Sunday, April 26, 2015

भुकम्प-प्रुफ नेपाली


'म मरे पनि मेरो देश बाँची राखोस्...
हिमालका टाकुरामा, नेपालीका पाखुरामा
चन्द्र र सुर्य अंकित झण्डा फर्फर नाँचिरहोस् ....'

शिव शंकरको यो गीतमा बहेका शब्द-शब्दको अर्थ-अर्थ साचो रुपमा आज मेरो मनमस्तिकमा बारम्बार बल्झीरहेकोछ । झसङ्ग-झसङ्ग झस्किन्छु बेलाबेला । जिउभरी काँडा उम्रिन्छन् । 'कतै म भन्दा पहिला मेरो देश पो मर्ने भो कि?' मेरो अंतस्करणको भित्रभित्रै कताकता कुनामा यो प्रश्नको कोर्रा महसुस् हुन्छ । 

बैसाख १२, २०७२ शनिबारको बिहानीमा कालो अध्यारी छायो जब कालरुपी भुकम्पले देशमा रणताण्डव मच्चाइ दियो । भुकम्प गएको यतिका घडी बितीसक्दा पनि त्यस्को धक्काहरु बेलाबेला बल्झिदैछन् । 'अब के हुने हो', को डरले भित्रभित्रै कुँडिएकोछ लाखौं नेपाली मन । हामीबिच आएको भर्खरैको कलिलो नयाँ बर्षको न्वारन पनि राम्रोसँग हुन नपाउँदै आज हाम्रा प्रियजन अनी बर्सौँ पुराना, विश्वमा कहलिएका सांकृतिक धरोहरहरु माथि कात्रो ओढाउन वाध्य छौँ हामी । प्रक्रितीको यो धारिलो निर्मम प्रहारले सम्पूर्ण नेपाली मन भुत्ते, लल्याक्लुलुक बनाइदिएकोछ । यो कस्तो अनी के को सजाय प्रक्रितीले दिँदैछिन् त्यो उनी नै जानुन् अनी त्यस्को क्षतीको लेखाजोखा पनि उनैले गरुन् । बाँचेछौ भने हामीपनी हेरौँला!
म जस्तै लाखौँ नेपालीहरु जो बिदेशमा छौँ, हामी तर्थरिएकाछौँ । हामी जुन जग बसाउन बिदेसिएकाछौ त्यो जग चर्किएको, धसिएको महसुस् हुँदैछ । हाम्रो गुँड एकै झट्कामा तहसनहस भएको द्रिस्यहरु, खबरहरु हेर्दा-सुन्दा सारा शरीर चिसिएर आउँछ । हामी उडेर, उफ्रेर, दौडेर, पौडेर जसरी हुन्छ हामी आफन्त-परिवार, साथिभाइ माझ पुग्न चाहन्छौ । त्या हुन चाहन्छौ, देशलाई छुन चाहन्छौ । हामीले देश छोडे पनि हामीभित्र बसेको देशलाई कहिल्यै पनि छोड्न सक्दैनौ, कहिल्यै पनि । बिदेशमा देखेका भोगेका स-साना कुराहरुले पनि हामीलाई नेपालको याद दिलाउँछ । चिसो-चिसो घमाइलो दिनले हामीलाई दसैं-तिहारको झल्को दिलाउँछ । हामीले खाने म:म मा असनको गल्लीमा पाइने जस्तो स्वाद भरिएको हुँदैन जतिनै कोशीस गरेपनी । अनी हामी ति दिनका ति ठाउँका कुरामा भाभुक हुन्छौ । पाकेटमा पाइने पानीपुरीमा बानेस्वरको गल्लीको स्वाद, अँह! हरेक चिजमा हामी नेपालीपनको त्यो 'पनत्व' खोज्छौ ।

Friday, February 27, 2015

कथा: सर्वे भवन्तु सुखिनः


भाग १ - बसन्त: ‘सुटुक्क छुट्याएर राखेको अलिकती जेरी!’
'थाह छ आज मैले के बनाएँ ?... जेरी । तिमिलाई मनपर्छ भनेर अलिकती सुटुक्क छुट्याएर राखेकी छु । पहिलो पल्ट try गरेको बनाउन खै कस्तो भयो कुन्नी ! नेपालमा पाइने जस्तो perfect त भा छैन, बाङ्गोटिङ्गो भयो । तिमी चाख अनी भन है । मनपर्‍यो भने अझै बनाउनेछु । अँ साची, स्वारी पनि बनाउनु पर्ला है? के भन्छौ? हो, ल जेरी-स्वारी हाम्रो भोलीको ब्रेकफास्ट् । के भन्छौ ? बरु चिया चै तिमीले बनाउछौ कि ? अँsss... ल मलाई उता किचेनमा साथीहरुले बोलाए, म गएँ है... काममा होलाउ, मेसेज् पाए पछी कलब्याक् गर न है... ए अनी मैले जेरीको फोटो पठाएको थिएँ नि, पायौ? मिठो होला जस्तो देखिदैन त? के भन्छौ? anyways, ल राखेँ है, कल गर, बाइ!'

कामबाट निस्केर सम्झनाको भोइस् मेसेज् सुने । फोटो हेरेँ । जेरीको फोटो देखेर मुख रसायो । मेसेज् टाइप् गरेर पठाएँ - 'yum! ghar aaudai chu' / मलाई थाहा छ अब घर गएर मैले जेरी चाख्नु छ अनी उस्का अनेकन प्रश्नको उत्तर दिनु छ । पहिले त उस्ले यो जेरी बनाउने काइदाको बिचार कसरी दिमागमा आयो त्यो बताउनेछे । अनी त्यस्पछी मैले जेरी समिक्षक बन्नुपर्नेछ - 'के भन्छौ?', 'चिनी पुग्या छ?', 'अली बाक्लो त भएन?', 'तेल नि?', 'छी: नै त भा'छैन नि?', 'पाकेको छ नि है पाक्न त?', 'मिठो लागो?', 'अझ थप्छु है?' , 'के भन्छौ?' आदी इत्यादी । उस्को यो 'के भन्छौ?' भन्ने बानीले गर्दा म धेरै बोल्नु नपर्ने मान्छे पनि आजकल के भन्छु के । उस्को स्वरमा उम्रेका खुशीमय भावभङ्गीका उतारचडाव सुन्दा यस्तो लाग्छ कि उ एक ४-५ बर्षे केटाकेटी हो अनी उ मलाई आफ्नो नयाँ गूडिया देखाउन आतुर छे र तोते लयमा लाडिदै भन्दैछे - 'तिमीलाई मेलो गूदिया कत्तो लागो बतन्त? हामी भालाकुती खेलौँ ल बतन्त, तिमी ल म मात्ल ।' 

Monday, October 27, 2014

कथा: तिहारको धङ्धङी

तिहारको माहोल । गाउँघर तिर मादलमा खरी भरिदै होलान् या खैजडी बजाउँदै होलान्। 'नारायन, हरी हरी!'
दसैंतिहारका ति रङ्गिन क्षणहरु आज श्यामस्वेतमा सम्झदैँछु । द्रिस्यहरु झिरझिर गर्दै आए पनि मेरो मनको एन्टिना पुर्वतिरै सोझिएको छ । हिजो पकाएका सेलरोटी आज तातो कित्लीबाट बाफिदै निस्केको चियामा चोबेर खानजती मजा आँउछ मलाई ति दिनहरु सम्झिदा आज त्यस्तै रमाइलो लाग्दैछ । जिन्दगी आखिर बासी सेलरोटी नै त भो! उभ्रेको सेल।

के केटाकेटी, के तन्नेरी, केबुढाबुढी सबैजना बिहान नछिप्पिदै उठ्थे । कोही ढिकि कुट्न पुग्थे, कोही दैनिक उपक्रम बिसाएर चिया पसलमा गफिदै हुन्थे । हामी केटाकेटी फलामको बन्दुकमा रातो कागजको पत्तीवाला गोली भर्न ब्यस्त हुन्थ्यौँ । मलाई याद छ, बिम्लीका दाईले थुप्रै आलुबम, चक्लेट् बम,डबलबम, झिर्झिरे, फुल्झडी, चक्रबम, बिडीबम आदी आफ्नो पसलमा राखेका हुन्थे । एक्पल्ट म आँफै पनि जोगबनी पुगेको थिएँ । 'होमलाइट्' सलाई देखी दम दिने स्टोभ् सम्म उतै बाट आउँथ्यो । मेरो ध्याउन्न चै पटकामा हुन्थ्यो । कैलेकाहीँ बिम्लीको पसलमा जाँदा बिम्लीउस्का साथीहरु - चम्पा, इन्दु, मेनुका अनी राधिकेसँग एककुनामा बसेर सयपत्री, मख्मली अनी बत्तुका माला गाँस्दै हुन्थी । उस्को पसलमा गाँसेका माला पनि बेचिन्थ्यो । म पुग्नासाथ मलाई माला लगाउन खोज्थी । भन्थी -'ओइ गोकुले, यो माला कत्रो भएछ खै यता आ'त नापुँ।'
म आनाकानी गर्थेँ । अनी अरु केटीहरु मसिनो खित्का छाड्दै भन्थे - 'गोकुलेलाई त तेरो हातको धुपीको माला मात्र मनपर्छ होला । यो सयपत्री के लाउँथ्यो!'
'चुपलाग चेपारेहरु,' म झर्किन्थेँ। अब अहिले त ति सबै 'चेपारे' हरुले आ-आफ्नै छेपारेहरु भेटीसके । सबैको बिहे भइसक्यो। छुच्चीहरुले बोलाउँदा पनि बोलाएनन्।

Wednesday, August 20, 2014

अमेरिकामा क्रिकेट् प्रेम!


मोजा भित्र अनेकन कागज, टालाटुली, झुम्रो, पराल आदी ठुसेर बल बनाएर लुगा चुट्ने मुङ्रोले बल ठट्टाएको हिजो जस्तो लाग्छ । गोबिन्दे 'बल्लिङ्' गर्थियो म मुङ्ग्रो समातेर बस्थेँ । मेरो पछाडि हुन्थ्यो काठको फल्याक् । 'आउट् भइस् साले,' फल्याक् ढल्दा गोबिन्दे चिच्याउँथ्यो । बद्री, आनन्दे, कुबेर अनी बले वरिपरी घेरेर 'फिल्डिङ्' गर्थे । हाम्रो आफ्नै नियम थियो क्रिकेट्को । बल उडेर खोल्सीमा पस्यो भने 'आउट्'। जस्ले खोल्सिमा बल हान्छ, उसैले खोजेर ल्याउँछ । रुखमा अड्कियो भने 'आउट्'। म बल लिएर आउँथे बद्री मुङ्ग्रो । म र बद्री रिसायौँ भने खेल खत्तम । क्रिकेट्को नशा, नशानशामा दौडिन्थ्यो। धेरै खेलियो । धेरै हेरियो । बिस्तारै उमेर बढ्यो । ठुलो भैयो । अनी त्यस्पछी झन ठुलो भैयो । अनी त झनै ठुलो भैयो । क्रिकेट्बाट पर-पर हुँदैँ खेल ठप्पै भयो । गोबिन्दे अस्ट्रेलिया पुग्यो । कुबेर बेलायत । आनन्दे कता छ कता । म अमेरिका पढ्न हुँइकिएँ । तर आजकाल धेरै पछी फेरी क्रिकेट्को नशा म मा छिर्दैछ । धेरै पछी धेरै साथीभाइहरु सँग क्रिकेट्को मजा लिन पाएकोछु - मिनिसोट्टामा । यस्तो लाग्छ म फेरी पुरानो दिनमा फर्किएकोछु अनी गोबिन्दे बलिङ् गर्दैछ र भन्दैछ - 'आउट् भइस् साले ।'

 टिम 'तेज धार' vs. टिम 'ज्वालामुखी' बिचको खेल सुरु हुनु अघी (photo: Sajan Bajracharya)
अमेरिकाको मिनिसोट्टा राज्यमा बस्दै आएका नेपालीहरु माझ हिजोआजको चर्चाको बिषय बनेको छ, क्रिकेट् । मिनियापोलिस् शहर आसपास बस्ने नेपालीहरु प्रतेक शनिबार-आइतबार जम्मा भएर लग्भग दिनैभरी क्रिकेटमा ब्यस्त रहन्छन् । क्रिकेट खेल्ने मैदान नभएर के भो त? खाने मुखलाई जुङ्गाले छेक्दैन भनेजस्तै, अमेरिकाको प्यारो खेल सफ्ट्बल खेल्ने मैदानमा यहाँका नेपाली चौका-छक्का हान्न पछी हट्दैनन् । 'क्रिकेट् इन् मिनियापोलिस्' फेसबुक पेजबाट संयोजक सचिन पराजुलीले सुरु गरेका यो यात्रामा, आज स्थापनाको केवल छोटो ४ महिनामै करिब ८० जना सकृय सदस्य छन् ।

Saturday, May 31, 2014

चेरी फुल्दा परदेशमा..

मनको चरी मझेरिमा टुसुक्क आइ बस्दा
घाममा थोपा तरेरिला लुसुक्क आइ खस्दा
देशको याद आउँछ मलाई, मन भित्र देश बोल्छ -
फर्की रहनु पर्दैन कान्छा नतर्किदिए पुग्छ ।।

पल्लो घरको बार्दलिमा लुगा सुकाउन आउँदा
आँखा जुध्थे, मुस्कुराँउथे ओठ्ले गीत गाँउदा
आधा रातमा ब्युँझन्छु म उन्कै यादले छोप्छ
सम्झी रहनु पर्दैन डल्ले नबिर्सीदिए पुग्छ ।।

आमा-बा भेट्न गए सञ्चै छ रे, सुनाइदिनु
आँखा भरी आँसु पार्लान सम्झाइदिनु बुझाइदिनु
चेरी फुल्दा परदेशमा, यो मन आफ्नो गाँउ देख्छ
आफ्नो भन्नु पर्दैन मित्र अर्को नसम्झे पुग्छ ।।
सम्झी रहनु पर्दैन तिमीले नबिर्सीदिए पुग्छ ।।
- सुरेश 'समान'

Sunday, April 13, 2014

The राशीफल (२०७१ को )

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
मेष राशी हुनेहरुले यो ७१ सालमा आफ्नो केशको बिशेष ध्यान दिनुहोला। कुम्भ रासी हुनेले असार महिना तिर भुत्ल्याउने प्रबल सम्भावना छ। दुविधा बड्न सक्छ आइफोन कि स्याम्सङ्? जुन महङ्गो छ त्यही लिए सन्तुस्टी मिल्नेछ।  

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):     
वृष राशी हुनेहरुका लागि यो बर्ष चै डि.भी. पर्नसक्छ। सेकेण्ड लेटेर नआउन्जेल धेरै फुर्ती नदेखाउनुहोला। इन्टर्भ्यु दिन जाँदा दुई झोला सुन्तला, एक माना घिउ अनी एक झोला गुन्द्रुक नबिर्सी लानु बेस होला। विवाहको प्रस्ताव चारतिर बाट आउनेछन्। छ्क्क नपर्नु। एसएमएस पढ्नेबित्तिकै डिलिट गर्नुहोला यो बर्ष।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):
सुरुमा शत्रु बढ्नेछन्। पछी झनै बढ्नेछन। जीवनसाथीले मुद्दा हाल्नसक्छिन। त्यो भन्दा पहिल्यै सके बन्दै गर्नु, हैन भए फेसबुकको पासवर्ड चेन्ज गर्नु मनासीब होला। ऐना अगाडि उभिएर आफ्नै फोटो कती खिचेको? अली कम गर्नोस। मान्छेहरु वाक्क भै'सके। अनी रेस्टुराँमा घिच्न गा'की फोटा खिच्न गा? चन्द्रमा र सुर्यको प्रभावले अरुले जती जे सम्झाए पनि लास्टाँ आफुलाई लागेकै गर्नुहुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
कर्कट राशी हुनेहरुको यो बर्ष हुलासको कर्कट पाता जस्तै टलक्क टल्किने देखिन्छ। जोगिएर हिँड्नुभएन भने खिया लाग्न सक्छ। कपाल झर्ने समस्याले सताउन सक्छ। पिसेको अदुवा, मिचेको मेदीँ, घोलेको अण्डा आदीले यो बर्ष कपालको समस्या पार लाग्नेवाला छैन। फिनोलमा हार्पेक मिसाएर दिनको दुईपटक मजाले मट्टितेलले कपाल पखाले सदाको लागि टन्टै साफ हुने देखिन्छ।

Saturday, January 18, 2014

सुत्रकथा (हरु)

लात..
उस्ले सुलेखालाई जोडले लात हान्यो, पेटमा । सुलेखा हलुका चल्मलाइन्, पेट सुम्सुम्याइन् । चुप लागेर बसिन्, कसैलाई भनिनन् । तर फेरी यस्तो भयो भने उस्ले भन्नै पर्छ । त्यतिकैमा फेरी अर्को लात आयो पेटमा - अझ जोडले । 'ठुलो भएर यो फुट्बल खेलाडी हुनेछ,' सुलेखाले पुक्क उठेको पेट फेरी सुम्सुम्याउँदै अनी मुस्कुराउँदै श्रीमानलाई भनिन्।

केही त गर्नै पर्‍यो..
म बसेँ । बसेर जिन्दगीको लेखाजोखा गर्न थालेँ । खाली भित्ताहरुमा आँखाहरु टोलाउँदथे । 'हैन, केही त गर्नै पर्‍यो, यसरी झोले भएर कती बाँच्नु ?,' आँफैले आँफैलाई सम्झाउँदथे । अनी निस्चय गरेँ जिन्दगीमा 'केही' गर्ने । सारा शरीर हलुको भयो । करिब २५ मिनेट बसेँ होला म । त्यस्पछी ट्वाइलेट फ्लस गरेँ अनी निस्केँ ।

डलर...
'अनी कैले आउछस् यार नेपाल?'उताबाट मित्रले सोध्यो । 'देशको लागि नि केही गर्नु पर्‍यो नि । कती डलरमात्र छाप्छस् !' आजकाल म यस्तो 'कैले आउँछस्?' प्रश्नहरुको जवाफमा मुस्कुराइ मात्र दिन्छु । आज पनि फिस्स हाँसे । 'अनी तेरो केहुँदैछ सुना,' मैले सोधेँ ।
'के हुनु यार यस्तै छ,' उस्लेअली निरास हुँदै भन्यो । 'अघिल्लो बर्ष रिजेक्ट भयो, अब टुरिस्ट् भिसा एप्लाई गर्दैछु।' 

Wednesday, January 15, 2014

मनै त हो..

झरना, खोला, कन्दराको डोबहरु पछ्याउँछ यो
मनै हो कैले खुशी कैले चोट बल्झाउँछ यो
बाहिर बादल लाग्दा पनि भित्र शितल मनै हो
हँसाइदिन्छ, रुवाइदिन्छ के के मात्र गराउँछ यो ।।

एकछिन खाली बस्दैन यो बालख हो, नानी हो यो
मनै हो कैले ढुङ्गो, कैले तरल पानी हो यो
बैगुनीलाई गुनले मार्ने फराकिलो मनै हो
माया लाउँछ, मन पराउँछ- राजा हो यो रानी हो यो ।।

Tuesday, November 19, 2013

.... खुर्पाको बिँड (लघुकथा)


एकादेशमा एक देश थियो । त्यो देशका बासिन्दाहरुको मुल पेशा भनेकै दुध ब्यवसाय थियो । दुध त भन्नुहुन्छ कती हो कती ! केटाकेटीहरु छुर्पीको मट्याङ्ग्रा बनाएर ग्याटिसले भगेँरा, ढुकुर ताक्थे । त्यती धेरै दुध भएको देशमा एउटा 'दुध पोखरी' बनाउने दुध देशका सम्राठले घोषणा गर्छन् । ठुलो खाल्डो खनिन्छ । हरेक घरले एक मानो दुध दान गरेर खाल्डो भर्ने निर्णय हुन्छ । उचित साइत जुराएर रातभरी दुध भर्ने अनी बिहान 'दुध पोखरी' उध्घाटन गर्ने कार्यक्रम बन्छ । सो पोखरी उध्घाटनको लागि बिभिन्न देशका प्रतिनिधि, पर्यटक आदी भेला हुन थाल्छन् । अन्तराष्ट्रिय समुदाय - टिभी, रेडियो, पत्रपत्रीका - जम्मैका आँखा 'दुध देश' मा केन्द्रित हुन्छ । 
दुध देशको राजधानी 'चिल्लोचाप्लो' मा प्राय बस्नेहरु प्राय 'लठ्ठक', 'चुइँया', 'दोजिब्रे', 'स्वाँठ' आदी थर गरेका धेरै अघी देखी बस्दै आएका हुन् । दुध भर्ने दिनको एक दिन अघी एक हुनेखाने परिवारका 'लठ्ठक' दम्पती, हरी लठ्ठक र  बुढी लठ्ठकले सल्लाह गर्छन् - दुधको सट्टा पानी हालिदिने ! अरुले हालेको दुधमा त्यो जाबो एक मानो पानी त बिलाईहाल्छ नि !
उध्घाटनको बिहान सम्राठ पोखरी पुग्छन् । पोखरी आधा भरिएको हुन्छ, पानीले । मात्र पानीले । 
इतिश्री!
- सुरेश 'समान'

Saturday, October 26, 2013

बत्तीकिरो जीवन !

मैनबत्ती नाँच्द थियो
दिप ज्योति लहलह  
झोंका पवन चन्चलिए
दिपशिखा कठैबर !

भानु शिर टन्टलिए
भुरा खेल्थे दहदह
छिनमै बादल गड्गडाए
मौसमको के भर !

निमेश एक हेरीदिए
मनमुकुन्द महमह
योवन, यो मन धङ्धङ्याँउछ
बत्तीकिरो जीवन !

- सुरेश 'समान'

Wednesday, September 4, 2013

बा को छोरो म..

लैनु गाईको दुध, घिउ खा'को छोरो म
कैले काख, कैले काँध पा'को छोरो म…
आमा मेरा पोल खोल्थिन, लुक्न खोज्थेँ म
उल्टै आमा सम्झाइदिने बा को छोरो म
कैले काख, कैले काँध पा'को छोरो म ।।  

झोला बोकी स्कुल पढ्न गा'को छोरो म
सफा जुत्ता, टाइ, ड्रेस ला'को छोरो म
एक काँधमा हलो बोक्थे, मलाई किताब भारी
अर्को काँधमा मलाई बोक्ने बा को छोरो म
कैले काख, कैले काँध पा'को छोरो म ।।

Saturday, August 17, 2013

इनिस्पेक्टरनी !

आज: २०६६ पुस ७ - रातको करीब १०:३०
हिजो,
 'नाम?'
 -'लीलाकुमारी नगरकोटि'
'मृतकको नाम?'
 -'भुवनराज पुडासैनि'
' मृतकसँगको नाता?'
 -'लोग्ने'
'कसैमाथी संका?'
 -'छैन, म नै हुँ। सजाय भोग्न तयार छु इनिस्पेक्टरनी साहेब ।' उस्का आँखामा भिन्नै तेज थियो । निडर देखिन्थे ति। निस्फिक्री ! घमण्डले भरिएका ।

होमिसाइड्को केस पैलेपैले धेरै आए। कती केस सल्टिए। कती सल्टिदैथिए। कती केस बन्द पनि भए। बन्द भएका केसहरुमा प्राय हत्याराको बयान रोक्न आदेश मन्त्री, प्रधानमन्त्रीबाट आउने गर्छन्। दण्डहीनतालाई प्रसय दिने खेल माथिबाटै हुन्छ। लुटी ल्याउ, भुटी खाउको परम्परा चुलिएको अवस्था छ। बाबुराम, रामबाबु, दुस्टकमल, झले, झुसिले... जम्मै उही ड्याङका मुला हुन्। जुनै जोगी आए पनि कानै चिरेका।

यो अहिले आएको केसमा हत्याराको पहिचान भइसकेको थियो । हत्याकी अभियुक्त लीलाकुमारीले आफूले हत्या गरेको भनी साविति बयान दिईसकेकीछन् । अभियुक्ता स्वयंले फोन गरेर 'म बाट हत्या भएको छ, लिन आउनुहोस्,' भनेकीथी । म एक जना हवल्दारलाई लिएर घटनास्थल पुगेँ । घटनास्थल - एउटा ब्यबस्तित कोठा ! कोठामा भएका टेबल, कुर्सी, तन्ना, खाट, आल्ना, रेडियो आदी सबै ब्यबस्तित देखिन्थ्यो । सोफामा चकटी ओछ्याइएका थिए । भर्खरै कसैको हत्या भएको छ भनेर भन्नै नमिल्ने गरी अजिबले सजिएको थियो कोठा । भित्तामा काली माताको अजङ्गको फोटो टासिएको थियो । महादेव कालीको पैतालाले थिचिएका । कोठा जत्तिकै सजिएर बसेकीथी अभियुक्त लीला । लासलाई ओछ्यानमा सुताएर राखेकी रै'छ । टाउकोमा सिरानी अनी सिरक ओढेर मस्त सुतेजस्तो देखिन्थ्यो । नजिकै गएर हेरेँ । निश्वास, निर्जिब, निलो प्राणी !

Wednesday, June 12, 2013

'फेल' हुनुभो? ल बधाई छ!

'सुरेशले आलु खाए,' ज्योति माध्यमिक बिद्यालय, इटहरीमा कक्षा चारको रिजल्ट हेरेर आएको रात भान्सामा  दिदीले आमालाई सुनाइ। 'अनी मेरो चैँ नाम निस्कियो, सिर्जना निरौला- फेयर्ली पास।'  आफ्नो नाम भने उस्ले बडो गर्वसाथ लिइ। म घोसेमुन्टो लाएर चुपचाप चबाउँदैथिए। 'फेल' भएँको थिएँ।  आमाले लामो सास तान्नुभयो। साह्रै थाकेपछी निस्कने सास जस्तो सुनिन्थ्यो। मेरो अगाडिको थालमा भात थपिदिदैँ आँफैसँग कुरा गरे जसरी बिस्तारै भन्नुभयो - 'बुवा आएपछी कुरा नगरि भएन।' म झसङ्ग भएँ। भातमा ढुङ्गा टोके जस्तो! बुवाको चाँदे भेटिने भै'यो भनेर मेरो होस् उड्यो। भात निल्न सकिन। घाँटी कोक्यायो। उता मेरै छेउमा बसेर खाँदै गरेकी दिदी भने दङ्ग देखिन्थी। उस्को मसिनो खितीती म प्रस्ट सुन्न सक्थेँ। मेरो दिमाग तातियो। रिसले आगो भएँ। मेरो पालो, थाल उठाएर उ तिर हुर्याइदिएँ। 'ल हाँस अझै झुम्री,' भन्दै। आमाले एक्कैछिन अघी तरकारी थपी दिनुभा'थ्यो मेरो थालमा। त्यो अब दिदीको जिउभरी थियो। त्यो दिन तरकारीमा आलुदम थियो। 
त्यस्पछी मलाई कक्षा २ मा झारियो। दिदी ५ मा गइ म २ मा झरेँ। 'कतीमा पढ्छौ?' भनेर सोध्नेहरु देखी झनक्क रिस उठ्थ्यो। मलाई जिस्काउनैको लागि कोही त दिनदिनै सोध्थे, पछी बुझेँ। हुन पनी कक्षा २ मा पढ्ने केटाकेटी भन्दा  उमेरमा अनी उचाइमा ठुलै थिएँ। कतीपल्ट त म चिनेको मान्छे अनी छिमेकीको घर छल्दै दौडन्थेँ पनि! 'कतीमा पढ्छौ?' सोध्छन भन्ने डरले। भन्छन् - इख नभएको मान्छे र बिष नभएको सर्प काम लाग्दैन! त्यस्पछीका बर्षहरुमा दिदीले भनेजस्तो आलु कहिल्यै खानु परेन।
मेरो प्रसंगलाई यतै रोकेर फलामे ढोका मानिने, एसएलसीको कुरातिर एकैछिन यहाँहरुको ध्यान केन्द्रित गराउन चाहन्छु। गतबर्ष २०६९ को एसएलसी परिक्षाको नतिजा निस्केपछी पत्रपत्रिकामा आएका केही 'हेड्लाइन्' हरु यस्ता थिए - 'एसएलसीमा आधाभन्दा बढी फेल', 'एसएलसी परिणाम : दुई खर्ब लगानी, बालुवामा पानी', 'एसएलसीमा फेल भएपछि आत्महत्या', 'एसएलसी ओरालै ओरालो' ..

Thursday, May 30, 2013

साथी..

1.
बसन्त मलाई धेरै फोन गर्नु परेकोमा रिसले मुर्मुरिएको थियो। म बसन्तले धेरै फोन गरेकोले झोँकमा थिएँ। काठमाडौंको ब्यस्तता, भिँड, जाम आदीलाई चिर्दै म धुलिखेल पुग्दा साँझले बिदा मागीसकेको थियो।
बसन्त मेरो मिल्ने साथी, लङ्गौटिया। उ बालख देखी नै पढाईमा तगडा। सरहरुको भाषामा भन्नुपर्दा 'दिमाग भा'को' छात्र थियो। तर त्यो बेला उस्को घरको आर्थिक स्तिथी अली कम्जोर थियो। मेरो ठ्याक्कै उल्टो, पढाईमा लद्दु। फेरी पनि सरहरुकै भाषामा भन्नुपर्दा 'दिमागमा गोबर भा'को' छात्र थिएँ। मेरो घरमा आएर मलाई पढाउने, मेरो होम्वर्क आदी उसैले गरिदिन्थ्यो। ड्याड-ममीले बसन्त र म मा कुनै फरक देख्नुभएन। एकदिन बसन्तको बाबालाई मेरो ड्याडीले घरमा बोलाएर भन्नुभयो - 'आजबाट यो बसन्तेलाई पढाउने जिम्मा मैले लिएँ।' त्यस्पछी त मेरो सत्र पल्टियो। म भिडियो गेम, फोन, च्याट मा ब्यस्त। बसन्ते होमवर्कमा। बसन्तेको सँगतले म मा पनि पढ्ने बानी बस्छ भनेर होला सायद ड्याडले बसन्तेको जिम्मा लिनु भा'को तर त्यसो भएन। मेरो र बसन्तेको रिजल्ट जस्ताको त्यस्तै नै रह्यो। म जहिल्यै जस्ट पास। उ जहिल्यै स्कुल टपर।  
'घिउ जस्तो कमलो छ बसन्ते,' एकदिन मेरी ममीले उस्को कपाल सुम्सुम्याउँदै भन्नुभा'थ्यो। अनी म चैँ दाउरा जस्तो अररो छु रे। त्यो दिन देखी बसन्तेले मेरो नयाँ नामको न्वारान गर्‍यो - दाउरे। मैले पनि उस्लाई 'डाल्डा' भनेर बोलाउन थालेँ। 'ओ डाल्डा घिउ,' म छिन्छीन्मा जिस्क्याइदिन्थेँ। अनी उ उम्लिन्थ्यो र भन्थ्यो 'दाउरे'। घरमा मेरो भन्दा बढी विश्वाश उसैको गर्थे। 'उ बसन्तेलाई हेर......' उदाहरण उस्कै दिन्थे। उही काम बसन्तेले गर्‍यो भने ठीक, मैले गरेँ भने बेठिक। उस्लाई केटीहरुले फोन गरे भने हिसाब सिक्न गरेका। मलाई गरे भने छिल्लिन गरेका हुन्थ्यो। हुन पनि बसन्ते मोरो हिसाब नै सिकाउँथ्यो फोनमा। 'बाउको उमेर मानौँ x अनी छोराको उमेर मानौँ y छ....,' भन्दै फोनबाटै बाउछोराको उमेर पत्ता लाईदिन्थ्यो बसन्ते। पछीपछी त मैले नि फोन गर्दा हिसाब कापी पल्टाउँदै कुरो गर्न सिकेँ। म चै छोरीको उमेर पत्ता लाउने दाउमा हुन्थेँ।  

Monday, May 13, 2013

किनार..

नयाँ सपना,परिवर्तन रोकी बोलाउँदैछ किनारले
खियाउँदैछु उत्तर-उत्तर, धकेल्दैछ बहावले
आँधीहुरी बनी आउँछ प्राचिन वायु पुर्वको
कुन्ठ्याउँछ, खुम्च्याउँछ-गर्नु गर्छ दवाबले ..

द्रब्य जोड्ने भब्य होड्मा लगाउँदैछ किनारले
चिहाउँदैछु देशभित्र, खाडी ठेल्छ अभावले
आँसु देख्छु, आस देख्छु, ढक्क फुलेका सास देख्छु
कैले उँभो, कैले उँधो-गर्नु गर्छ लगावले ..
- सुरेश 'समान'

Saturday, March 9, 2013

राजीखुसी


"एउटामात्र चक्र रे'छ तपाईंको," पसुपती जाने बाटोमा 'यहाँ हात हेरिन्छ' बाबाले मेरो हात हेर्दै भनेका थिए। "की राजा हुन्छन, कि जोगी हुन्छन एक चक्रेहरु।"  
मेरी त्यो बेलाकी गर्लफ्रेण्ड पनि सँगै थिइन्। उनीले मलाई बोलाउने नामको न्वरान गरिन 'राजा'। म दङ्ग परेँ। मैले पनि छिल्लिदै 'म तिम्रो राजा, तिमी मेरी रानी,' भने। उ बेस्मारी मस्केकी थिइ। अनी हामी दुवै हातमा हात राखेर 'राजाको रानी से प्यार हो गया....,' गाउँदै पसुपती दर्शन गर्न ओरालो झर्यौँ। राजारानी मिलेर रोमान्टिक शहर पोखरा पनि पुगेकाथियौँ एकफेर। फेवाताल, बिन्दबासिनी, बेगनास ताल, शान्ति स्तुपा, सराङकोट, लभ्ली डाँडा, पावर हाउस, फेवा पार्कलगायतका ठाउँहरुमा बेपर्वाह बत्तासिएका थियौँ। गर्लफ्रेण्डको नाम? त्यो चै नभनु होला है, माइन्ड नगर्नोस। त्यो बेला पो उ मेरी 'रानी' थिइन्। ऐले त उ अर्कै कि महारानी छिन। मैले सुनेको त दुईटा घोर्ले युवराजहरुको सवारी पनि भइसक्यो रे! पोखराबाट फर्केको करिब दुई महिनापछी उनको बिहे भयो। हाम्रो चितवन जाने प्लान चौपट! सारै चित्त दुख्यो।

हामी झगडा गरेर अथवा पारीवारले छुट्याएर अलग भा थिएनौ। दुवैको राजीखुसी नै थियो। एकदिन मैले उस्लाई चितवन जाने प्रस्ताव सुनाउँदा उस्ले 'लेट्स सि,' भनेकीथीइन्। भोलीपल्ट आएर आफ्नो बिहे हुन लागेको कुरो बताइन एउटा हार्डवेर पसलेसँग। मैले 'किन?' भनेर सोधेँ। मलाई अझै याद छ उस्ले भनेका कुरा। उस्ले भनेकी थि - "वेल मिस्टर दिलिप, तिमी राम्रो छौ, डन्ट गेट मि रङ, तर तिमी 'नट ए हज्बेन्ड मटेरियल'। यु आर ओन्ली ब्वाइफ्रेन्ड मटेरियल। तिमी 'स्टेबल' छैनौ। तिमीसँग मैले धेरै रमाइला टाएमहरु बिताएँ एन्ड आइ थ्यान्क्यु फर द्-याट बट जिन्दगी बिताउने तिमीसँग? आइ डन्ट थिंक सो! सरी।" यती भनेर उ फुइफुइ गर्दै फनक्क फर्केर गएकीथी। म त ट्वाँ परे! पुरै प्रतिकृयासुन्य भएँ। मैले बुझिन कि भर्खरै के भयो। एकछिन आफुलाई निहाँले मनमनै। परिवेसलाई समेट्ने कोशीस गरेँ। उस्ले भनेका कुराहरुको पोस्ट्मार्टम गरेँ। 'हज्बेन्ड मटेरियल' हैन रे 'ब्वाइफ्रेन्ड म्टेरियल' रे! 'स्टेबल' छैन रे! म घोरीन थालेँ। के उस्ले मलाई धम्की दे'की हो? कि उपदेश दे'की हो? कि गाली दे'की? जिस्केकी त पक्कै होइन। खैर जे दे'की हो, अघाउँजी दे'र गइ।