बुनियो। म माया जित्ने दौडमा थिए, जिते। त्यो बेला ऐलेजस्तो फेसबुक, ट्वीटर, स्काइप केही थिएन। ऐले जस्तो इन्टर्नेटमा प्रेम कम, बिज्ञापन बढी देखिने ढर्‍रा फोटाहरु राखिन्नथे। फोटो राख्नै परे'नी पर्सको कुनोतिर राख्थे- मैले जस्तो! जे होस् गर्व लाग्छ-अरुका जस्तै मेरी बुढी आजसम्म रिसाएर माइत गएकी छैन। वास्तबमै उ पानी हो, मैले जस्तोसुकै आकार लिए पनि उ त्यतै प्रकार लिन सक्छे। हुन त उस्ले मुखै फोरेर त भनेकी थीइन तर आस्माका नजानिदा इसाराहरुले मलाई हौस्याएका थिए उबेला। सधैं 'केसब' भन्नेले एकदिन 'केसु' भनिन पहिलोपल्ट। उनले लजाएर स्विकारीन। म पास भएँ। त्यो दिन भ्यालेन्टाइन्स डे थियो।

Friday, February 8, 2013

इटहरी..

पूर्व गए झापा तिर
पक्षिम पुग्छ राजधानी
बिराटनगरलाई दक्षिण जानु
धरान धनकुटा उत्तर जानी
माया बोकी मुटुभरी
बिचमा सुन्दर  इटहरी ।। 

सानो नगर थियो हिजो
लम्कदै आज वरीपरी
मगर, क्षत्री,थारु, बाहुन 
भाषाशैली थरी थरी
माया बोकी मुटुभरी
बिचमा सुन्दर इटहरी ।।

सुरेश 'समान'